दाङ–२ मा पोखरेललाई कति सहज ?



दाङ– एमाले महासचिव शंकर पोखरेल र नेकपा (माओवादी केन्द्र) का उपाध्यक्ष तथा पूर्वसभामुुख कृष्णबहादुर महराको क्षेत्र हो, दाङ–२ । आसन्न मंसिर ४ गते हुने प्रतिनिधिसभाका लागि यो क्षेत्रबाट पोखरेल र महराबीच कडा टक्कर हुने अनुमान थियो । दुबैजना हेबिवेट नेता भएकाले दुबैजना प्रतिस्पर्धामा उत्रिए रोचक प्रतिस्पर्धा हुने नै भयो ।
क्षेत्र चहार्दै आइरहेका नेता महरा भने एकाएक समानुपातिकमा बस्ने निर्णयमा पुगेका छन् । यसबाट पोखरेललाई कति सहज होला ? धेरैको अनुमान छ, पोखरेल अब सहजै जित निकाल्छन् । यो क्षेत्रमा एमालेबाट पोखरेल सर्वसम्मत सिफारिस भएका छन् । महरासहित रेखा शर्मा र निर्मल आचार्य माओवादीबाट उम्मेदवार सिफारिस भएका थिए ।
महरा समानुपातिकमा बसेपछि अब पोखरेलसँग माओवादीबाट को भिड्छ ? अथवा अन्य पार्टीको भागमा यो क्षेत्र पर्छ ? भन्ने अझै टुंगो लागेको छैन । किनभने अहिले पाँच दलीय गठबन्धन छ । गठबन्धनबाट जसले टिकट पाउँछ उही नेता नै पोखरेलसँग भिड्ने हुन् । २०७४ को निर्वाचनमा यहाँबाट महरा निर्वाचित भएका थिए । २०७४ को निर्वाचनमा यही निर्वाचन क्षेत्रको प्रदेशसभा (क) बाट निर्वाचित भई पोखरेलले लुम्बिनी प्रदेशको मुख्यमन्त्रीको जिम्मेवारी समालेका थिए ।
०७४ सालको निर्वाचनमा महरा र पोखरेलले एकले अर्कालाई सघाउँदै निर्वाचनमा होमिएका थिए । महरा प्रतिनिधिसभा र पोख्रेल प्रदेशसभामा भिडेका थिए । प्रतिनिधिसभामा महरासँग नेपाली काँग्रेसका नेता राजु खनाल भिडेका थिए । महराले ३९ हजार मत प्राप्त गरेका थिए भने नेता खनालले २६ हजार मत प्राप्त गरेका थिए । प्रदेशसभामा पोखरेलसँग कमलकिशोर घिमिरे चुनावी मैदानमा उत्रिएका थिए । पोेखरेलले १७ हजार मत प्राप्त गरी बिजयी भएका थिए भने घिमिरेले ८ हजार मत प्राप्त गरेका थिए । जसले महरालाई सभामुख र पोखरेललाई मुख्यमन्त्री समाल्ने अवसर दिएको थियो ।
त्यस्तै समानुुपातिकतर्फ नेपाली काँग्रेसले दाङ क्षेत्र नं. २ मा २२ हजार ९२, नेकपा एमालले २२ हजार ६९ र नेकपा माओवादी केन्द्रले १७ हजार मत प्राप्त गरेको थियो । ०७४ प्रत्यक्ष तथा समानुपातिकतर्फ सत्ता गठबन्धन दल नेपाली काँग्रेस र नेकपा माओवादीको मत परिणाम खस्केको थियो । तर यसपालीको निर्वाचनमा महरा प्रतिस्पर्धाम नआएपछि पोखरेललाई निकै सहज हुने भएको छ । चोकदेखि चिया पसलसम्म सकर्थकहरु जितका तर्क आ–आफ्नै तवर तरिकाले प्रस्तुुत गर्ने गर्दछन् । तर पोखरेल धेरै बलियो भएको दावी गरिन्छ ।
दाङ क्षेत्र नं. २ घोराही उपमहानरपालिका, बंगालचुुली गाउँपालिका र तुुलसीपुर उपहानगरपालिका पर्छ । स्थानीय तहको निर्वाचनमा बंगलाचुुली गाउँपालिका सत्ता गठबन्धनले पुरै सिट जितेको छ । अध्यक्ष नेकपा (माओवादी केन्द्र) र उपाध्यक्ष नेपाली काँग्रेसका ८ वटा वडामै सत्ता गठबन्धन जित हात पारेको छ । घोराही र तुुलसीपुर उपमहानगरपालिकामा नेकपा एमालेले जित हात पारेको छ । आफ्नो निर्वाचन क्षेत्रको स्थानीय तहको चुनावी परिणामका आधारमा माओवादी र एमाले एकअर्कालाई त्रसित पारेकै छ । तर यहाँ माओवादीले नै टिकट पाउने सम्भावना भएकाले भिडन्त पोखरेल र माओवादीसहितको गठबन्धनसँग हुने देखिन्छ ।
दाङ क्षेत्र नं. २ अन्तर्गत सबैभन्दा धेरै क्षेत्र र मतदाता भएको घोराही उपमहानगरपालिकामा पर्दछ । जसको स्थानीय तहको मत परिणाम नियाल्ने हो भने आगामी निर्वाचनमा कस्ले बाजी मार्ला भन्ने आकलन पनि गर्न सकिन्छ । सम्पन्न स्थानीय तहको निर्वाचनमा सत्ता गठबन्धन तर्फबाट मेयरमा नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य हेमराज शर्मा भिडेका थिए । उनले २६ हजार ३ सय ६८ मत प्राप्त गरेका थिए भने उनका प्रतिस्पधीर्का रुपमा नेकपा एमालेका दाङ इन्चार्ज नरुलाल चौधरीले ३१ हजार ७ सय २८ मत प्राप्त गरी बिजयी भएका थिए । गठबन्धन तर्फ मेयर पदमा मात्रै १० हजार ७७ मत बदर भएको थियो । त्यस्तै उपमेयर पदमा गठबन्धन तर्फका उम्मेद्वार नेपाली काँग्रेसका नेता भुपबहादुर डाँगीले ३० हजार ३ सय ५४ र नेकपा एमालेकी हुमा डिसीले ३० ४ सय ६ मत प्राप्त गरी बिजयी भएकी थिइन् ।
०७४ प्रतिनिधि र प्रदेशसभा निर्वाचन र सम्पन्न स्थानीय तहको निर्वाचनमा सत्ता गठबन्धनले प्राप्त गरेको मताङ्कलाई हेर्दा गठबन्धनको सहज देखिन्छ । तर गठबन्धनले स्थानीय तहको निर्वाचनमा पराजय व्यहोरेकाले पनि आरिन्छ की भन्ने शंका समर्थकहरुमा छ । तर यसपटक यहाँ हरेक दृष्टिकोणले पोखरेललाई निर्वाचन जित्न सहज भएको बताइन्छ । पोखरेल बलियो भएकै कारण महरा समानुपातिकतर्फ बसेका धेरै आँकलन छ ।








प्रतिकृया दिनुहोस्