November 26, 2026, Thursday
२०८३ मंसिर १० बिहीबार

स्वार्थका लागि दल बदल्ने होड

भैरहवा– स्थानीय तह निर्वाचनका बेला रुपन्देहीलगायत मुलुकभर नेताहरुमा दल बदल्नेको होड नै थियो । यसैगरी प्रतिनिधि र प्रदेश सभा निर्वाचनको मुखमा पनि दल अदलबदल गर्ने क्रम बढेको छ । स्वार्थका लागि नेताहरुले निर्वाचनका मुखमा दल बदल्ने गरिरहेका छन् । मतदाताले उनै नेताहरुलाई नै साथ दिँदा राजनीति संस्कार र उत्तरदायित्व हराउँदै गएको विश्लेषकहरु बताउँछन् ।

Advertisement

बुधबार मात्रै जनता समाजवादी पार्टी (जसपा) छाडेर गैडहवा गाउँपालिका अध्यक्ष बछु केवट (बच्चुलाल) नेकपा एमाले प्रवेश गरे । २०७४ मा तत्कालीन संघीय समाजवादी फोरमबाट निर्वाचित उनी पछिल्लो समय जसपामा थिए । जसपाबाट २०७९ को स्थानीय तह निर्वाचनमा गाउँपालिका अध्यक्ष उम्मेदवार बनेर पराजित भए । अहिले उनी एमाले प्रवेश गरेका छन् ।

Advertisement

नेताहरुमा पद र शक्तिका लागि पार्टी अदलबदल गर्ने परिपार्टीले राजनीतिक संस्कार सस्किएको छ नै, आमजनमानसमा नकारात्मक प्रभाव परिरहेको छ । पाल्पाको तानसेन नगरपालिकामा दुई कार्यकाल मेयर बनेका एमाले नेता अशोककुमार शाही केही दिनअघि मात्रै नेकपा एकीकृत समाजवादीमा प्रवेश गरेका छन् । एमालेबाट गत बैशाखमा सम्पन्न स्थानीय तहको निर्वाचनमा पुनः मेयर उम्मेदवार दाबी गरेका शाहीले टिकट नपाएपछि उनी उनले एमाले छाडेका हुन् ।

नेकपा एकीकृत समाजवादीको गुल्मी अध्यक्ष, प्रदेश इन्चार्ज लगायतका नेताहरुले पार्टी छाडेका छन् । उनीहरु पूर्व पार्टी नेकपा एमालेमा फर्किएका छन् । गुल्मी जिल्ला पार्टी कार्यालयमा आयोजित कार्यक्रममा एकीकृत समाजवादी गुल्मीका अध्यक्ष नरेश भण्डारी, जिल्ला इञ्चार्ज गणेश खनाल, लुम्बिनी प्रदेश कमिटी सदस्य हिमाल थापा, मुसिकोट नगर कमिटी अध्यक्ष मदन घिमिरेसहितका नेता कार्यकर्ता एमालेमा प्रवेश गरेका हुन् ।

एमाले विभाजन हुँदा उनीहरु एकीकृत समाजवादीतिर लागे । तर, संघ र प्रदेशको निर्वाचनको मुखमा व्यक्तिगत स्वार्थका लागि एमाले प्रवेश गरेको समाजवादी गुल्मीका नेता श्रीराम महतले बताए । ‘उहाँहरु व्यक्तिगत स्वार्थका लागि केही समय हाम्रो पार्टीमा रहनुभयो, अहिले एमालेसँग फाइदा लिन उता लाग्नुभयो’, उनले भने ।

भर्खरै सम्पन्न स्थानीय तहको चुनावमा नेकपा माओवादी प्रवेश गरेरे रुपन्देहीको सम्मरीमाई गाउँपालिकाको अध्यक्षका उम्मेदवार बनेका जितेन्द्रनाथ शुक्ल (बब्लु) भदौ ११ गते जनमत पार्टीमा प्रवेश गरे । उनी यसअघि २०७४ को निर्वाचनमा तत्कालीन तराई मधेश लोकतान्त्रिक पार्टीबाट गाउँपालिका अध्यक्ष निर्वाचित भएका थिए । उक्त पार्टी काँग्रेसमा समाहित भएपछि उनी नेकपा एमाले बनेका थिए । पार्टी फेदाृ फेर्दै अहिले उनी जनमत पार्टीमा पुगेका छन् । आउँदो मंसिर ४ को निर्वाचनमा उनी रुपन्देहीको क्षेत्र नम्बर ४ (क) बाट प्रदेश सभा सदस्यको उम्मेदवार बन्दैछन् ।

नेपाल सदभावना पार्टीमा रहँदा निकै प्रभावशाली मानिने कपिलवस्तुका नेता दानबहादुर चौधरी डेढ दशक अघि एमालेमा प्रवेश गरेर सांसद निर्वाचित भए । एमाले छाडेको डेढ दशकपछि उनी पुनः एमालेमै फर्किका छन् । मधेस आन्दोलनसँगै एमाले छाडेका उनी मधेसी जनअधिकार फोरममा प्रवेश गरे । त्यसपछि बाबुराम भट्टराईको नयाँ शक्ति हुँदै जनता समाजवादी पार्टीमा गएका उनी बाबुराम भट्टराईले गठन गरेको नेपाल समाजवादी पार्टीका उपाध्यक्ष थिए । त्यो पार्टीबाट उम्मेदवारी पाउने र चुनाव जित्ने सम्भावना नभएपछि उनले एमाले रोजेका हुन् । उनी कपिलवस्तु–१ बाट प्रतिनिधिसभाका लागि समानुपातिक उम्मेदवार प्रस्तावित भएका छन् ।

कपिलवस्तुका नेता वृजेशकुमार गुप्ता चुनावपिच्छे पार्टी फेर्ने गर्छन्् । २०५६ सालमा राप्रपाबाट प्रतिनिधिसभा सदस्य भएका उनी २०६४ सालमा तराई मधेस लोकतान्त्रिक पार्टीबाट चुनाव जिते । २०७४ सालमा हृदयेश त्रिपाठीसँग मिलेर (स्वतन्त्र राजनीतिक समूह) बनाएका उनी त्यही समूहबाट एमालेको सूर्य चिन्ह लिएर चुनाव जिते । अहिले घोषित रुपमै उनी एमालेमा प्रवेश गरेका छन् ।

यी केही उदाहरण हुन् । पछिल्लो समय चुनावको मुखमा विभिन्न राजनीतिक दलका नेता तथा कार्यकर्ताले पार्टी परिवर्तन गर्ने लहर नै चलेको छ । उम्मेदवार बन्ने आशा त कतै समानुपातिकबाट पदमा पुगिन्छ की भन्ने दाऊ नेताहरुमा देखिन्छ । आफू आबद्ध पार्टीले टिकट नदिएमा र निर्वाचन जित्ने अवस्था नरहेमा नेताहरुले दल बदल्ने बढी मात्रामा गरिरहेका छन् ।

राजीतिक विश्लेषक उमेशचन्द्र रिजाल नेताहरुमा जनताप्रति जवाफदेहिता र राजनीतिक संस्कार नहुँदा यस्तो हुनु स्वभाविक भएको ठान्छन् । ‘जनताले तपाईं किन दल बदलीरहनुहुन्छ भनेर कहिल्यै प्रश्न गर्दैनन्’, उनले भने, ‘एक त आफैमा स्वार्थी नेताहरु मतदाताले प्रश्न नगर्दा झनै जवाफदेहिताबाट टाढा छन् ।’ उनले यस्ता नेताहरुलाई आगामी निर्वाच्नमा मतदाताले दण्डित गर्नु पर्ने बताउँछन् । ‘अब पदका लागि नै यताउता गर्नेलाई मतदाताले ठेगान लगाउनुपर्छ’, उनले भने ।