November 26, 2026, Thursday
२०८३ मंसिर १० बिहीबार

चुनाव चर्चा: पाल्पामा गठबन्धनसँग चुनाव लड्न एमालेलाई कति सहज ?

पाल्पा– निर्वाचन मिति घोषणासँगै पाल्पामा पनि उम्मेदवारहरु को–को बन्छन् र कसले जित्ला भन्ने जोडघटाउ सुरु भएको छ । उहाँ दलहरुले उम्मेदवार सिफारिस गरिसकेका छन् । पाल्पामा दुईवटा निर्वाचन क्षेत्र छन् । २०७४ को निर्वाचनमा क्षेत्र नम्बर १ बाट एमालेका दलबहादुर राना र दुईबाट एमालेकै सोमप्रसाद पाण्डेय निर्वाचित भएका थिए । त्यसबेला बाम गठबन्धन भएकाले पनि राना र पाण्डेयलाई जित निकाल्न सहज भएको थियो ।

Advertisement

पाण्डेय अहिले एमाले विभाजनपछि बनेको नेकपा एकीकृत समाजवादीमा आबद्ध छन् । उनी समाजवादीको केन्द्रिय सदस्य तथा लुम्बिनी प्रदेश अध्यक्ष हुन् । राना एमालेमै छन् । दुवै संसादहरुले फेरि दोहोराएर चुनावी मैदानमा जाने तयारी गरिरहेका छन् । उनीहरु उम्मेदवार सिफारिस पनि भएका छन् ।

Advertisement

क्षेत्र नम्बर एकमा एमालेले पटक–पटक जित्दै आएको छ । अहिले पनि यहाँ जितिन्छ भन्ने आसमा एमाले ढुक्क छ । २०७४ मा ३२ हजार ५४९ मत ल्याएर एमाले दलबहादुर राना विजयी भएका थिए । रानाका प्रतिद्वन्द्वी काँग्रेसका उम्मेदवार विजय घिमिरेले २३ हजार ९९३ मत पाएका थिए । राना यहाँबाट फेरि दोहोरिने तयारीमा छन् । पूर्व भूमिसुधार मन्त्री समेत रहेका रानाको यहाँ व्यक्तिगत पकड पनि राम्रो भएको दावी गरिन्छ ।

उतिबेला रानासँग पराजित घिमिरे अहिले प्रतिस्पर्धामा जाने सम्भावना कम छ । उनी बिरामी छन् । नेपाली काँग्रेसले स्थानीय तहमा पाएको मत र गठबन्धनको आधारमा उम्मेदवारको खोजीको तयारी गरेको छ । हालै सम्पन्न स्थानीय निर्वाचनमा पाल्पा १ मा एमाले वडाध्यक्षहरुले पाएको मलाई आलाई आधार मान्दा उसको ३४ हजार ७७१ मत छ । नेपाली काँग्रेसका वडाध्यक्षहरुले पाएको मत जोड्दा २७ हजार १५० हुन्छ भने माओवादीले १ हजार १६४ मत पाएको छ ।

यहाँ गठबन्धनको हुँदा पनि एमाले बलियो देखिएको छ । यहाँ तीन पार्टीबाहेक अन्य पार्टीको प्रभाव निकै कम छ । एमालेमा राना स्वयं फेरि दोहोरिएर चुनावी मैदानमा जाने मनसायमा हुँदै गर्दा एमालेका नेताहरु राधाकृष्ण कँडेल, प्रदेश सभासदस्य नारायण आचार्यले पनि दावी गरिरहेको एमाले कार्याकर्ताहरु बताउँछन् । राधाकृष्ण यस अघि २०७० मा एमालेबाट यही क्षेत्रमा जितेका थिए । उनी अहिले एमालेको लुम्बिनी प्रदेश ईन्जार्च समेत छन् । आचार्य क्षेत्र नम्बर १ को प्रदेश (ख) बाट निर्वाचित प्रदेशसभा सदस्य हुन् । उनी एमालेले पूर्व जिल्ला अध्यक्ष पनि हुन् । त्यस कारणले एमालेमा यहाँ कसले टिकट पाउँछ भन्ने निकै रस्साकस्सी हुने देखिन्छ ।

काँग्रेसबाट गत निर्वाचनमा प्रतिस्पर्धा गरेका घिमिरे विरामी भएपछि अन्य नेताहरु ज्ञानबहादुर ग्राहा, देवराज ढकालको चर्चा चलिरहेको छ । ग्राहा काँग्रेस पाल्पाको पार्टी उपसभापति हुन् भने ढकाल पनि पार्टीको पूर्व जिल्ला उपसभापति हुन् । तर, कसले टिकट पाउँछ भन्नेमा कार्यकर्ता द्विविधामा छन् । यद्यपि ढकाल स्थानीय स्तरमा बढी घुलमिल भएको एक काँग्रेस कार्यकर्ताले दावी गरे । दुवै नेताहरुको केन्द्रमा पकड भएकाले कसले टिकट हत्याउँछन् भन्ने एकीन भने हुन सकेको छैन । यहाँ माओवादी निकै कमजोर भएकाले उसले दावी गरे पनि उम्मेदवार भने गठबन्धनले काँग्रेसलाई नै दिने बताइन्छ ।

नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालका सम्धीसमेत रहेका सोमप्रसाद पाण्डेयले क्षेत्र नम्बर दुईबाट २०७४ मा जित निकालेका थिए । पूर्वमन्त्री समेत रहेका पाण्डेयलाई यसपटक आफ्ना पूर्व सहकर्मी एवं एमालेका युवा नेता ठाकुर गैरेसँग भिड्न पर्ने सम्भावना बलियो छ ।

नेपालका सम्धी भएकै कारण गैरेले विगतमा यो क्षेत्रबाट टिकट पाउनै मुस्किल थियो । यसपटक भने एमालेले गैरेलाई टिकट दिने लगभल पक्कापक्की जस्तै छ । किनभने उनी जत्तिको केन्द्रिय नेता यो क्षेत्रमा भिड्न एमालेमा अन्य छैनन् । टिकट पाउने कन्फम जस्तै भएपछि गैरे अहिले निर्वाचन क्षेत्रमा सक्रिय छन् । उनी यहाँबाट सर्वसम्मत सिफारिस पनि भएका छन् । पहिलो पटक संसदीय निर्वाचन लड्ने तयरी गरेका गैरेलाई गठबन्धनबाट उम्मेदवार बन्ने निश्चित जस्तै भएका पाण्डेयले चुनौती भने पक्कै दिनेछन् ।

२०७४ मा प्रतिनिधिसभा क्षेत्र नम्बर २ बाट एमालेबाट उम्मेदवार बनेका पाण्डेयले ३४ हजार ८९९ मत ल्याएर विजयी हुँदा काँग्रेसका उम्मेदवार हरिप्रसाद नेपालले २४ हजार ५५४ मत प्राप्त गरेका थिए । पाल्पा २ मा गत स्थानीय तह निर्वाचनमा वडाध्यक्षहरुले पाएको मतका आधारमा एमाले अगाडि छ ।

एमालेले यहाँ ३० हजार ५३६ मत पाएको छ भने नेपाली काँग्रेसले २९ हजार ३९ मत पाएको छ । माओवादीले भने ४ हजार ३१३ र नेकपा एसले ४३३ मत मात्रै पाएको छ । स्थानीय तहमा कमजोर देखिएका पाण्डेलाई निर्वाचन जित्न काँग्रेस र माओवादीको भरोसा छ । यद्यपि पाण्डेले आफूले निर्वाचन जित्ने बताउँदै आएका छन् । कार्यकर्ता भेटघाटमा क्रममा पाल्पामा अघिल्लो हप्ता भएको कार्यक्रममा उनले आफूले सहजै जित निकाल्ने दावी गरेका थिए ।

पाण्डेय यहाँबाट पटक–पटक सांसद भएका छन् । उनी नै गठबन्धनका उम्मेदवार हुने बताइएको छ । एमालेबाट जिल्ला इन्चार्ज ठाकुर गैरेसँगै पुनर्निर्माण प्राधिकरणका पूर्र्व कार्यकायरी अधिकृत इन्जिनियर सुशील ज्ञवालीको नाम पनि चर्चामा छ । यो क्षेत्रमा एमाले भित्र ज्ञवाली र गैरेको आआफ्नो प्रभाव छ । तर, युवा नेता ठाकुरले मैदानमा जाने कार्यकर्ताहरुसँग आन्तरिक रुपमा बताउँदै गठबन्धनबाट जो आए पनि आफू भिड्ने तयारीमा रहेको बताएका छन् ।

टिकट पनि गैरेले नै पाउने सम्भावना भएको एमाले नेताहरुले बताएका छन् । गठबन्धन हुँदा पाण्डेयले टिकट पाउने दावी गरिरहँदा यता नेपाली काँग्रेसबाट वीरबहादुर राना, हरिप्रसाद नेपाल, नेपाल राष्ट्र बैंकका पूर्व गभर्नर डा.चिरन्जिवी नेपालको पनि नाम चर्चामा छ ।

राना पार्टी निवर्तमान जिल्ला सभापति तथा हाल लुम्बिनी प्रदेशको सिंचाई मन्त्री हुन् । उनी यस अघि यही क्षेत्रमा पाण्डेयसँग पराजित भएका थिए । काँग्रेस नेताहरुले दावी गरिरहे पनि अन्ततः यहाँ नेकपा एसका पाण्डेय र एमालेबाट अनेरास्वयुका पूर्व केन्द्रीय अध्यक्ष समेत रहेका गैरेबीच प्रतिस्पर्धा हुने सम्भावना बलियो छ । उनीहरुबीच कडा टक्कर हुने आँकलन गरिएको छ ।