November 26, 2026, Thursday
२०८३ मंसिर १० बिहीबार

घरदैलो सुरु भएपछि चुनावी रौनक

भैरहवा– लुम्बिनी प्रदेशमा सबैभन्दा धेरै निर्वाचन क्षेत्र रहेको रुपन्देहीमा दलले मतदाता फकाउन घरदैलो सुरु गरेका छन् । निर्वाचन मिति नजिकिएपछि उनीहरु दिनरात नभनी मतदाता समक्ष आफ्ना कुरा सुनाउन र दुखेसो सुन्न कस्सिएका छन् । यसले लामो समय मौन रहेको चुनावी माहोल तात्न थालेको छ ।

Advertisement

रुपन्देहीमा पाँच निर्वाचन क्षेत्र रहेका छन् । यहाँका सवैं क्षेत्रमा राष्ट्रिय राजनीतिमा स्थापित व्यक्तित्व उम्मेदवार बनेका छन् । जसले गर्दा जिल्ला मुलुकमै चुनावी केन्द्र बनेको छ । रुपन्देही–१, मा एमाले छाडेर स्वतन्त्र उम्मेदवार बनेका घनश्याम भुसाल र एमाले नेता छबिलाल बिश्वकर्माबीच टक्कर छ । दुबै नेताले घरदैलो र कोणसभालाई तिव्रता दिएका छन् । भुसाल पहिलोपटक उक्त क्षेत्रबाट उम्मेदवार बनेका हुन् ।

Advertisement

एमालेको जिल्ला नेतृत्वमा रहेका बेला आफैले संगठन निर्माण गरेको र आफ्नो गृह क्षेत्र भएकाले उनी हौंसिएका छन् । उनलाई सत्ता गठबन्धनले समर्थन गरेको छ । उनी दक्षिण रोहिणी गाउँपालिकादेखि उत्तरमा देवदह नगरपालिका केन्द्रित भएर घरदैलो, भेटघाट र कोणसभालाई निरन्तरता दिइरहेका छन् ।

उक्त क्षेत्रबाट यसअघि निर्वाचित हुँदै आएका विश्वकर्माले आफ्नो प्रचार अभियानलाई दिनरात नभनी निरन्तरता दिइरहेका छन् । उक्त क्षेत्रको जनप्रतिनिधि भएकाले पक्षमा माहोल बनाउन निर्वाचन क्षेत्रमा बजार र ग्रामीण क्षेत्रमा उनी केन्द्रित छन् ।

रुपन्देही–२, यसअघि निर्वाचनको मुख्य केन्द्र बन्दैं आएको थियो । एमाले उपाध्यक्ष विष्णु पौडेलको निर्वाचन क्षेत्र भएकाले धेरैले चासो दिने गरेका थिए । यसपटक उक्त क्षेत्र फरक कारणले चर्चामा रह्यो । गठबन्धनका प्रतिनिधिसभा सदस्यका उम्मेदवार एकीकृत समाजबादीका राजु गुरुङको उम्मेदवारी निर्वाचन आयोगले खारेज गरिदियो । त्यसअघि गुरुङ पौडेलका लागि चुनौंती बन्ने धेरैले बताउाने गरेका थिए । रुपन्देही–२, मा गुरुङको उम्मेदवारी खारेज भएपछि एमाले कार्यकर्ताले पौडेललाई ‘बिजयी’ सामाजिक सञ्जालमा लेखे ।

अहिले उक्त क्षेत्रमा सत्ता गठबन्धनले राष्ट्रिय जनमुक्ति पार्टीका उम्मेदवार केशवबहादुर थापालाई समर्थन गरेको छ । गठबन्धन रुपन्देही–२, मा माहोल फर्काउन क्रियाशील छ । पूर्व अर्थमन्त्री पौडेल आइतबार सुक्खानगरस्थित पार्टी कार्यालयमा आफ्नो प्रतिवद्धता पत्र सार्वजनिक गर्दैछन् । उक्त क्षेत्रमा प्रतिनिधिभन्दा प्रदेशसभा निर्वाचन रोचक बनेको छ ।

रुपन्देही–३, मा नेपाली कांग्रेस नेता तथा गृहमन्त्री बालकृष्ण खाँण र राप्रपा नेता तथा पूर्वमन्त्री दीपक बोहोरबीच प्रतिनिधिसभा सदस्यकालागि हुने प्रतिष्पर्धालाई धेरैले चासो दिएका छन् । दुबै पुराना र राजनीतिमा खारिएका नेता भएकाले रुपन्देही–३, ले धेरैको ध्यानाकर्षण गरेको छ । जिल्लाबाट लामो समयदेखि प्रतिनिधित्व गर्दै आएका खाँणका लागि भैरहवा क्षेत्र नयाँ हो । त्यसैले उनी लामो समयदेखि यस क्षेत्रमा आफ्नो जनमत बढाउन क्रियाशील छन् । पछिल्लो एक वर्षयता अधिकांश समय उनी जिल्लामै केन्द्रित भइरहेका छन् ।

मनोनयन दर्तापछि गृहमन्त्री खाँणले अधिकांश समय मतदातासित बिताइरहेका छन् । दिनरात नभनी मतदाताका सुखदुख सुनिरहेका छन् । आफ्नो क्षेत्रका मतदाताका गुनासा, दुखेसा, समस्या सुन्ने र तिनको समाधानका लागि लागि परेका छन् । तीन यता घरदैलो र कोणसभामा व्यस्त छन् । बिहानैदेखि राति अबेरसम्म विभिन्न क्ष्ँेत्रका मतदातासित अन्तक्र्रियामा बिताइरहेका छन् । त्यसक्रममा जिल्लामा अहिले देखिएका समस्या सुनिरहेका छन् । दक्षिण रुपन्देहीको बेलहियादेखि उत्तर सैनामैनासम्म उनको व्यस्तता बढेको छ ।

जिल्लामा राजनीतिका पुराना खेलाडी बोहोराले प्रचार अभियानलाई तिव्रता दिएका छन् । ‘पोष्ट कोभिड’ समस्याले उनको घाँटीमा असर देखिएको छ । जसले गर्दा उनी ‘भ्वाइस रेष्ट’मा छन् । अहिले उनको भावना प्रतिनिधित्व गर्दै राप्रपा नेता तथा पूर्व गृहराज्यमन्त्री निरन्जन थापा र राप्रपा नेता श्वाती थापाले बिगतमा सम्पन्न गरेका बिकास योजना र आगामी कार्यक्रमबारे बताइरहेका छन् । साथै राप्रपा गठबन्धनमा रहेका एमाले र जसपाका नेताले आफ्नो कार्यक्रम र योजना सुनाउने गरेका छन् । आफ्नो प्रतिवद्धतापत्र सार्वजनिक गरेका प्रचारमा केन्द्रित छन् ।

सिमावर्ती पालिका रहेको रुपन्देही–४, मा अहिले चुनावी रौनक बढेको छ । त्यहाँ सत्ता गठबन्धनमा आवद्ध रहेको लोसपा नेता सर्बेन्द्रनाथ शुक्ला र कांग्रेस नेता प्रमोदकुमार यादवबीच टक्कर छ । उनीहरुलाई जनमत पार्टीका भूपेन्द्र यादव र जसपाका ओमप्रकाश यादव ‘गुल्जारी’ले चुनौंती दिइरहेका छन् । उक्त क्षेत्रमा मनोनयन दर्ताकै दिन सबै उम्मेदवारले शक्ति प्रदर्शन गरेका थिए ।

जिल्लाका अरु क्षेत्रमा शान्त पूर्वक प्रचारप्रसारका कार्यक्रम अगाडि बढेपछि रुपन्देही–४, को माहोल फरक हुने गरेको छ । यहाँ बिहानैदेखि दलहरुले ब्याण्डबाजा, माइक, र्याली र सभा मार्फत मतदाता पक्षमा पार्ने कोशिस गर्छन् । मतदान मिति नजिकएकाले अहिले सबै उम्मेदवार घरदैलोमा व्यस्त छन् । त्यसक्रममा आयोजित कोणसभामा आफ्नो बिचार राख्ने गरेका छन् ।

रुपन्देही–५ मा सत्ता गठबन्धनबाट भरत शाह र एमालेबाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार बासुदेव घिमिरेबीच मुख्य प्रतिष्पर्धा देखिन्छ । उक्त क्षेत्रबाट शाहले लामो समयदेखि चुनाव जित्दैं आएका छन् । तिलोत्तमा नगरपालिकाका पूर्व प्रमुख घिमिरेलाई एमालेले पहिलोपटक संघीय संसदको उम्मेदवार बनाएको हो । शाह उक्त क्षेत्रको भुगोल मतदातासित परिचित हुन् । घिमिरेका लागि नयाँ क्षेत्र हो । शाह बिगतमा गरेका काम र नयाँ योजना सुनाइरहेका छन् । घिमिरे आफ्नो काम गर्ने उर्जाबारे बताउँदै अवसर दिन अनुरोध गरिहेका छन् ।