चुनाव चर्चा: अर्घाखाँचीमा टोपबहादुरलाई कति सहज ?



अर्घाखाँची- एउटा मात्रै निर्वाचन क्षेत्र रहेको अर्घाखाँचीमा २०६४, २०७० र २०७४ मा नेकपा माओवादी केन्द्रबाट टोपबहादुर रायमाझीले एकछत्र निर्वाचन जित्दै आएका छन् । यसपटकको निर्वाचनमा भने रायमाझी एमालेबाट निर्वाचन लड्दै छन् । उनी माओवादी त्यागेर गत वर्ष एमाले प्रवेश गरेका थिए । रायमाझी अहिले एमाले केन्द्रिय कमिटी सचिव छन् ।
सरकारले आगामी मंसिर ४ गते प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनको मिति तय गरेपछि निरन्तर निर्वाचन जित्दै आएका रायमाझीले अब जित्लान् की ? के गर्लान् ? भन्ने सबैको चासो छ । जिल्लामा गठबन्धन र एमालेका उम्मेदवारको चर्चा परिचर्चा पनि उस्तै चलेको छ । २०६४ सालदेखि लगातार अर्घाखाँचीबाट विजयी रायमाझी आगामी मंसिर चारको निर्वाचनमा एमालेबाट निर्विकल्प उम्मेदवार हुने निश्चित छ ।
गठबन्धनबाट नेपाली काँग्रेसले यहाँ टिकट पाउने निश्चित जस्तै छ । त्यस आधारमा रायमाझीसँग भिड्न काँग्रेसले कसलाई अगाडि बढाउने भन्नेमा चर्चा छ । अहिले यहाँ काँग्रेसका धेरै नेताहरुले आकांक्षा देखाएका छन् ।
काँग्रेसबाट उपसभामुख पुष्पा भुसाल, यसअघि रायमाझीसँग पराजित डा.रामबहादुर बिसी, पूर्वराज्यमन्त्री रेवती भुसाल, काँग्रेस प्रदेश सहमहामन्त्री विष्णु मुस्कान, महाधिवेशन प्रतिनिधि लेखनाथ पोखरेलले टिकटका लागि पार्टीमा दौडधुप गरिरहेका छन् । यीमध्ये सबैभन्दा बलियो दावेदार उपसभामुख भुसाल हुन् ।
एमालेबाट प्रतिनिधि सभातर्फ रायमाझी मात्रै दावेदार देखिए पनि काँग्रेसमा धेरैले आकांक्षा देखाएपछि टिकट वितरणमा समस्या हुने र यसले निर्वाचनमा पनि सरकार पुर्याउन सक्ने भन्दै नेताहरुले चिन्ता व्यक्त गरेका छन् । अर्घाखाँचीमा दुईवटा निर्वाचन क्षेत्र हुँदा भुसालले २०६४ मा निर्वाचन जितेकी थिइन् ।
२०७४ मा उनी समानुपातिक सांसद भएकी थिइन् । यहाँ माओवादीले पनि दावी गर्न सक्ने आँकलन गरिएको छ । तर, गठबन्धन हुँदा पार्टी सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवासँग निकट रहेकी उपसभामुख भुसालले नै टिकट पाउने काँग्रेस नेताहरुले बताएका छन् ।
एमाले अर्घाखाँचीका अध्यक्ष पीताम्बर भुसालले पार्टीबाट रायमाझीले नै टिकट पाउने र निर्वाचन जित्नेमा आफूहरु ढुक्क रहेको बताए । यहाँ एमाले एमाले विभाजन भएर एकीकृत समाजवादी पार्टी बनेकाले त्यसले रायमाझीलाई असर हुनसक्ने पनि आँकलन गरिएको छ ।
२०७४ को निर्वाचनमा पूर्व उपप्रधानमन्त्री समेत रहेका रायमाझीले ५० हजार ३८५ मतका ल्याएर विजयी भएका थिए । उनका प्रतिस्पर्धी काँग्रेसका डा.रामबहादुर बिसीले ३१ हजार ९४१ मत पाएका थिए । उनीहरुबीच मतान्तर १८ हजार ४४४ को थियो ।
त्यसअघि जिल्लामा २ निर्वाचन क्षेत्र थिए । २०६४ सालमा जिल्लाको १ नम्बर क्षेत्रबाट रायमाझीले काँग्रेसका मानबहादुर विश्वकर्मालाई पराजित गरेका थिए । क्षेत्र नम्बर २ मा काँग्रेसकी पुष्पा भुसाल निर्वाचित भएकी थिइन् । २०७० सालमा रायमाझीले काँग्रेसका रामबहादुर बिसीलाई पराजित गरेका थिए ।
२ नम्बर क्षेत्रबाट एमालेका डा.दुमन थापा विजयी भएका थिए । यहाँ अहिले गठबन्धनबाट नेपाली काँग्रेसले संघ र माओवादीले प्रदेशमा टिकट पाउने गरी छलफल भएको जिल्ला स्तरका नेताहरुले बताएका छन् ।
स्थानीय तह निर्वाचनमा अर्घाखाँचीमा एमाले पहिलो शक्ति बनेको छ । वडाध्यक्षहरुले पाएको मतको आधारमा एमालेको ४८ हजार २६० मत छ भने काँग्रेसको ३७ हजार ९२५ छ । यस्तै, माओवादीको ७ हजार ७९०, राष्ट्रिय जनमोर्चाको ४ हजार २९४, नेकपा एसको ३ हजार ७६३ मत छ ।
पार्टीगत हिसावमा यहाँ एमाले बलियो देखिए पनि गठबन्धन हुँदा भने एमाले पछाडि छ । त्यसैले आगामी निर्वाचन जिल्लामा रोचक हुने देखिएको छ । रायमाझी र उपसभामुख भुसालको व्यक्तिगत प्रभावले पनि मतदाता प्रभावित हुने भएकाले यहाँ एमाले र गठबन्धनमा कसले निर्वाचन जित्छ भन्ने अहिल्यै आँकलन गर्न सक्ने अवस्था छैन ।








प्रतिकृया दिनुहोस्