रुपन्देही ५ : निरन्तर जितको खोजिमा शाह, संसद यात्रा तय गर्ने दाउमा घिमिरे



भैरहवा– भारतको सीमादेखि चुरेसम्म जोडिएको क्षेत्र हो रुपन्देही ५ । यही क्षेत्रबाट २०५६, २०७० र २०७४ मा गरी तीन पटक निर्वाचन जितेका काँग्रेसका भरतकुमार शाह आगामी मंसिर ४ को निर्वाचनमा पनि पाँच दलीय गठबन्धनबाट उम्मेदवार बनेका छन् । उनलाई तिलोत्तमा नगरपालिकाका पूर्वमेयर समेत रहेका एमाले नेता बासुदेव घिमिरेले टक्कर दिँदैछन् ।
तिलोत्तमा नगरपालिकामा राम्रो काम गरेर राष्ट्रियरुपमै चर्चामा आएका घिमिरे संसदीय यात्रा तय गर्ने खोजिमा छन् । यसअघि प्रतिनिधिसभा उम्मेदवार बनेको अनुभव उनमा छैन । शाह संसदीय राजनीतिक खेलाडी हुन् । पटकपटक निर्वाचन जितेका शाह फेरि जित निकाल्ने दाउमा छन् । यस क्षेत्रमा राम्रो प्रभाव राख्ने शाह आफ्नो जित सहज हुने बताउँछन् ।
‘मैले २०७४ को निर्वाचनमा भन्दा अझ बढी मतान्तरले जित निकाल्छु’, उनले भने, ‘शिक्षा, स्वास्थ्य, पूर्वाधार लगायतका क्षेत्रमा धेरै काम गरेको छु, अब नयाँ योजना ल्याउन र क्षेत्रलाई विकसित गराउन पनि मतदाताले मलाई सहजै अनुमोदन गर्नुहुनेछ ।’ उनले आफूले विगतमा गरेका काम, भावी एजेण्डाका कारण पनि मतदाता उत्साहित रहेको दावी गरे ।
घिमिरेले भने यसअघि यहाँबाट जितेका प्रतिनिधिले राम्रो काम गर्न नसक्दा क्षेत्रको उल्लेख्य विकास हुन नसकेको जनाए । ‘यसअघिका जनप्रतिनिधिले राम्रो काम गरेको भए यहाँको अवस्था फेरिन्थ्यो होला’, उनले भने, ‘गरिबी, शिक्षा, स्वास्थ्य, पूर्वाधार लगायतका क्षेत्रमा धेरै समस्या रहेछन् । यी समस्या समाधान गर्दै मैले समृद्धि क्षेत्र बनाउने अठोटसाथ अघि बढेको छु ।’ उनले यहाँका मतदाताले नयाँ र काम गर्नसक्ने अनुहार खोजिरहेको जनाउँदै त्यो आफू भएको बताए । ‘मैले तिलोत्तमामा परिवर्तनको महसुस गराएको छु, अब क्षेत्र नम्बर पाँचलाई मुलुककै नमूना क्षेत्र बनाउने छु’, उनले भने, ‘यसका लागि यहाँका आम मतदाताले मलाई विजयी बनाउनुहुनेछ ।’
यस क्षेत्रमा लामो समय क्षेत्रमा प्रभाव जमाउँदै आएका शाहलाई घिमिरे चुनौति बन्ने देखिन्छ । शालीन स्वभावका शाह र यसअघि तिलोत्तमामा नमूना काम गरेर देखाएका घिमिरेको प्रतिस्पर्धा भने रोचक हुने देखिन्छ । शाहलाई सत्ता गठबन्धनको साथ छ भने घिमिरेलाई राप्रपा र जसपाको साथ छ । यहाँ यी दुईबीच नै मुख्य प्रतिस्पर्धा हुने अनुमान गरिएको छ । क्षेत्र नं. ५ मा काँग्रेसका शाहले २०७४ को निर्वाचनमा १३ हजार बढी मतले बाम गठबन्धनबाट उम्मेदवार बनेका माओवादी केन्द्रका नेता डिलाराम आचार्यलाई पराजित गरेका थिए । शाहले ३३ हजार ८८ मत पाउँदा आचार्यले २० हजार ४३८ मत ल्याएका थिए । क्षेत्रमा राम्रो पकड भएका शाहलाई पराजित गर्न घिमिरेलाई फलामका च्यूरा चपाए जस्तै भने पक्कै हुनेछ ।
२०७४ बाम गठबन्धन हुँदासमेत फराकिलो मतान्तरले जित निकालेका शाह पूर्वमन्त्री र संघीय संसदको सार्वजनिक लेखा समितिको सभापति भइसकेका नेता हुन् । अहिले यो क्षेत्र मुलुकभर चर्चामा छ । खासगरी उम्मेदवारी दिनेक्रममा नेकपा एमालेको असावधानीका कारण राष्ट्रियसभामा नेकपा एमालेका प्रमुख सचेतक खिमलाल भट्टराईले पद मात्रै गुमाएनन्, उम्मेदवार पनि बन्न पाएनन् । नेकपा एमालेले पालैपालो एउटै क्षेत्रबाट प्रतिनिधिसभामा दुईजनालाई टिकट दिएपछि राष्ट्रियसभामा प्रमुख सचेतक रहेका भट्टराईले उम्मेदवारी गुमाएका थिए ।
एमालेबाटै टिकट पाएका बासुदेव घिमिरेले भट्टराईले भन्दा करिव डेढ घण्टा अघि उम्मेदवारी मनोनयन गरेपछि निर्वाचन आयोगले पहिले उम्मेदवारी दिएका घिमिरेको उम्मेदवारी कायम गर्यो । पद र उम्मेदवारी खोसिएपछि यो क्षेत्रमा राम्रो प्रभाव भएका भट्टराईले घिमिरेलाई अन्तर्घात गर्छन् भन्ने चर्चा पनि छ । एमाले नेताहरु भने भट्टराईले घात नगर्ने दावी गर्छन् । अर्कातर्फ काँग्रेसमा पनि असन्तुष्टि छ । दुबैतिर असन्तुष्टि भएकाले शाह र घिमिरेलाई आफ्नैबाट अन्तर्घातको डर पनि छ ।
आफ्नो क्षेत्रमा विकासप्रेमी नेताको पहिचान बनाउँदै तीनपटक निर्वाचन जितेका कांग्रेसका शाहसँग प्रतिष्पर्धा गर्न एमालेका घिमिरेलाई चुनौति छ तर घिमिरे पनि विकासप्रेमी नेताको रुपमा चिनिने हुँदा यहाँ दुई उम्मेदवारबीचको प्रतिष्पर्धा रोचक बन्ने आँकलन गरिएको छ । उता कांग्रेसले भने एमाले उम्मेदवार घिमिरेलाई अर्कै निर्वाचन क्षेत्रबाट यहाँ आएकाले टुरिष्ट उम्मेदवारको आरोप लगाउँदै शाहको बिजय सुनिश्चित रहेको दावी गरेको छ । उता एउटै निर्वाचन क्षेत्रबाट तीनपटक एउटै व्यक्ति उम्मेदवार बनेको भन्दै कांग्रेस उम्मेदवार शाहप्रति असन्तुष्टी पनि बढेको छ ।
उता अहिले विपक्षी एमालेले कांग्रेसबाट एउटै व्यक्ति तीनपटक दोहोरिएको भन्दै शाहको विकल्पमा नयाँ अनुहार आउनु पर्छ भन्ने चुनावी एजेण्डा बनाउन थालेको छ भने कांग्रेसलाई घिमिरे टुरिष्ट उम्मेदवार भन्दै मतदातालाई प्रभावित गर्ने माध्यम बनेको छ । शाहकी पन्ती अनिता शाह काँग्रेस रुपन्देही उपसभापति हुन् । शाहको क्षेत्रमा अनिताको राम्रो प्रभाव छ । लामो समय विभिन्न संघसंस्थामा आबद्ध भएर काम गरेकाले अनिताको राम्रो प्रभाव भएको हो । कतिपयले पत्नीको राम्रो प्रभावका कारण पनि शाहले पटक–पटक निर्वाचन जित्दै आएको बताउँछन् ।
गैडहवा गाउँपालिका, कञ्चन गाउँपालिका, लुम्बिनी सांस्कृतिक नगरपालिकाका वडा नम्बर १ देखि ११ सम्म, सैनामैना नगरपालिकाका ५, ६, ७, ८, ९, १० र ११ नम्बर वडा तथा मायादेवी गाउँपालिकाका केही वडाहरु क्षेत्र नम्बर पाँचमा पर्छन् । यसअघि, २०५६ सालमा जित निकालेका शाहले २०६४ को पहिलो संविधानसभा निर्वाचनमा भने एमालेका स्वर्गीय नेता रामनाथ ढकालसँग पराजित भएका थिए । २०७० को निर्वाचनमा ढकाललाई शाहले झिनो मतले पराजित गरेका थिए । भर्खरै सम्पन्न स्थानीय तहको निर्वाचनमा यो क्षेत्रमा एमाले र कांग्रेसको मत बराबर जस्तै छ ।
बैशाखमा सम्पन्न स्थानीय निर्वाचनमा वडाध्यक्षले पाएको मतका आधारमा यो क्षेत्रमा एमालेको २७ हजार १४५, कांग्रेसको २६ हजार ८८८, जसपाको ९ हजार ३३७, जनमत पार्टीको ५ हजार ६५६, माओवादीको ४ हजार ६२५, लोसपाको ३ हजार ५५६, राप्रपाको २ हजार ८१३ र नेकपा एसको ११६ मत छ । दलगत रुपमा हेर्दा एमालेको झिनो मतले बढी देखिए पनि गठबन्धनको मत जोड्दा घिमिरे भन्दा शाह बलिया देखिन्छन् । यद्यपि यस क्षेत्रमा जनमत पार्टीको मतले पनि राम्रै प्रभाव पार्ने देखिन्छ ।








प्रतिकृया दिनुहोस्