November 26, 2026, Thursday
२०८३ मंसिर १० बिहीबार

राजनीतिक खेलाडी त्रिपाठीको अर्बपति चौधरीलाई चुनौति

भैरहवा– घर–घरमा पुग्छन् । स्थानीयका झुपडीमै खाना खान्छन् । क्षेत्र विकासका योजना मात्रै सुनाउँदैनन्, जनजीविका परिवर्तनमा आफूले खेल्ने भूमिका समेत बताउँछन् । स्थानीयका कुरा सुन्छन्, उनीहरुलाई आफूले राम्रो काम गर्ने भन्दै आश्वस्त पार्छन् । यो दैनिकी नेपालका अर्बपति विनोद चौधरीको हो । चौधरीको सामाजिक संजाल हेर्दा पनि उनले निर्वाचन जित्न निकै मिहिनत गरेको देखिन्छ । आफ्ना धेरैजसो गतिविधि चौधरीले फेसबुक लगायत सामाजिक संजालबाट सार्वजनिक गर्ने गरेका छन् ।

Advertisement

पश्चिम नवलपरासीको क्षेत्र नम्बर १ बाट पाँच दलीय सत्ता गठबन्धनबाट उम्मेदवार बनेका अर्बपति चौधरीको भीडन्त भने संसदीय राजनीतिमा पटकपटक सफलता प्राप्त गरेका ‘राजनीतिक खेलाडी’ हृदयेश त्रिपाठीसँग छ । यी दुईबीचको प्रतिस्पर्धाले यहाँको निर्वाचनलाई रोचक बनाएको छ । स्थानीय कसले जित हात पार्ला भन्दै लख काटिरहेका छन् । क्षेत्रमा राम्रोसँग भिजेका त्रिपाठीसँग नयाँ अनुहार चौधरीलाई प्रतिस्पर्धा गर्न निकै कठिन भने छ ।

Advertisement

अर्बपति व्यापारी भनेर चिनिएका कारण चौधरीलाई आफ्नो परिचय मतदाता समक्ष दिइरहनु त पर्दैन तर राजनीतिकरुपमा उनलाई मतदातासमक्ष घुलमिल गराउन भने त्रिपाठीलाई भन्दा केही कठिन देखिन्छ । चौधरी, यसअघि पहिलोपटक नेकपा एमाले र दोस्रोपटक नेपाली कांग्रेसबाट समानुपातिक सांसद बनेका थिए । काँग्रेस नेतासमेत रहेका चौधरी पहिलो चोटी प्रत्यक्ष चुनावी मैदानमा उत्रिएका छन् । उनको विपक्षमा रहेका त्रिपाठी २०४८ यता पटक–पटक चुनाव जित्दै आएका राजनीतिक खेलाडी हुन् । त्रिपाठीसँग सांसद र मन्त्री भएको लामो राजनीतिक अनुभव छ ।

जनता प्रगतिशील पार्टी (जप्रपा)का अध्यक्ष त्रिपाठी एमालेको समर्थनसहित चुनावी मैदानमा छन् । अघिल्लो चोटि सूर्य चिन्हबाटै विजयी बनेका त्रिपाठीसँग यसपालि फरक चिन्ह छन् । उनी कोदालो बोकेको किसान चुनाव चिन्हसहित मैदानमा छन् । यतिखेर दुवै उम्मेदवार गाउँ–गाउँमा मतदाताका मन जित्न घर–दैलो गरिरहेका छन् । दुवै जना विकास र समृद्धिका लागि निर्वाचनमा होमिएको भन्दै सर्वसाधारणको गुनासो सुन्ने र समाधान गर्ने आश्वासन दिइरहेका छन् ।

कहिले मधेशवादी दल त कहिले स्वतन्त्र समूह बनाएर राजनीतिक विरासत कायम राख्दै आएका त्रिपाठीलाई पनि अर्वपति चौधरीसँगको भिडन्त सजिलो भने पक्कै छैन । दल फेर्दै चुनाव लड्दा त्रिपाठीलाई समस्या छ भने कांग्रेसभित्रको आन्तरिक गुटगत विवाद कायम रहेकाले चौधरी पनि समस्यामा छन् । काँग्रेसभित्रको विवादलाई त्रिपाठीले आफ्नो फाइदामा बदल्ने प्रयासमा छन् । चौधरी पार्टीको आन्तरिक विवाद समाधान गरेर एमालेको मत आफ्नो पोल्टामा पार्ने प्रयास छन् । साथै उनले आफ्नो व्यवसायिक जीवनको परिचयलाई मतमा बदल्ने कोसिसमा समेत छन् ।

जनता प्रगतिशील पार्टीका अध्यक्ष त्रिपाठीका कारण जिल्ला सधै चर्चामा रहन्छ । यहाँबाट त्रिपाठीले ५ पटक निर्वाचन जितेर सांसद भइसकेका छन् । विगतदेखि वर्चस्व राख्दै आएका त्रिपाठीले यसपटक यसलाई जोगाई राख्लान् ? स्थानीयदेखि केन्द्रसम्म चर्चा सुरु भएको छ । त्रिपाठीले नेपाल सद्भावना पार्टीबाट २०४८, २०५१, २०५६, २०६४ मा निर्वाचन जितेका थिए । २०७४ मा नवलपरासी एकबाट उनले नेकपा एमालेको चुनाव चिन्ह सूर्य लिएर निर्वाचित भएका थिए । त्यतिबेला बामगठबन्धन भएकाले पनि उनलाई निर्वाचन जित्न निकै सहज भएको थियो । ५ पटक चुनाव जितेका उनी २०७० को दोस्रो संविधानसभा निर्वाचनमा भने काँग्रेस नेता देवकरणप्रसाद कलवारसँग पराजित भएका थिए ।

२०७४ सालमा एमालेसँग सहकार्य गरेर निर्वाचित त्रिपाठीले ३८ हजार ५९२ मत ल्याएका थिए । त्यतिबेला नेपाली काँग्रेसका देवकरणले ३३ हजार ५९१ मत पाएका थिए । गएको स्थानीय तहमा वडाध्यक्षहरुले पाएको मतको आधार मान्ने हो भने नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) १ मा काँग्रेसको मत ३० हजार ३४२ छ । यस्तै एमालेका वडाध्यक्षहरुले पाएको मत २६ हजार ७७९ छ भने राप्रपाको ६ हजार ६८७, माओवादीको ५ हजार ३४७, जसपाको ३ हजार ५५९, नेकपा एसको १ हजार १४१ मत छ ।

निर्वाचन जितेपछि सधैंजसो सत्तामा पुगेका त्रिपाठीले आफ्नो निर्वाचन क्षेत्रमा खासै काम नगरेको आरोप पनि छ । त्रिपाठीले अहिले पनि एमालेसँगै गठबन्धन गरेर गएका छन् भने कामका आधारमा निर्वाचन सहजै जित्ने जनता प्रगतिशील पार्टीका नवलपरासी संयोजक राधेरमण पाण्डेय बताउँछन् । यहाँबाट लुम्बिनी प्रदेशका उद्योग, बाािणज्य तथा आपूर्तिमन्त्री अजयबहादुर शाहीले पनि स्वतन्त्र उम्मेदवारी दिएका छन् । २०७४ मा प्रदेशमा स्वतन्त्र निर्वाचित उनले यसपटक आफूले प्रतिनिधिसभा निर्वाचन जित्ने दावी गरे ।

चौधरीले सर्वसाधारणसँगै देउसी–भैलो खेल्नेदेखि क्रिकेट खेल्ने, मतदाताको घरमा गएर खाना खाने र चुनावी प्रचार गर्ने गरिरहेका छन् । त्रिपाठी यस क्षेत्रका पुराना नेता भएको र पाँच पटकसम्म यही निर्वाचन क्षेत्रबाट चुनाव जितेकाले एकपटक पुनः जिताउन र अधुरा काम पूरा गर्ने वाचासहित घरदैलोमा पुगिरहेका छन् । त्रिपाठीले आफ्ना प्रतिस्पर्धी चौधरीलाई धनाढ्य र राजनीतिज्ञबीचको लडाइँ भएको भन्दै असन्तुष्ट कांग्रेसको मन जित्ने कोसिस गरेका छन् । उता चौधरीले कृषि तथा भौतिक पूर्वाधार र रोजगारीको मुख्य एजेन्डासहित गएका छन् ।

‘यो प्रतिस्पर्धा एक राजनीतिज्ञ र धनाढ्य उद्योगपतिबीचको प्रतिस्पर्धा हो । मैले यसरी लिएको छु । हामी राजनीति गर्नेलाई हार–जितको भन्दा पनि निष्ठा र राजनीतिक जीवनको एक अध्याय हो भन्ने लाग्छ’, त्रिपाठीले भने, ‘मलाई सँधैभरि यसै क्षेत्रका मतदाताले मलाई विश्वास गरेका छन् । यसपटक पनि मलाई विश्वास गर्छन् भन्ने आशा लिएको छु ।’

यहाँ यसअघि त्रिपाठीसँग पराजित कलवार प्रदेशसभामा चुनावी प्रतिस्पर्धामा छन् । त्रिपाठीका विश्वासपात्र लुम्बिनी प्रदेशका पूर्वमन्त्री अजय शाही र स्थानीय निर्वाचनमा जनता प्रगतिशील पार्टीका तर्फबाट प्रतापपुर गाउँपालिकाका प्रमुख पदका उम्मेदवार करम हुसेनले पार्टी परित्याग गरेका छन् । त्यसले त्रिपाठीलाई केही असहज हुने बताइन्छ ।

शाही चुनाव चिन्ह माछा लिएर प्रतिनिधि सभामै उम्मेदवार बनेका छन् । एमालेसँग तालमेलमा सूर्य चिन्हबाट उठ्न आग्रह गर्दा त्रिपाठीले मानेका थिएनन् । जसले एमालेजन र त्रिपाठीबीच केही खटपट नै देखिएको थियो । उम्मेदवारी दर्ताको दिन त्रिपाठीले आफ्नै दल जप्रपाको चुनाव चिन्ह ‘कोदाली बोकेको किसान’सहित उम्मेदवारी दर्ता गरेपछि एमालेले पनि आफ्नो उम्मेदवार उठायो । तर केन्द्रीय नेतासँग वार्तापछि एमालेले उम्मेदवारी फिर्ता लिएर त्रिपाठीलाई सघाउने निर्णय गरे पनि त्यतिबेला फाटेको सम्बन्ध अझै सुमधुर भएको छैन ।

यता चौधरीलाई गठबन्धनका साझा उम्मेदवार र उद्योगीको रुपमा सफल नेतृत्व गरेकाले जनताले केही आशा गरे पनि पार्टीभित्रको आन्तरिक किचलो र २०४८ सालदेखि कांग्रेसले एकपटक मात्र चुनाव जितेको क्षेत्र भएकाले चुनौति देखिन्छ । ‘म काम गरेर देखाउने र आफूले दिएका आश्वासन पूरा गर्ने मानिस हुँ । म यस क्षेत्रका जनताको समस्या र यो क्षेत्रको विकासको सम्भावनाबारे अध्ययन गरिरहेको छु’, उम्मेदवार चौधरीले भने, ‘म पहिलोपटक प्रत्यक्ष चुनाव लडेको भए पनि जनताले मबाट उद्योग क्षेत्रको जस्तै विकास र सुशासनको भएको हेर्न चाहेको मैले महसूस गरेको छ । आशा छ मलाई यस क्षेत्रका जनताले अनुमोदन गर्नेछन् ।’

नवलपरासी जिल्लाको अन्य क्षेत्रको चुनावी अंक गणितबारे अनेकन आँकलन र टिप्पणी भइरहे पनि चौधरी र त्रिपाठीको निर्वाचन क्षेत्रको चुनावी अंक गणित आँकलन गर्न कठिन छ । कांग्रेसका उम्मेदवार चौधरीलाई कांग्रेसभित्रकै असन्तुष्ट नेता मनाउन कठिन देखिएको छ भने त्रिपाठीलाई समर्थक एमालेका नेता कार्यकर्तालाई मनाउन हम्मे–हम्मे छ । त्यसो त, चौधरीले जिल्लाका नेतालाई बाइपास गर्दै पार्टी सभापति एंव प्रधानमन्त्री शेरबहादुर देउवाको बलमा टिकट ल्याएको आरोपसँगै कांग्रेसभित्र पनि असन्तुष्टि छ ।

गएको स्थानीय तह निर्वाचनको मत परिणामअनुसार त्रिपाठीको दलको उपस्थिति न्यून छ । तर एमालेसँगको तालमेलले त्रिपाठीले सत्ता गठबन्धनसँग कडा प्रतिस्पर्धा गर्नेछन् । पहिलो पटक प्रत्यक्षतर्फको चुनावी अनुभव बटुल्दै मैदानमा उत्रिएका चौधरीलाई सदावहार जित हासिल गरेका त्रिपाठी ठूलो चुनौती हुन् । यहाँ अहिलेसम्म ‘न्युटल’ मतदाताले भने अझै खुलेर कसैको समर्थन गरेका छैनन् । मतदानको दिनसम्म कसले त्यस्ता मतदातालाई प्रभावित पार्छन् र चुनावी परिणाम आफ्नो पोल्टामा पार्छन् भन्नेबारे अहिल्यै भन्न सकिने अवस्था भने छैन ।