November 26, 2026, Thursday
२०८३ मंसिर १० बिहीबार

चुनाव चर्चाः ह्याट्रिक गरेका पौडेललाई रोक्लान गुरुङले ?

भैरहवा– सरकारले आगामी मंसिर ४ गते प्रतिनिधि र प्रदेश सभा निर्वाचन मिति तोकेपछि दलहरुले निर्वाचन केन्द्रित गतिविधि गरिरहेका छन् । नेताहरुले गृहजिल्ला दौड सुरु गरेका छन् । जोड घटाउ सुरु भएको छ । खासगरी सत्ता गठबन्धन र प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका उम्मेदवारहरु कसले बाजी मार्ला ? भनेर स्थानीय स्तरमा चर्चा सुरु हुन थालेको छ ।

Advertisement

केन्द्रिय राजनीतिमा सधैं पकड राख्दै आएका नेताहरु भएको रुपन्देहीमा पनि दल, कार्यकर्ता र स्थानीयस्तरमा चुनावको जोडघटाउ सुरु छ । गठबन्धनमा टिकट हात पार्न नेताहरुबीच दौडधुप छ । अर्कातर्फ एक ढिक्का भएर अघि बढ्ने चुनौति पनि गठबन्धनलाई छ । एमाले र यसका नेताहरुले गठबन्धनका नेताहरुसँग भिड्नका लागि योजना बनाइरहेका छन् ।

Advertisement

पाँचवटा निर्वाचन क्षेत्र रहेको रुपन्देहीमा यसअघि २०७४ मा भएको प्रतिनिधि सभा निर्वाचनमा एमालेले क्षेत्र नम्बर १, २ र ३ मा जित हासिल गरेको थियो भने काँग्रेसले ४ र ५ मा जित निकालेको थियो । क्षेत्र नम्बर एकबाट एमालेका सचिव छविलाल विश्वकर्मा, दुईबाट एमाले उपाध्यक्ष विष्णुप्रसाद पौडेल र ३ बाट नेता घनश्याम भुसाल निर्वाचित भएका थिए । क्षेत्र नम्बर ४ बाट काँग्रेसका युवा नेता प्रमोदकुमार यादव र पाँचबाट काँग्रेसकै भरतकुमार शाह निर्वाचित भएका थिए ।

उतिबेला बाम गठबन्धन थियो । त्यसैले पनि जिल्लामा धेरै निर्वाचन क्षेत्र जितेर एमाले पहिलो शक्ति मात्रै बनेन, उत्साहित पनि भएको थियो । तर, अहिले एमाले फुटेको मात्रै छैन, ऊविरुद्ध पाँच दल एक ठाउँ छन् । जसका कारण सत्ता गठबन्धनका उम्मेदवारले एमाले प्रभावशाली नेताहरुलाई यसपटक पक्कै टक्कर दिने छन् । ११ लाखभन्दा बढी जनसंख्या रहेको रुपन्देहीमा संघीय सरकारका गृहमन्त्री एवं नेपाली कांग्रेसका केन्द्रीय सदस्य बालकृष्ण खाँण, एमाले उपाध्यक्ष पौडेल, एमालेका सचिव विश्कर्मा, पोलिब्यूरो सदस्य भुसाल, केन्द्रिय सदस्य खिमलाल भट्टराई, कांग्रेस केन्द्रिय सदस्य रज्जाक तथा नेताहरु भरतकुमार शाह, प्रमोदकुमार यादव, राप्रपाका बरिष्ठ नेता दीपक बोहरा, लोसपाका बरिष्ठ नेता सर्वेन्द्रनाथ शुक्ला चुनावी मैदानमा उत्रिँदै छन् ।

यस अघि २०७४ मा सानुपातिकतर्फबाट सांसद बनेका गृहमन्त्री खाँण आगामी निर्वाचनमा रुपन्देही–३ बाट प्रत्यक्ष निर्वाचन लड्ने गरी तयारीमा जुटेका छन् । उनले निर्वाचन क्षेत्र केन्द्रित कार्यक्रमलाई तिव्रता दिएका छन् । यो क्षेत्रमा २०७४ मा एमालेका नेता भुसाल निर्वाचित भएका थिए । क्षेत्र नम्बर दुईमा एमाले उपाध्यक्ष पौडेललाई नेकपा एकीकृत समाजवादीका नेता एवं लुम्बिनी प्रदेश कमिटी सचिव राजु गुरुङले टक्कर दिने तयारी गरेका छन् । सत्ता गठबन्धनले गुरुङलाई पौडेलसँग लडाउने मोटामोटी सहमति गरिसकेको समाजवादीका नेताहरुको दावी छ । युवाहरुमाझ लोकप्रिय हुनु र पौडेलाई टक्कर दिने नेता पनि गुरुङ नै भएको गठबन्धनको निष्कर्ष छ । यसअघि स्थानीय तहदेखि संघ र प्रदेशमा पनि पहिलो शक्ति बनेको एमाले गत वैसाख ३० मा सम्पन्न स्थानीय तह निर्वाचनमा नराम्रोसँग हार ब्यहोरेर दोस्रो शक्तिमा खुम्चिएकाले पनि गठबन्धन यसपटक उत्साहित छ । एमालेलाई विरासत जोगाउने चुनौति छ । यहाँ हामीले रुपन्देहीको क्षेत्र नम्बर दुईबारे चर्चा गरेका छौं ।

ह्याट्रिक गरेका पौडेललाई रोक्लान गुरुङले ?
लगातार तीनपटक निर्वाचन जितेर ‘ह्याट्रिक’ गरेका एमाले उपाध्यक्ष एवं पूर्वअर्थमन्त्री विष्णुप्रसाद पौडेलको निर्वाचन क्षेत्र हो, रुपन्देही–२ । २०७४ मा पौडेलले कांग्रेसका युवराज गिरीलाई दोब्बर भन्दा बढी मतले पराजित गरेका थिए । पौडेलले ४४ हजार ९ मतका साथ विजयी हुँदा प्रतिस्पर्धी काँग्रेसका गिरीले २१ हजार ९४६ मत ल्याएका थिए । यसपटक पनि यो क्षेत्रमा एमालेबाट उपाध्यक्ष पौडेले निर्विकल्प उम्मेदवार हुन् ।

पौडेलले २०६४ मा माओवादीका भक्ति पाण्डे, २०७० मा तत्कालीन माओवादीकै नेता डा.बाबुराम भट्टराईलाई फराकिलो मतान्तरले पराजित गरेका थिए । ०४८ सालको निर्वाचनमा यो क्षेत्रबाट कांग्रेसका बालकृष्ण खाँण विजयी भएका थिए भने ०५१ मा एमालेका मोदनाथ प्रश्रितले खाँणलाई हराएका थिए । पौडेलले २०६४ यताका तीन वटा निर्वाचन लगातार जित्दै आएका छन् ।

यसपटक पौडेललाई भने केही चुनौति छ । उनको निर्वाचन क्षेत्रमा पर्ने बुटवल उपमहानगरपालिका, सैनामैना र तिलोत्तमा नगरपालिका नेपाली काँग्रेसले जितेको छ । अर्कातर्फ गठबन्धनले गर्दा उनलाई थप चुनौति छ । पौडेलले एमाले फुटको असर पनि यसपटकको निर्वाचनमा पक्कै भोग्नुपर्ने छ । लामो समय पौडेलसँग सँगै काम गर्दै आएका नेकपा एकीकृत समाजवादीका प्रदेश सचिव राजु गुरुङले गठबन्धनबाट उम्मेदवार बनेर उनलाई चुनौति दिने सम्भावना बलियो छ ।

युवाहरुमाझ लोकप्रिय गुरुङले पौडेललाई टक्कर दिने सबैभन्दा बलिया उम्मेदवार हुन् । निर्वाचन लड्ने भनेर गुरुङले लामो समयदेखि तयारी गर्दै आइरहेका छन् । यद्यपि यहाँ काँग्रेसका युवाराज गिरी पनि गठबन्धनबाट टिकट ल्याउनका लागि लागिपरेका छन् । यहाँबाट स्वतन्त्र उम्मेदवारी घोषणा गरेका डा.निकोलस भुसाल पनि पौडेलका लागि बाधक बन्ने कतिपयको अनुमान छ ।

डा.भुसालले एमालेको मत बढी काट्ने बताइएको छ । ०६४ को संविधानसभा सदस्य तथा नेकपा (माओवादी केन्द्र)का नेता बिनोद पहाडीले पनि टिकट पाए उम्मेदवार बन्ने बताएका छन् । पहाडी पनि गठबन्धनमा टिकटका मुख्य दावेदार हुन् ।

रुपन्देही र त्यसमा पनि आफ्नो निर्वाचन क्षेत्रमा विकासको लहर ल्याएको भन्दै यसपटक पनि पौडेलले नै निर्वाचन जित्ने एमाले नेताहरुको दावी छ । ठूला योजना क्षेत्रमा पार्न सफल पौडेलले सबैलाई समेट्न सक्ने खुबी राख्छन् । तर, धेरै कारण आगामी मंसिरमा हुने निर्वाचन उनी अनुकुल नहुने सत्ताघटक दलहरुको दावी छ ।

बालुटार जग्गा प्रकरण, प्रदेश राजधानी दाङ लैजान भूमिका खेलेको र पदसँग राजधानी साटेको, पार्टी विभाजन, झुटा आश्वासन बाँडेको उनीमाथि आरोप छ । बुटवल उपमहानगरमा २४ वर्षपछि नेपाली कांग्रेसले जित्नुको मुख्य कारण नै बुटवलबाट प्रदेश राजधानी सर्नु भएको रहेको एमालेले यसअघि निष्कर्ष निकालेको थियो ।

यही मौकामा गठबन्धनले आगामी निर्वाचनमा जित निकाल्ने बताएको छ भने आफ्नो क्षेत्रमा सबैलाई समेट्न सक्ने भएकाले अन्य पार्टीको मत चोरेर भए पनि लगातार चौथो जित निकाल्ने दाऊमा पौडेल छन् । गठबन्धनका नेताहरुले उम्मेदवार राम्रो भए पौडेललाई हराउन सकिने बताएका छन् । यसका लागि पौडेललाई टक्कर दिने नेता नै गुरुङ भएको काँग्रेस बुटवलका एक नेताले बताए ।

यस क्षेत्रमा बुटवल उपमहानगपालिकाका १ देखि १३ नम्बरसम्मका वडा, सैनामैना नगरपालिकाका १–४ नम्बर वडाहरु र तिलोत्तमा नगरपालिकाका १–६ नम्बर वडा पर्छन् । गत बैशाखमा सम्पन्न स्थानीय तह निर्वाचनमा वडाध्यक्षले पाएको मतका आधारमा यो क्षेत्रमा कांग्रेस सबैभन्दा बलियो पार्टी बनेको छ ।

उक्त निर्वाचनमा काँग्रेसले ३४ हजार ९५९, एमालेले ३३ हजार १८७, राप्रपाले ३ हजार ९२०, माओवादीले ३ हजार १८८, नेकपा एसले १ हजार ३८२ र जसपाले १८३ मत पाएका थिए । समाजवादी नेतृ सरिता श्रीसले गठबन्धनबाट समाजवादीले टिकट पाउने र गुरुङ नै उम्मेदवार हुने बताउँछिन् । उनले यसपटक फराकिलो मतान्तरले आफूहरुले निर्वाचन जित्ने दावी गरिन् । गठबन्धनमा घात नभए यसपटक पौडेललाई चुनौति हुनसक्ने अनुमान मतदाताको छ ।