लुम्बिनीमा नयाँ अनुहार रोजाई



भैरहवा– लुम्बिनी प्रदेश अन्तर्गत रुपन्देही–४(१) बाट लोकतान्त्रिक समाजबादी पार्टी (लोसपा)का ३३ वर्षीय कन्हैयाकुमार बानियाँ प्रदेशसभा सदस्यमा निर्वाचित भएका छन् । उनले जनमत पार्टीका जितेन्द्रनाथ शुक्ल र नेपाली काँग्रेसका नेता तथा पूर्व प्रदेशसभा सदस्य अष्टभुजा पाठकलाई पराजित गरेका हुन् । बिगत पाँच वर्षमा स्थानीय क्षेत्रमा जनताका दुःखसुखसित घुलमिल भएर सघाउँदैं आएका बानियाँलाई जिल्लाको सिमावर्ती क्षेत्रका बासिन्दाले पत्याएका हुन् ।
‘मैले पाँच वर्ष जनताको सेवामा बिताएको हुँ,’ बानियाँले भने, ‘जनताले पनि पुरस्कार दिए ।’ बानियाँ मात्र होइन्, यसपटक प्रदेशका प्रतिनिधि र प्रदेशसभामा नयाँ अनुहार मतदाताको रोजाईमा देखिएका छन् । यसपटकको निर्वाचनमा पुराना राजनीतिक दलहरूलाई चुनौती दिँदै नयाँ पार्टी र स्वतन्त्र उम्मेदवार अग्रपंक्तिमा देखिन थालेका छन् । नयाँ पार्टीहरुले समानुपातिक मत पनि राम्रो ल्याइरहेका छन् । यसले मतदाताको रोजाइमा नयाँ उम्मेदवार र पार्टी परेको देखिन्छ ।
प्रदेशका १२ जिल्लाका बर्दियादेखि पश्चिम नवलपरासीसम्म नयाँ उम्मेदवारले अग्रता हासिल गरिरहेका छन् । नवलपरासी पश्चिम–१, मा कांग्रेसका बिनोद चौधरी अगाडि छन् । उक्त क्षेत्रमा परम्परादेखि जीत हासिल गर्दै आएका हृदयेश त्रिपाठी अहिले तेस्रो स्थानमा छन् । पश्चिम नवलपरासी–२ मा राप्रपाका धुव्रबहादुर प्रधानले अग्रता हासिल गरिरहेका छन् । उनले कांग्रेसका देवेन्द्रराज कँडेललाई पछाडि पारिरहेका छन् ।
रुपन्देही–५, मा एमालेबाट उम्मेदवार बनेका बासुदेव घिमिरेले अग्रता लिइरहेका छन् । यसअघि तिलोत्तमा नगरपालिका प्रमुख रहेका घिमिरे पहिलोपटक संसदीय निर्वाचनमा होमिएका हुन् । पाल्पा–१ र २ मा नयाँ अनुहारले अग्रता हासिल गरिरहेका छन् । पाल्पा–१ मा एमालेका नारायण आचार्यले अग्रता हासिल गरिरहेका छन् । उनी यसअघि प्रदेशसभा सदस्य थिए । पहिलोपटक प्रतिनिधिसभा सदस्य उम्मेदवार बनेका एमालेका ठाकुर गैरेले पाल्पा–२ मा अग्रता बढाए छन् । पाल्पा–२ मा एकीकृत सामाजबादीका सोमप्रसाद पाण्डे पछाडि परेका छन् ।
प्युठानमा एमालेका सूर्य थापाले अग्रता लिएका छन् । थापाले गठबन्धनकी उम्मेदवार राष्ट्रिय जनमोर्चाकी दुर्गा पौडेललाई पछाडि छाडेका छन् । दाङका तीन क्षेत्रमा तीन दलको अग्रता छ । दाङ–१, मा एकीकृत समाजबादीका मेटमणि चौधरीले अग्रता कायम राखेका छन् । दाङ–२ मा माओवादीकी रेखा शर्मा एमाले महासचिव शंकर पोखरेलभन्दा अगाडि छन् । दाङ–३ मा कांग्रेसका दीपक गीरी अगाडि छन् । उनले एमालेकी कोमल वलीलाई पछाडि पारेका हुन् ।
बाँके–२ मा राप्रपाका डा. धवलसमशेर राणा बिजयी भएका छन् । यसअघि नेपालगन्ज उपमहानगर प्रमुख रहेका राणा पहिलो पटकमै बिजयी भएका हुन् । बाँके–३ काँग्रेसका किशोरसिंह राठौरले अग्रता कायम गरेका छन् । बाँके–१ मा एमालेका सूर्य ढकालले अग्रता कायम राखेका छन् । बर्दिया–१, काँग्रेसका संजय गौतमले बुधबारबाट अग्रता हासिल गरेका छन् । मंगलबार रातिसम्म नागरिक उन्मुक्ती पार्टीका ठाकुरसिंह थारुले अग्रता कायम राखेका थिए ।
बर्दिया–१ मा स्वतन्त्र उम्मेदवार लालवीर चौधरीले अग्रता कायम राखेका छन् । उक्त क्षेत्रमा गठबन्धनका उम्मेदवार सुरेश पन्थ पछाडि छन् । यसले संघ र प्रदेशमा यसपटक अधिकांश नयाँ अनुहार बिजयी हुने आँकलन गर्न सकिन्छ । विभिन्न जिल्लाको मतपरिणाम हेर्दा राष्ट्रिय स्वतन्त्र पार्टीले अनपेक्षित मत ल्याएको छ । युवा उम्मेदवाहरू चुनावी मैदानमा आउनु र पुराना पार्टीप्रतिको वितृष्णा बढ्दै जानु नै नयाँ पार्टीको उदयको कारण भएको नागरिक समाज दाङका संयोजक एवं राजनीतिक विश्लेषक केवी मसालले बताए ।
‘जनतामा धेरै नै निराशा र वितृष्णा छ । नेताहरुले केही गर्न सकेनन् भन्ने गुनासो छ,’ उनले भने, ‘यही आक्रोश मतमा व्यक्त भएको छ । सुशासन र विकासका लागि देखिनलायक कामहरु नहुनु नै पुराना दलका लागि मुख्य चुनौती बनेको छ ।’ राजनीतिक दलहरूबीच गठबन्धन भएर आफ्नो पार्टीको उम्मेदवार नहुनु पनि नयाँ पार्टीको उदयको कारण भएको मसालले बताए । ‘गठबन्धनका कारण आफ्नो पार्टीको उम्मेदवार हुन छाडे । अर्को पार्टीको चुनाव चिन्हमा भोट हाल्न मन नलाग्नेहरुले नयाँ पार्टी रोजेका छन्,’ उनले भने, ‘लामो समय आफ्नो उम्मेदवार नभएपछि र प्रतिस्पर्धी दललाई मत दिन मन नलागेपछि नयाँ पार्टी छनोटमा परेको देखिन्छ ।’ यसले पुराना दलहरुलाई सुध्रन ठूलो सन्देश दिएको उनले बताए ।
अहिले मात्रै होइन, विगतका निर्वाचनहरुमा पनि मतदाताले परिवर्तन खोजको देखिन्छ । २०४६ सालको राजनीतिक परिवर्तनपछि भएका हरेक निर्वाचनमा जनताले दल र नेताहरु फेर्दै रोज्दै गरेका छन् । दाङमा सांसदमा कांग्रेसका खुमबहादुर खड्काबाहेक जिल्लामा एक नेताले बढीमा एकपटक मात्र दोहोरिएर जित्ने अवसर पाएका छन् । खड्काले भने लगातार तीनपटक जितेका छन् । उही नेता पटकपटक उम्मेदवार भए पनि जनताले निरन्तर मत दिन सकेका छैनन् । यसकारण यहाँ कुनै पनि पार्टी या नेताले यो हाम्रो पकड क्षेत्र, यी मेरा मतदाता भनेर ढुक्क हुने अवस्था देखिंदैन ।
भोट हालेर जिताएको पार्टी र नेताले जनताको अपेक्षाअनुसार काम नगरेपछि राम्रो काम हुने आशामा अर्को पार्टी र नेता रोज्ने गरिएको राजनीतिक विश्लेषक तथा लेखक सुशील गौतमले बताए । ‘अब त अर्कोले केही गर्ला कि भन्यो, फेरि उस्तै हन्छ । फेरि अर्को पार्टी छान्यो, फेरि उस्तै,’ उनले भने, ‘जनताले विकास र परिवर्तन खोजेका छन् । त्यसका लागि नेता र पार्टी पनि फेरिफेरी रोजिरहेका छन् तर भनेजस्तो अझै पाएका छैनन् ।’








प्रतिकृया दिनुहोस्