November 26, 2026, Thursday
२०८३ मंसिर १० बिहीबार

तीन दशक सहकार्य गरेका भुसाल र विश्वकर्मा एकअर्काका प्रतिस्पर्धी

भैरहवा– एउटै पार्टीमा बसेर तीन दशक बढी सहकार्य गरेका नेता हुन्, घनश्याम भुसाल र छविलाल विश्वकर्मा । विद्यार्थीकालदेखि राजनीतिकमा होमिएका भुसाल एमालेको उपमहासचिवसम्म चुनिए । एमालेको पछिल्लो महाधिवेशनमा भुसाल उपाध्यक्षमा पराजित हुँदा विश्वकर्मा भने केन्द्रिय सचिवमा निर्वाचित भए ।

Advertisement

यी दुई नेताको सम्बन्ध सुमधुर छ । अहिलेसम्म एकअर्कालाई आक्षेपमा उत्रिएका छैनन् । विश्वकर्मा खेलाडी पृष्ठभूमिबाट राजनीतिमा आएका हुन् । उनी भविबलका पूर्व खेलाडी हुन् । तीक्ष्ण क्षमता भएका भुसाल बामपन्थी बैचारिक नेता मानिन्छन् । यसअघिको एमालेको महाधिवेशनले उनकै अगुवाईमा स्थापित नीति समेत पारित गरेको थियो । ‘दुर्भाग्य नीति एउटाको नेतृत्व अर्कैको हुँदा लामो इतिहास बोकेको राम्रो र बामपन्थी पार्टी नीति विनाको हुँदै गयो’, यही आइतबार रुपन्देहीको तिलोत्तमास्थित आफ्नै निवासमा संचारकर्मीहरुसँग कुराकानी गर्दै भुसालले भने ।

Advertisement

उनले झलनाथ खनाल पार्टी अध्यक्ष हुँदासम्म एमालेमा नीति र नेतृत्व ठीक भए पनि केपी ओली पार्टी अध्यक्ष भएपछि नीति भन्दा नेतृत्व हावी हुँदा एमाले सही ट्रयाकमा हिंड्न नसकेको सुनाए । गत शनिबार मात्रै पार्टी परित्याग गरेका एमाले स्थायी कमिटी सदस्यसमेत रहेका भुसालले रुपन्देही क्षेत्र नम्बर १ बाट प्रतिनिधि सभा सदस्यका लागि स्वतन्त्र उम्मेदवारी दिएका छन् । उनलाई सत्ताघटक दलहरुले समर्थन गरेका छन् ।

यही निर्वाचन क्षेत्रबाट उनै भुसालसँग एमालेमा रहँदा तीन दशक बढी सहकार्य गरेका एमाले सचिव विश्वकर्माले पनि उम्मेदवारी दिएका छन् । अब, तीनदशक लामो मित्रता उनीहरुबीच प्रतिस्पर्धीका रुपमा देखिएको छ । बैचारिक एवं माक्र्सवादका ब्याख्याता नेता भुसाल र दलित अगुवा नेता विश्वकर्मा आमनेसामने हुँदा कसले निर्वाचन जित्ला भन्ने विभिन्न अड्कलबाजी सुरु भएका छन् ।

भुसाल रुपन्देहीको तिलोत्तमा निवासी हुन् भने विश्वकर्मा बुटवल उपमहानगरपालिका निवासी हुन् । २०७४ को निर्वाचनमा भुसाल क्षेत्र नम्बर ३ बाट प्रत्यक्ष निर्वाचित हुँदा विश्वकर्मा क्षेत्र नम्बर एकबाट निर्वाचित भएका थिए । त्यतिबेला बाम गठबन्धन भएकाले उनीहरुले सहज जित निकालेका थिए । २०३८ सालमा कम्युनिष्ट पार्टीको सदस्यता लिएका भुसाल पूर्व कृषि मन्त्री हुन् । विश्वकर्मा खेलाडी जीवनबाट २०४६ पछि एमालेमा लागेका नेता हुन् । उनी पनि पूर्व कृषि मन्त्री भइसकेका छन् । विश्वकर्मा एमाले राजनीतिमा आएपछि भुसाल र उनको सम्बन्ध राम्रो छ ।

२०५३ मा एमालेका तत्कालीन सांसद धनपति उपाध्यायको निधन पछि भएको उपनिर्वाचनमा भुसाल भैरहवा क्षेत्रबाट निर्वाचित भएका थिए । भुसाल विश्वकर्मा भन्दा एक दशक पहिलाबाट नै राजनीतिमा सक्रिय रहँदै आएका नेता हुन् । भुसालले विभिन्न आन्दोलनमा हेमिँदै गर्दा पटक–पटक गरी दुई वर्ष ५ महिना कष्टकर जेल जीवन विताएका छन् । तर, विश्वकर्माले जेल जीवन भने विताउन परेको छैन ।

विश्वकर्मा २०७४ को निर्वाचनमा फराकिलो मतान्तरले रुपन्देही क्षेत्र नम्बर एकबाट विजयी भएका थिए । विश्वकर्माले ३४ हजार ७५२ मत ल्याएर विजयी हुँदा काँग्रेस केन्द्रिय सदस्य एवं पार्टीका रुपन्देहीका पूर्व सभापति समेत रहेका अब्दुल रज्जाक गद्दीले २६ हजार ८६५ मत पाएका थिए । ०६४ सालको पहिलो संविधानसभा निर्वाचनमा माओवादीले जितेको यो क्षेत्रमा ०७० मा विश्वकर्मालाई रज्जाकले हराएका थिए । बाम गठबन्धनबाट ०७४ मा सहज जित निकालेका विश्वकर्मालाई यसपटक भने भुसाल चुनौति बन्ने देखिन्छ ।

२०७४ मा राप्रपाका नेता दीपक बोहरा र तत्कालीन एमाले नेता भुसालबीच क्षेत्र नम्बर ३ मा प्रतिस्पर्धा भएको थियो । भुसाल बाम गठबन्धनका साझा उम्मेदवार थिए भने बोहरालाई काँग्रेसको समर्थन थियो । तर, भुसालले फराकिलो मतान्तरले बोहरालाई पराजित गरेका थिए । भुसालले ३२ हजार ८६६ मत ल्याउँदा बोहराले २७ हजार ४२२ मत पाएका थिए । २०७० मा भने खाँणले भुसाललाई ८६ मतले पराजित गरेका थिए । ०७४ को निर्वाचनमा नै क्षेत्र नम्बर १ बाट प्रतिस्पर्धा गर्न चाहेका भुसालले एमाले अध्यक्ष ओलीका कारण पाएनन् र ३ बाट उठे । अहिले पार्टी परित्याग गरेपछि १ बाट उम्मेदवार भएका छन् ।

गत बैशाखमा सम्पन्न स्थानीय तह निर्वाचनमा पार्टीगतरुपमा वडाध्यक्षहरुले पाएको मतलाई आधार मान्दा यो क्षेत्रमा काँग्रेस बलियो छ । तर अहिले सत्ता गठबन्धन र विपक्षी गठबन्धनबीच प्रतिस्पर्धा हुँदै छ । स्थानीय तह निर्वाचनमा वडाध्यक्षहरुले पाएको मतका आधारमा कांग्रेसको ३२ हजार ९९९, एमालेको ३० हजार ३९४, राप्रपाको १४ हजार ५५२, जसपाको ६ हजार ६९५, माओवादीको ४ हजार २०२, नेकपा एसको १ हजार २४३ र लोसपाको ३२५ मत छ । दुई गठबन्धनको मत छुट्टाछुट्टै मत जोड्दा क्षेत्रमा विश्वकर्मा बलिया देखिन्छन् ।

स्थानीय तहको मतका आधारमा विश्वकर्मा बलिया देखिए पनि भुसालले पार्टी परित्याग गरेका कारण मत अवश्य प्रभावित हुने देखिन्छ । लामो समय रुपन्देही र त्यसमा पनि क्षेत्र नम्बर १ लाई प्राथमिकता दिएर एमालेमा राजनीति गरेका भुसालले एमालेको मत अवश्य तान्ने अनुमान गर्न सकिन्छ । भुसालका यसअघि संसदीय सम्पर्क कार्यालयका प्रमुख रही काम गरेका उनका सहयोगी मनोजकुमार रिजालले एमालेको ८–१० हजार मत प्रभावित हुने बताउँछन् ।

‘घनश्याम भनेको राजनीतिक इमान, बामपन्थी नीति र एउटा ब्राण्ड नै हो’, रिजालले भने, ‘उहाँले एमाले छाड्दावित्तिकै धेरै मत प्रभावित हुने भएकाले सहजै जित निकाल्नुहुन्छ भन्ने हाम्रो विश्वास छ ।’ भुसाल उम्मेदवार भएपछि धेरै एमालेका जिल्लास्तर र स्थानीय स्तरका नेता–कार्यकर्ताले भित्रभित्रै स्वस्फूर्त रुपमा भुसालको प्रचारप्रसार सुरु गरिसकेका छन् । जसले गर्दा पनि भुसालको जितमा कुनै अप्ठ्यारो नहुने रिजालको तर्क छ । ‘राजनीतिक हाइट, लगाव, इमान्दारिता सबैमा उच्च तहमा उहाँ (भुसाल) हुनुहुन्छ’, रिजालले भने, ‘यसले पनि जितको बाटो सहज गराएको छ ।’ उनले भुसालको इमान्दारिताबारे कुरा गरिरहँदा विश्वकर्मा पनि राम्रो नेता भएको बताए ।

आइतबार उम्मेदवारी दर्तापछि संचारकर्मीहरुसँग कुराकानी गर्दै विश्वकर्माले आफूले क्षेत्रमा गरेको विकास, राजनीतिक इमान्दारिताका कारण यसपटक पनि निर्वाचित हुने विश्वास व्यक्त गरेका थिए । गठबन्धनको साथ, एमालेको मत र भुसालको राजीतिक छवि हेरेर पनि जित सहज हुने बताइरहँदा एमाले नेताहरु पनि सबै हिसावले विश्वकर्माको जित हुने बताउँछन् । देवदह नगरपालिका, तिलोत्तमा नगरपालिकाका वडा नम्बर ७, ८, ९, १०, ११, १२, १५, १६ र १७, ओमसतिया गाउँपालिकाका १, ३, ४, ५, ६ र रोहिणी गाउँपालिका क्षेत्र नम्बर १ मा पर्छ ।