उम्मेदवारलाई सामाजिक सञ्जालको भर



भैरहवा- एकसाता अघि रुपन्देहीको भैरहवामा आयोजित कार्यक्रममा प्रतिनिधिसभा सदस्यका एक उम्मेदवारले अहिलेको निर्वाचनको शैली परिवर्तन भएको बताए । छलफलका क्रममा उनले परम्परागत शैली फेरिएकाले मतदातासित आफ्ना कुरा राख्न भिन्न माध्याम अपनाउनु पर्नेमा जोड दिएका थिए ।
‘पहिले सभा, जुलुस् मार्फत कुरा राखिन्थ्यो,’ उनले भने, ‘अहिले त्यसरी राखेर अर्थ हुँदैन ।’ प्रत्येक मतदाताले उम्मेदवारबाट ‘रेस्पोन्स’ चाहिरहेको उनले बताए । निर्वाचनको फेरिएको शैलीका कारण अहिले राजनीतिमा नयाँ पुस्ताको प्रवेश भइरहेको उनले संकेत गरे । ‘परम्परागत राजनीतिमा परिवर्तन आउन लागेको छ,’ उनको भनाई थियो, ‘क्याडरबाट मास बेस पार्टीमा रुपान्तरण हुने बढेका छन् ।’
दल र नेताले आफ्ना कुरा प्रष्ट नराखे मतदाताले नपत्याउने उनको भनाई थियो । ‘अहिले आरोप–प्रत्यारोप र ढाँटछलले हुँदैन,’ उनले भने, ‘स्पष्ट कुरा बताउनु पर्छ ।’ उनले भने जस्तै गत स्थानीय निर्वाचनबाटै दलहरुको प्रचारशैलीमा परिवर्तन देखिएको छ ।
निर्वाचन आयोगले ठूला आमसभा, जुलुस र तडकभडकलाई निरुत्साहित गरेको छ । यस्तो प्रचारका लागि सिमित अवधि तोकिएको छ । त्यसभन्दा अगाडि आफ्ना चुनावी एजेण्डा प्रचारकालागि दलहरु सामाजिक सञ्जालमा निर्भर भएका छन् । साना–साना कार्यकर्ता भेटघाट राख्ने र धेरैभन्दा धेरै सामाजिक सञ्जालबाट प्रचार गर्ने नीति देखिन्छ ।
पछिल्लो समय स्वतन्त्र उम्मेदवार बनेका व्यक्तिले सामाजिक सञ्जाललाई प्रचार ‘टुल’कै रुपमा उपयोग गरेको देखिन्छ । लुम्बिनी प्रदेशका विभिन्न जिल्लामा उम्मेदवार निकट कार्यकर्ता र प्रचारकले फेसबुक, ट्वीटर, टिकटकजस्ता सञ्जाललाई बढी प्रयोग गरिरहेका छन् । उम्मेदवारका नाममा ‘फेसबुक पेज’ बनाएर प्रचार गर्ने र त्यसलाई बुस्ट गरिरहेका छन् ।
यसका लागि निजी सहयोगी वा कार्यालयमै कर्मचारी खटाइएको छ । रूपन्देही क्षेत्र नं. ३ सत्ता गठबन्धनका प्रचारप्रसार समिति संयोजक तथा काँग्रेस क्षेत्रीय सभापति सुशील गुरुङले सञ्चार क्षेत्रमा उम्मेदवारले गरेका काम र भावि योजनाबारे पत्रकारलाई जानकारी गराउने, फेसबुक पेज बुस्ट गरी प्रचार गरिरहेको उनले बताए ।
पहिलेका निर्वाचनमा गुणात्मक प्रचार शैली रहेको पाल्पाको त्रिभुवन बहुमुखी क्याम्पसका उपप्राध्यापक कृष्ण कार्र्कीले बताए । ‘जुन ढंगले प्रचारको शैली बदलियो, त्यो गुणात्मक होइन,’ उनले भने, ‘यसबाट केही कार्यकर्ता साथमा लहडमा हिंडेको देखिन्छ । तर, यसबाट फाइदा कमै हुने गर्छ ।’
बाँकेमा प्रचार शैली फेरिएको देखिएको छ । थोरै मात्रामा पोस्टर र पम्पलेट छापिएका छन् । माइकिङदेखि आमसभा पनि कम हुँदै गएका छन् । विगतका चुनावहरूमा बाँकेका गाउँबजारलगायत ग्रामीण भेगका सार्वजनिक स्थल, पार्टी, मन्दिर, पुल र सडकका भित्तामा उम्मेदवारका ब्यानर तथा होर्डिङ बोर्ड सजिएका हुन्थे । यसपटक भने निर्वाचन आयोगले लागू गरेको कठोर आचारसंहिताका कारण धार्मिकस्थलदेखि सार्वजनिक स्थलहरू कुरूप हुन नपाएको अधिकारकर्मी बसन्त गौतमले बताए ।
दाङमा पहिलेजस्तो जुलस, सभा, माइकिङ र पर्चा–पम्पलेट अहिले देखिंदैनन् । नेताहरू आधुनिक प्रविधि र घरदैलोमा पुगेर भेटघाटको माध्यमबाट प्रचारमा जुटेका छन् । धेरैजसो उम्मेदवारले सामाजिक सञ्जालको माध्यमबाट प्रचार गरिरहेका छन् । विभिन्न आकर्षक एजेण्डा र तस्बिरसहितका प्रचार समाग्री डिजाइन गरेर सामाजिक सञ्जालमा सेयर गर्ने चलन बढेको छ । दाङमा गीत, भिडियो, शुभकामना सन्देश, म्यासेज, जिंगलजस्ता सामग्रीबाट निर्वाचनको प्रचार बढी भइरहेको राजनीतिक विश्लेषक विकिरण गौतमले बताए ।








प्रतिकृया दिनुहोस्