चुनाव चर्चाः रूपन्देही–४ मा शुक्लालाई फेरि यादवकै चुनौती



भैरहवा– लामो समय तराई केन्द्रित दलहरुको दवदवा रहेको क्षेत्र नम्बर ४ मा गत २०७४ को निर्वाचनमा नेपाली काँग्रेसका युवा नेता प्रमोदकुमार यादवले प्रतिनिधिभा सदस्यमा निर्वाचन जितेका थिए ।
यादवले ३१ हजार ७१८ मतसहित विजयी हुँदा तत्कालीन राजपा हाल लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का बरिष्ठ नेता शर्बेन्द्रनाथ शुक्लाले २० हजार ४१६ मत पाएका थिए । आगामी मंसिर ४ मा हुने निर्वाचनमा पनि यो क्षेत्रमा शुक्ला र यादवबीच नै मुख्य प्रतिस्पर्धा हुने देखिन्छ ।
युवाहरुमाझ लोकप्रिय छवि बनाएका यादव सत्ता गठबन्धन हुँदा या नहुँदा काँग्रेसका एक्ला दावेदार हुन् । लामो समय मधेश केन्द्रित दलहरुले एकछत्र जित्दै आएको क्षेत्रमा यादवले २०७४ मा आफूले मात्रै जित निकालेका थिएनन्, प्रदेश सभा (क) र (ख) दुबैमा काँग्रेसलाई जिताएका थिए ।
यसले गर्दा पनि उनी बलिया दावेदार रहेको काँग्रेका स्थानीय नेताहरु बताउँछन् । पटक–पटक मन्त्री भइसकेका शुक्ला पनि पार्टीबाट निर्विकल्प उम्मेदवार हुन् । तर, उनलाई मन्त्री हुँदा निर्वाचन क्षेत्रमा विकासका काम गर्न नसकेको आरोप छ । अहिलेको सत्ता गठबन्धनमा शुक्ला आबद्ध पार्टी लोसपा नगएकाले पनि यहाँ उनको यादवसँग नै प्रतिस्पर्धा हुने देखिन्छ ।
लोसपाले सरकारमा जान र गठबन्धनमा आबद्ध हुन प्रयास गरिरहेको छ । यदि लोसपा सरकारमा गयो र गठबन्धन भयो भने यादव र शुक्लामा कसले टिकट पाउँछन् ? भन्नेमा अझै निश्चित छैन । यद्यपि लामो समयपछि काँग्रेसले जितेको क्षेत्र भएकाले पार्टीले गठबन्धन हुँदा पनि आफूलाई नै टिकट दिनेमा यादव ढुक्क छन् । शुक्ला भने गठबन्धनको दाऊमा छन् ।
क्षेत्रमा यादवभन्दा केही कमजोर भएकाले उनले गठबन्धन हुँदा आफूले टिकट पाउँछु की भन्ने दाऊ हेरेको उनी निकटका नेताहरु बताउँछन् । यदि गठबन्धन भयो र शुक्लाले टिकट पाए भने यादवले के गर्लान् ? भन्ने चासो पनि उत्तिकै छ ।
पार्टीमा यादव शेखर कोइराला समूह निकट मानिन्छन् । फरक समूह भएकै कारणले शुक्लालाई टिकट दिन्छन् की भन्ने चिन्तामा यादव पक्षका स्थानीय नेताहरु छन् । तथापी गृहमन्त्री बालकृष्ण खाँणसँग सुमुधुर सम्बन्धका कारण यादवले नै टिकट पाउने कतिपयको दावी छ । अर्कातर्फ खाँण यादवको घर रहेको क्षेत्र नम्बर ३ बाट निर्वाचन लड्ने भएकाले पनि यादवलाई नै टिकट दिने कतिपयको भनाई छ ।
‘प्रमोदजीको भैरहवामा राम्रो प्रभाव छ, उहाँको व्यक्तिगत मत नै दुई–तीन हजार जति होला’, काँग्रेस क्षेत्र नम्बर ४ का एक स्थानीय नेताले भने, ‘उहाँलाई टिकट नदिएर शुक्लाजीलाई दिइयो भने क्षेत्र नम्बर तीनका धेरै मत प्रभावित हुनसक्छन् । यसबाट खाँणजीलाई निर्वाचन जित्न चुनौती हुनसक्छ । त्यसैले पनि हाम्रो विश्वास प्रमोदजीले नै टिकट पाउनुहुन्छ भन्ने हो ।’
स्थानीय निर्वाचनमा आफ्नो क्षेत्रमा पर्ने दुईवटा पालिका प्रमुख जिताउन यादवको भूमिका अहम् रहेको ती नेताले बताए । क्षेत्र नम्बर चारमा पर्ने सम्मरीमाई र मायादेवी गाउँपालिकाको अध्यक्षमा गत बैशाखमा सम्पन्न निर्वाचनमा काँग्रेसले जितेको छ ।
फरक पार्टीबाट निर्वाचन जिते पनि मर्चवारी गाउँपालिकाका अध्यक्ष, उपाध्यक्ष र वडाध्यक्षले पनि यादवलाई नै सहयोग गर्ने बताइन्छ । निर्वाचनमा काँग्रेसबाट टिकट नपाए पछि मर्चवारीका अध्यक्ष गयाप्रसाद बरई लगायतले पार्टी परिवर्तन गरेर निर्वाचित भएका थिए । बरई सांसद यादवका विश्वास पात्र हुन् । मधेशी समुदायको बाहुल्यता रहेको यो क्षेत्रमा सम्मरीमाई, मर्चवारी र कोटहीमाई गाउँपालिकाका पूरै वडा तथा मायादेवी गाउँपालिका र लुम्बिनी सांस्कृतिक नगरपालिकाका केही वडाहरु पर्छन् ।
यहाँबाट सत्ता गठबन्धनमा रहेको जसपाले पनि टिकटको दावी गर्ने बताइन्छ । तर, उसको भागमा यो क्षेत्र पर्ने सम्भावना निकै कम छ । त्यसैले यहाँ अन्ततः शुक्ला र यादवबीच नै प्रतिस्पर्धा हुने बताइन्छ । स्थानीय निर्वाचनमा यो क्षेत्रमा पर्ने कोटहीमाई गाउँपालिका मात्रै लोसपाले जितेको छ ।
स्थानीय तहको परिणाम अनुसार यो क्षेत्रमा लोसपा बलियो देखिए पनि गठबन्धन हुँदा र मर्चवारीका अध्यक्षको समर्थन हुने भएकाले काँग्रेसका यादव बलियो उम्मेदवार भएको नेताहरुको दावी छ ।
बैशाखमा सम्पन्न स्थानीय तह निर्वाचनमा वडाध्यक्षले पाएको मतका आधारमा लोसपाको १६ हजार २२६, कांग्रेसको १५ हजार ६२७, जनमत पार्टीको ७ हजार ७३४, एमालेको ७ हजार ६०५, जसपाको ७ हजार ४९७, राप्रपाको ५ हजार ६९९, माओवादीको ३ हजार ८०२ र नेकपा एसको १ हजार १९८ मत छ ।
यादवले आफूले पाँच वर्ष क्षेत्र विकासमा दिएको योगदान महत्वपूर्ण रहेकाले फेरि निर्वाचित हुने बताए । यो क्षेत्र विकासका हिसावले जिल्लामै पछाडि पर्छ । विगतका जनप्रतिनिधिले काम नगरेकै कारण पछि परेको स्थानीय बताउँछन् ।








प्रतिकृया दिनुहोस्