चुनाव चर्चाः गुल्मीमा कसको पल्लाभारी ?



गुल्मी– एमाले, काँग्रेस र नेकपा एकीकृत समाजवादीका केन्द्रिय स्तरका नेताहरुबीच प्रतिस्पर्धा हुने भएपछि गुल्मीमा यसपटकको निर्वाचनलाई रोचक ढंगले हेरिएको छ । दुईवटा निर्वाचन क्षेत्र रहेको गुल्मीमा २०७४ को निर्वाचनमा एमालेले जित हासिल गरेको थियो । यसपटक भने एमालेलाई त्यति सहज छैन । पार्टी विभाजन र पाँच दलीय गठबन्धन एमालेका लागि चुनौति छ ।
अघिल्लो निर्वाचनमा बाम गठबन्धन भएको थियो । क्षेत्र नम्बर एकबाट एमाले उपमहासचिव प्रदीपकुमार ज्ञवाली र दुईबाट एमाले सचिव गोकर्णराज विष्ट निर्वाचित भएका थिए । अहिले अवस्था फेरिएको छ । एमाले एक्लिएको छ भने जिल्लामा क्रियाशीले अन्य सबै दल एक ठाउँ (गठबन्धन) छन् । अर्कातर्फ यसपटक पनि अघिल्ला निर्वाचन जस्तै क्षेत्र नम्बर एकमा एमालेका उपमहासचिव ज्ञवाली र काँग्रेसका नेता डा.चन्द्र भण्डारी भिड्ने लगभल पक्कापक्की जस्तै छ । दुबै प्रभावशाली, बौद्धिक र शालीन नेता मानिन्छन् । यसले पनि उनीहरुबीच कडा टक्कर हुने अनुमान गर्न सकिन्छ ।
क्षेत्र नम्बर दुईमा यसपटक पूर्व सहकर्मी एमाले सचिव विष्ट र नेकपा एकीकृत समाजवादीका सचिव रामकुमारी झाँक्रीबीच प्रतिस्पर्धा हुने निश्चित जस्तै छ । एमाले विभाजन पछि झाँक्री समाजवादीतर्फ लागेकी हुन् । राजनीतिक रुपमा एमालेमा हुँदा झाँक्री र विष्टबीच सुमधुर सम्बन्ध मात्रै थिएन, उनीहरु दाजुबहिनीको नाताले एकअर्कालाई सम्बोधन गर्ने गर्थे । तर, उनीहरुको निकटता अब चुनावी मैदानमा प्रतिस्पर्धीका रुपमा परिणत भएको छ ।
पछिल्लो समय दुबै जना आफ्नो निर्वाचन क्षेत्र गुल्मीमा केन्द्रित छन् । झाँक्रीले यसपटक प्रत्यक्ष निर्वाचन लड्ने र एमालेलाई हराएरै छाड्ने दावी गर्दै आइरहेकी छन् । दुबैजना पूर्वमन्त्री हुन् । प्रखर वक्ता पनि हुन् । सामान्यतः विष्ट शालीन नेता मानिन्छन् भने झाँक्री कडा स्वभावकी छन् । सधैंजसो चर्चामा रहने झाँक्री पहिलोपटक संसदीय निर्वाच्न लड्न लागेकी हुन् । उनी अहिले समानुपातितर्फबाट प्रतिनिधिसभा सदस्य छन् । विष्ट प्रत्यक्ष निर्वाचित प्रतिनिधिसभा सदस्य हुन् ।
गठबधनबाट गुल्मी एकमा चन्द्र भण्डारीले टिकट पाउने निश्चित जस्तै छ । कतिपयले भण्डारी रुपन्देही क्षेत्र नम्बर २ बाट एमाले उपाध्यक्ष विष्णुप्रसाद पौडेलसँग निर्वाचन लड्ने बताए पनि उनी गुल्मी १ बाटै प्रतिस्पर्धा गर्ने तयारीमा लागिसकेको उनका निकटस्थ बताउँछन् । भण्डारीले पछिल्लो समय निर्वाचन क्षेत्रमा मतदाता भेटघाटलाई तिव्रता दिइरहेका छन् । क्षेत्र नम्बर दुईबाट पनि गठबन्धनले झाँक्रीलाई टिकट दिने लगभग पक्का जस्तै छ । किनभने यहाँ विष्ट एमालेका बलिया उम्मेदवार हुन् । उनलाई झाँक्रीले मात्रै टक्कर दिनसक्ने भएकाले पनि सबैको रोजाईमा परेकी हुन् । स्थानीय केही नेताहरुले आफू पनि उम्मेदवार बन्नुपर्छ भनेर दावी गरे पनि एकबाट भण्डारी र दुईबाट झाँक्री नै उम्मेदवार हुने निश्चित भएको गुल्मीको गठबन्धन भित्रको राजनीतिक वृत्तमा चर्चा छ ।
एमालेबाट भने यहाँ ज्ञवाली र विष्ट निर्विकल्प उम्मेदवार हुन् । यदि उनीहरुले नै नचाहेमा मात्रै अन्य उम्मेदवारको खोजी हुनसक्छ तर हाललाई ज्ञवाली र विष्ट नै उम्मेदवार हुने एमालेका गुल्मीका नेताहरु बताउँछन् । २०७४ मा गुल्मी क्षेत्र नम्बर १ बाट एमाले उम्मेदवार ज्ञवालीले ३७ हजार ५ सय ५५ मत ल्याएर निर्वाचित भएका थिए । उनका निकटतम प्रतिस्पर्धी काँग्रेसका भण्डारीले २९ हजार ४ सय ५० मत प्राप्त गरेका थिए । २०७० सालको निर्वाचनमा भने भण्डारीले ज्ञवालीलाई पराजित गरेका थिए ।
ज्ञवाली र भण्डारीबीच लामो समयदेखि यहाँ कहिले कसले, कहिले कसले जित्ने गरी हारजित हुँदै आएको छ । आगामी ४ मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेशसभा चुनावमा सत्ता गठबन्धन एक रहँदा क्षेत्र नम्बर एकमा भण्डारीलाई यसपटक सहज हुने दावी गरिएको छ । तर, ज्ञवालीले मन्त्री हुँदा निर्वाचन क्षेत्रमा राम्रो काम गरेकाले यसपटक पहिले भन्दा सहज रहेको एमाले स्थानीय नेताहरुको दावी छ । यद्यपि भण्डारीले पनि आफू सांसद नहुँदा समेत क्षेत्र विकासमा धेरै योगदान गरेको काँग्रेस नेताहरुले जिकिर गर्दै आएका छन् ।
गत बैशाखमा सम्पन्न स्थानीय तह निर्वाचनमा पार्टीगतरुपमा वडाध्यक्षले पाएको मतलाई आधार मान्ने हो भने यहाँ एमाले बलियो छ । एमालेले ३५ हजार ७०१ मत पाएको थियो । नेपाली काँग्रेसले ३१ हजार २९४, माओवादी केन्द्रले ४ हजार ९७०, राष्ट्रिय जनमोर्चाले एक हजार ६ सय, नेकपा एसले ४९७ मत पाएका थिए । पार्टीगत रुपमा एमाले एक्लैको मत बढी भए पनि सत्ता घटकको मत जोड्दा गठबन्धन अगाडि देखिन्छ । दुबै उम्मेदवार स्थानीय स्तरमा भिजेकाले क्षेत्र नम्बर एकको निर्वाचन रोचक हुने स्थानीय गोपाल ज्ञवालीले बताए ।
यता क्षेत्र नम्बर दुईमा पनि रोचक प्रतिस्पर्धा हुने देखिन्छ । गठबन्धनबाट उम्मेदवार बने झाँकी बलियो हुन्छिन् । विष्ट झाँक्रीभन्दा गुल्मीका स्थानीयसँग बढी घुलमिल भएकाले उनी झनै बलिया छन् । गुल्मी मदानेका एमाले स्थानीय कार्यकर्ता रामबहादुर राउत भन्छन्, ‘विगतमा उहाँहरु एउटै पार्टीमा हुनुहुन्थ्यो, दुबैजना जुझारु र विकासप्रेमी नेता हो तर तल्लो तहसम्म झाँक्रीभन्दा विष्ट बढी भिजेकाले उहाँलाई अली सहज होला जस्तो लाग्छ ।’
समग्रमा गुल्मी एकभन्दा दुईलाई एमालेको बढी प्रभाव भएको क्षेत्रका रुपमा हेरिन्छ । पाँच दलीय गठबन्धन हुँदा पनि एमालेले यहाँ कडा टक्कर दिने अवस्था छ । २०५६, ०७० र ०७४ को निर्वाचनमा एमालेका नेता विष्टले जित हासिल गरेका थिए । उल्लेखित तीन वटा निर्वाचनमा प्रतिस्पर्धीको तुलनामा करिब दोब्बर मत ल्याएर विष्टले चुनाव जिते पनि २०६४ को निर्वाचनमा भने थोरै मतान्तरले पराजित भएका थिए ।
२०७४ को प्रतिनिधिसभा सदस्य निर्वाचनमा विष्टले कांग्रेसका चन्द्र केसीलाई पराजित गर्दै विजयी भएका थिए । उनी त्यसबेल संयुक्त बाम गठबन्धनको साझा उम्मेदवार बनेर ३४ हजार ६१८ मत प्राप्त गरेर विजयी भएका थिए भने काँग्रेसका केसीले २० हजार १५७ मत पाएका थिए । गत बैशाखमा सम्पन्न स्थानीय तह निर्वाचनमा वडाध्यक्षमा पार्टीहरुले ल्याएको मतलाई आधार मान्दा यहाँ एमाले बलियो देखिन्छ । क्षेत्र नम्बर २ मा वडाध्यक्षहरुले पाएको मतका आधारमा एमालेको ३१ हजार ५२३, कांग्रेसको २९ हजार ८२१, माओवादीको १ हजार ८४१, नेकपा एकीकृत समाजवादीको ६५८ र अन्य दलहरुको ९७९ मत छ । यहाँ गठबन्धन र एमालेलाई छुट्याएर मतपरिणाम हेर्ने हो भने गठबन्धन झिनो मतले अघि देखिन्छ ।
पार्टीगत आधार हेर्ने हो भने विष्टलाई क्षेत्रमा सहज छ तर झाँक्रीलाई निकै चुनौती छ । पछिल्लोपटक सहरी विकास मन्त्री हुँदा झाँकीले गुल्मीमा अर्बौं रुपैयाँ बजेट पारेकी थिइन् । उनले निर्वाचन लड्ने तयारीस्वरुप गुल्मीलाई धेरै बजेट छुट्याएको चर्चा उतिबेला पनि चलेको थियो । पछिल्ला दिनमा झाँक्रीले गुल्मी आउजाउलाई बाक्लो मात्रै बनाएकी छैनन्, निर्वाचन क्षेत्रमा पर्ने गाउँगाउँमा पुगेर मतदातालाई आफ्नो पक्षमा पार्ने प्रयास गरिराखेकी छन् ।
पछिल्लो समय उनी हप्ता दिन नै निर्वाचन क्षेत्रमा विताएकी छन् । विष्टले पनि निर्वाचन क्षेत्रमा आउजाउलाई बाक्लो बनाएका छन् । विष्टको व्यक्तिगत प्रभाव पनि राम्रो भएकाले झाँक्रीलाई चुनौति भने रहेको नेकपा एसकै गुल्मीका नेताहरु बताउँछन् । तर, खरो स्वभाव र स्पष्ट बोल्ने छवि बनाएकी झाँक्री पनि युवाहरुमाझ लोकप्रिय भएकाले यसपटक विष्टलाई राम्रो टक्कर दिने आँकलन गरिएको छ । यहाँ विष्ट र झाँक्री जसले जिते पनि थोरै मात्रै मतान्तरको फरक हुने मतदाताको अनुमान छ ।








प्रतिकृया दिनुहोस्