November 26, 2026, Thursday
२०८३ मंसिर १० बिहीबार

पाल्पा–१ मा नयाँ अनुहारबीच प्रतिष्पर्धा

पाल्पा– पाल्पाका दूबै क्षेत्रमा अहिले वामपन्थी विरासत कायम राख्ने होड छ । लामो समयदेखि एमालेले जीत हासिल गर्दै आएको पाल्पा–१, मा कांग्रेसका ज्ञानबहादुर गाहा यसपटक गठबन्धनको सहयोगबाट बिजयी हुने दाबी गर्छन् । उनको प्रतिष्पर्धा यसअघि प्रदेश सांसद रहेका एमालेका नारायण आचार्यसित छ ।

Advertisement

पाल्पा क्षेत्र १ मा प्रतिनिधिसभाका लागि गठबन्धन र एमालेबाट दुबै नयाँ प्रतिष्पर्धी हुन् । यस क्षेत्रमा २०५१ पछिका सबै निर्वाचनमा एमालेले विजयी हासिल गरेको छ । एमालेबाट लुम्बिनी प्रदेशसभाका पूर्व सदस्य आचार्य र गठबन्धनकातर्फबाट कांग्रेसका जिल्ला उपसभापति गाहा उम्मेदवार छन् ।

Advertisement

आचार्य एमालेको संगठन बलियो भएको र जनतासामु सधै सम्पर्कमा रहेकाले जितको दाबी गर्छन् । विगतमा एमालेले जिते पनि शिक्षा, स्वास्थ्य, विद्युत् लगायत विकास निर्माणका काम गर्न नसकेकाले यसपटक जनताले मत दिने गाहा बताउँछन् ।

‘जनताको चाहनालाई पूरा गर्ने गरी योजना बनाएको छु,’ एमालेका उम्मेदवार आचार्यले भने, ‘जनताको समृद्ध नेपाल र सुखी नेपालीको आकांक्षा पूरा गर्ने गरी निरन्तर मतदातासमक्ष पुगेको छु ।’

कालीगण्डकी करिडोरलाई समयमा सम्पन्न गर्ने, कालीगण्डकी नदीमा जलयात्राको प्रारम्भ गर्ने, रामपुरदेखि रोल्पा एक्सप्रेस हाइवे, रामपुर–मित्याल–माथागढी–झुम्सासम्म सडक बनाउने कामलाई योजनाको रुपमा अघि बढाउने उनले बताए । कालीगण्डकी जलयात्राका साथै वडातहसम्म जोड्ने सडकलाई पनि ध्यान दिएर काम अघि बढाउने उनले बताए ।

गठबन्धनकातर्फका उम्मेदवार कांग्रेसका गाहाले २०५१ सालदेखि कम्युनिष्टले चुनाव जिते पनि जनताको जीवनस्तर उठ्न नसकेको बताए । ‘पोल पुगेर बत्ती नबलेको, धारा लगेर पानी पिउन नपाएको, मोटरबाटो लगेको सवारी साधन चल्न नसकेको अवस्था रहेको छ,’ उनले भने, ‘यस्ता कामलाई पूरा गर्नेगरी योजना अघि बढाएर मतदातासमक्ष पुगेको छु ।’

क्षेत्र नं. १ अन्तर्गत रामपुर नगरपालिका, निस्दी, पूर्वखोला, रम्भा, माथागढी गाउँपालिका छन् । तानसेनको वडा ८, तिनाउको ५ पनि क्षेत्र १ मा पर्छ । यहाँका रामपुर नगरपालिकामा बाहेक सबैमा एमालेका अध्यक्ष र उपाध्यक्षले स्थानीय तहको निर्वाचनमा जितेका छन् । क्षेत्र १ मा ९६ हजार ३६ मतदाता छन् ।

प्रतिनिधिसभा क्षेत्र १ मा कांग्रेसका गाहा र एमालेका आचार्यबाहेक राष्ट्रिय प्रजातन्त्र पार्टीका ज्ञानबहादुर सिंजाली, राष्ट्रिय जनमुक्ति पार्टीका उजरसिं दर्लामी, जनता समाजवादीका मेहरमान राना र मंगोल नेशनल अर्गनाईजेशनका थम्मनबहादुर बुढा उम्मेदवार छन् । स्वतन्त्रबाट विपिन कंडेल, नारायण न्यौपाने, राजु सुनार र डोलराज तिमिल्सेना उम्मेदवार छन् ।

क्षेत्र नम्बर एकमा एमालेले पटक–पटक जित्दै आएको छ । अहिले पनि यहाँ जितिन्छ भन्ने आसमा एमाले ढुक्क छ । २०७४ मा ३२ हजार ५४९ मत ल्याएर एमालेका दलबहादुर राना विजयी भएका थिए । रानाका प्रतिद्वन्द्वी काँग्रेसका उम्मेदवार विजय घिमिरेले २३ हजार ९९३ मत पाएका थिए । हालै सम्पन्न स्थानीय निर्वाचनमा पाल्पा १ मा एमाले वडाध्यक्षहरुले पाएको मतलाई आधार मान्दा उसको ३४ हजार ७७१ मत छ । नेपाली काँग्रेसका वडाध्यक्षहरुले पाएको मत जोड्दा २७ हजार १५० हुन्छ भने माओवादीले १ हजार १६४ मत पाएको छ । यहाँ गठबन्धन हुँदा पनि एमाले बलियो देखिएको छ । यहाँ तीन पार्टीबाहेक अन्य पार्टीको प्रभाव निकै कम छ ।