चुनाव चर्चाः कपिलवस्तुमा गठबन्धनका नेतालाई टिकटकै चिन्ता, दाउ हेर्दै एमाले



कपिलवस्तु– तीन वटा निर्वाचन क्षेत्र रहेको कपिलवस्तुमा आउँदो मंसिर चार गतेको निर्वाचन रोचक हुने देखिन्छ । खासगरी कपिलवस्तुका नेताहरु दल अदलवदलमा बढी केन्द्रित भएपछि जिल्ला चर्चामा छ । अर्कातर्फ काँग्रेसका प्रभावशाली नेता दीपकुमार उपाध्याय र माओवादी केन्द्रका नेता चक्रापाणि खनालको निर्वाचन क्षेत्र एउटै परेपछि यहाँ कसले टिकट पाउँछ भन्ने चर्चा पनि छ ।
स्थानीय, प्रदेश र संघीय निर्वाचनमा यहाँ नेताहरु स्वार्थअनुसार चुनावका वेलामा दल परिवर्तन गर्ने गरेको इतिहास छ । ५ दलीय गठबन्धन मिलेर चुनावी मैदानमा जाँदा कुन क्षेत्र कसलाई पर्छ भन्ने दलका नेताहरुमा चिन्ता छ । गठबन्धन भित्र क्षेत्र नम्बर १ माओवादीलाई पर्ने निश्चित जस्तै छ भने क्षेत्र नम्बर २ र ३ नेपाली काँग्रेस उम्मेदवारहरुले सम्भावना छ ।
गठबन्धन भित्रबाट क्षेत्र नम्बर १ मा माओवादीले पाउँदा हालका सांसद चक्रपाणि खनालले पाउँछन् । यहाँ एमालेबाट पूर्व सांसद बलराम अधिकारी र हाल प्रदेश सभा सांसद विष्णु पन्थीले पनि निर्वाचन लड्ने भन्दै तयारी गरिरहेका छन् । अन्य नेताहरु भन्दा एमालेबाट अधिकारी र पन्थीले नै बलिया भएको कार्यकर्ताहरु बताउँछन् ।
क्षेत्र नम्बर दुईमा नेपाली काँग्रेसबाट सुरेन्द्र आचार्यले टिकट पाउने सम्भावना धेरै रहेको छ । उनी गत निर्वाचनमा पराजित भएका नेता हुन् । हाल पार्टीको प्रदेश महामन्त्री समेत छन् । यो क्षेत्रमा एमालेबाट वृजेशकुमार गुप्ता चुनाव लड्ने तयारीमा छन् । २०७४ सालमा हृदयेश त्रिपाठीको स्वतन्त्र राजनीति समूहमा रहेर सूर्य चिन्ह लिएर चुनाव लडेर जितेका उनी अहिले एमालेमा प्रवेश गरेका छन् । पटक–पटक यहाँ जितेका गुप्तालाई एमालेले टिकट दिने निश्चित जस्तै छ ।
कपिलवस्तु क्षेत्र नम्बर ३ मा काँग्रेसबाट अभिषेक प्रताप साह र काँग्रेसका लुम्बिनी प्रदेश संसदीय दलका नेता वीरेन्द्र कनौडिया पनि आकांक्षी हुन् । साहले २०७४ सालमा तत्कालीन संघीय समाजवादी फोरम हाल जसपाका मंगलप्रसाद गुप्तालाई पराजित गरेका थिए ।
मंगल गुप्ता पछि एमालेमा प्रवेश गरेका हुन् । उनलाई एमालेका अध्यक्ष केपी ओलीले पार्टीमा प्रवेश गराएका हुन् । हाल एमाले केन्द्रीय सल्लाहकार परिषद् सदस्य समेत रहेका गुप्तालाई पार्टीले चुनावी मैदानमा अगाडि सार्ने देखिन्छ । त्यस कारण यहाँ फेरी पनि साह र गुप्ताबीच नै प्रतिस्पर्धा हुने सम्भावना बढी छ ।
कपिलवस्तुवाट पटक पटक चुनाव जितेका पूर्वमन्त्री एवं नेपाली काँग्रेसमा नेता दीपकुमार उपाध्याय अहिले आफू उम्मेदवार बन्ने या नबन्ने अन्योलमा रहेको बताइन्छ । २०४८ सालदेखि लगातार चुनावी मैदानमा उत्रिएका उपाध्या क्षेत्र नम्बर १ वाट मैदानमा जान्छन् कि अन्य क्षेत्रको खोजी गर्छन् या मैदान बाहिर रहन्छन् भन्ने अनेक आँकलन सुरु भएका छन् । तर उनले आफै औपचारिक रुपमा कुनै धारणा बाहिर ल्याएका छैनन् । यद्यपि उनले यही क्षेत्रबाट लड्ने मनसाय बनाएको नेताहरु बताउँछन् ।
उनले आफूले टिकट नपाए छोरालाई प्रदेशसभामा उम्मेदवार बनाउने तयारी गरेको पनि चर्चा छ । उनको क्षेत्रमा गठबन्धनको तर्फबाट हाल माओवादी सांसद चक्रपाणि खनाल (बलदेव ) मैदानमा जाने सम्भावना उत्तिकै भएपछि उपाध्यायलाई संकट परेको हो । गठबन्धन दलहबीच जितेका ठाउँ नछाड्ने अरुमा छलफल गर्ने एक प्रकारको सहमति भएपछि यहाँ माओवादीका खनालले टिकट पाउने सम्भावना धेरै छ ।
गत निर्वाचनमा उपाध्याय खनालसँगै पराजित भएका थिए । अहिले खनाल र उपाध्याय एउटै गठबन्धनमा भएपछि कसलालाई टिकट दिने नेताहरुलाई पनि सकस पर्ने देखिन्छ । २०३० सालमा तत्कालीन हथौसा गाउँ प्रधानपञ्च निर्वाचित भई राजनीतिक यात्रा सुरु गरेका उपाध्याय पटक–पटक संसद्को चुवान जितेर मन्त्री समेत भएका नेता हुन् ।
भारतका लागि पूर्व राजदूत समेत बनेका उपाध्यक्ष नेपाली काँग्रेस सभापति शेरबहादुर देउवासँग निकट सम्बन्ध रहेको मानिन्छन् । उपाध्यायले २०४८ सालको संसदीय निर्वाचनमा कपिलवस्तु क्षेत्र नं.२ बाट राप्रपाका भगवानदास गुप्तालाई पराजित गरेर विजयी भएका थिए । ०५१ सालको आम निर्वाचनमा पनि उपाध्यायले सोही क्षेत्रबाट फेरी गुप्तालाई नै पराजित गरेर निर्वाचन जितेका हुन् । ०५६ को आम निर्वाचनमा भने बृजेशकुमार गुप्ताले उपाध्यायलाई पराजित गरेका थिए ।
दुई पटक उपाध्यायसँग चुनाव लडेका स्वर्गीय भगवान दासका छोरा बृजेशले उपाध्यायलाई हराउन सफल भएका हुन् । पछि त्यो क्षेत्र हेरफेर भएको भएपछि उपाध्याय क्षेत्र नं.१ बाट उम्मेदवार बनेका हुन् । २०७० सालमा एमालेका बलराम अधिकारीले उपाध्यायलाई पराजित गरेका थिए ।
२०७४ सालमा बाम गठबन्धनवाट माओवादीका चक्रपाणि खनालले उपाध्यक्षलाई पराजित गरेका थिए । खनालले २९ हजार ६ सय ९३ मत ल्याउँदा उपाध्यायले २८ हजार ७ सय ४७ मत ल्याएका थिए । खनाल र उपाध्याय अहिले एउटै गठबन्धनमा छन् । उपाध्याय क्षेत्र नम्बर २ तिर जाने की भन्नेबारे पनि अहिले छलफलमा छन् । तर यहाँ उनलाई सहज छैन ।
यहाँ यस अघिका उम्मेदवार तथा नेपाली काँग्रेस प्रदेश महामन्त्री सुरेन्द्र आचार्य पहिलेदेखि तयारी गरिरहेका छन् । त्यसैले उपाध्यायको उम्मेदवार बन्ने चाहनामा गठबन्धन र पार्टीका नेताहरु बाधक बन्ने देखिन्छ ।
क्षेत्र नम्बर १ मा २०७४ मा माओवादीका खनालले २९ हजार ६ सय ९३ मत पाएका थिए भने काँग्रेसका उपाध्यायले २८ हजार ७ सय ४७ मत ल्याएका हुन् । गत स्थानीय निर्वाचनमा वडाध्यक्षहरुले पाएको मत हेर्दा काँग्रेस अगाडि देखिन्छ । काँग्रेसका वडाध्यक्षहरुले २८ हजार २७१ मत पाएका छन् भने एमालेकाले २६ हजार ८२३ पाएका छन् । जसपाकाले १३ हजार ५१०, माओवादीकाले ९ हजार ३३८, नेकपा एस ३ हजार ७२२, लोसपा ३ हजार ४२४, राप्रपा २ हजार ४८० मत पाएका छन् । गठबन्धनलाई यहाँ निकै सहज छ । वडाध्यक्षको मत हेर्दा एमालेलाई भने कठिन देखिएको छ ।
क्षेत्र नम्बर दुईमा भने २०७४ बृजेशकुमार गुप्ता विजयी भएका थिए । हृदयेश त्रिपाठीको स्वतन्त्र राजनीति समूहमा रहेर सूर्य चिन्ह लिएर चुनाव लडेका गुप्ताले ३५ हजार १२७ मतका साथ विजयी भएका हुन् । उनी अहिले एमालेमा प्रवेश गरिसकेका छन् । उसबेला काँग्रेसका सुरेन्द्रराज आचार्यले ३१ हजार ५६६ मत ल्याएका थिए । स्थानीय चुनावमा वडाध्यक्षहरुले पाएको मतका आधारमा यहाँ काँग्रेस अगाडि छ ।
काँग्रेसका वडायक्षहरुले ३० हजार ९९८ मत पाएका छन् भने एमालेकाले २७ हजार २९८ मत ल्याएका छन् । जसपा ६ हजार ९०८, लोसपा ६ हजार ३८६, माओवादी ४ हजार ४५९, राप्रपा २ हजार ३५, नेकपा एसको ६९१ मत छ । गठबन्धन हुँदा र टिकट पाउँदा गुप्ता एमाले भन्दा निकै बलिया उम्मेदवार हुन् ।
कपिलवस्तुको क्षेत्र नम्बर ३ मा २०७४ सालमा काँग्रेसका अभिषेकप्रताप साहले विजयी हासिल गरेका थिए । उनले तत्कालीन संघीय समाजवादी फोरम हाल जसपाका मंगलप्रसाद गुप्तालाई हराएका हुन् । साहले १९ हजार ८६४ मतका साथ जित निकाल्दा गुप्ताले १५ हजार ७९४ मत पाएका थिए । गुप्ता अहिले एमालेको राजनीतिमा सक्रिय छन् । अहिले पनि यो क्षेत्रमा शाह र गुप्ताबीच प्रतिस्पर्धा हुने निश्चित जस्तै छ ।
स्थानीय तह निर्वाचनमा वडाध्यक्षहरुले पाएको मतलाई आधार मान्ने हो भने यहाँ एमाले अगाडि छ । यहाँ एमालेका वडाध्यक्षहरुले १८ हजार ७४७ र काँग्रेसका वडाध्यक्षहरुले १५ हजार ७७० मत पाएका छन् । यस क्षेत्रमा जसपाले ९ हजार ९७४, माओवादीले ६ हजार ८४४, राप्रपाले ६ हजार ७४, लोसपाले ४ हजार ६७५ र नेकपा एसले १ हजार ९८६ मत पाएको छ । वडागत मतलाई आधार मान्ने हो भने यहाँ गठबन्धन बलियो देखिन्छ ।








प्रतिकृया दिनुहोस्