मुक्त कमैयाको जीवनमा परिवर्तन आएन


भैरहवा, बाँके र बर्दिया– लुम्बिनी प्रदेशका दाङ, बाँके र बर्दियामा बधुँवा मजदुरका रुपमा रहेका मुक्त कमैया मुक्तीको २२ वर्ष पूरा भएको छ । तर, यसरी मुक्त कमैयाको जीवनमा अहिलेसम्म परिवर्तन देखिएको छैन । सरकारले मुक्त घोषणा गरेर उनीहरुका लागि केही जमिन र घरको व्यवस्था गरेको थियो । यस्तो व्यवस्थाले सबै मुक्त कमैयालाई समेटन सकेन । जसले गर्दा धेरै परिवार अहिले पनि गास र बासका लागि भौतारिन बाध्य छन् ।
प्रत्येक वर्ष साउन पहिलो साता मुक्त कमैयाले मुक्ती दिवस मनाउँछन् । दिवसमा उनीहरुले खुसीयाली भन्दा आफूले भोग्नु परेका समस्या सुनाउँछन् । दिवसमा सदरमुकाममा कार्यक्रम आयोजना हुन्छन् । त्यस्ता कार्यक्रममा सरोकारवालो मुक्त कमैयाँका समस्या टिपोट गर्छन् । कार्यक्रमबाट फर्किएपछि सुनुवाई गर्न भुल्छन् । पश्चिम तराईमा भूमि पुत्रका रुपमा रहेका आदीबादी थारु समुदायका विपन्न व्यक्ति दुइ दशकदेखि यसरी आफ्नो पीडा सुनाउन बाध्य छन् । यसबीचमा धेरै सरकार परिवर्तन भए । व्यवस्था बदलियो ।
प्रदेशका तीन जिल्लाका खाली स्थान र जंगलमा बसोबास भएका यी मुक्त कमैयाको जीवनमा कुनै परिवर्तन आएन । पहिले एउटा जमिन्दारको घरमा बधुँवा बनेर बस्नु पथ्यो । पछिल्लो पटक स्थानीय मुक्त कमैया परिवारका व्यक्ति दैनिक ज्यालामजदुरीका लागि भौतारिन बाध्य छन् । उनीहरु पहिले एउटा मालिकको अधिनमा बस्नु पथ्र्यो, अहिले दिनहुँ नयाँ मालिक खोज्नुपर्ने बाध्यता रहेको सुनाउँछन् ।
सरकारले कमैया मुक्ति घोषणा गर्यो तर पुनस्र्थापनामा ध्यान नदिँदा उनीहरूलाई ज्यालादारीका लागि दैनिक मालिक खोज्नु पर्ने बाध्यता आइलागेको हो । सरकारले पुनस्र्थापना गर्न कमैया परिवारलाई खेती गर्न जग्गा उपलब्ध गराउने बाचा गरेको थियो ।
मुक्तिको २२ वर्ष बितिसक्दा पनि अधिकांश मुक्त कमैया परिवारले जग्गा पाउन सकेका छैनन् । कतिपयले परिचयपत्र पाएका छैनन् । केहीलाई खोला, नदीको बगरमा जग्गा दिइएको छ । जसका कारण मुक्त कमैया परिवार मजदुरीको भरमा जीवन निर्वाह गरिरहेका छन् ।
‘सरकारले हामीलाई मुक्त गरेको २२ वर्ष पूरा भएर आजबाट २३ औं वर्ष सुरु भएको छ । तर, हाम्रा समस्याहरू पहिलेका भन्दा कम छैनन्,’ करिब २० वर्षदेखि कमैयाको अनुभव भोगेका बर्दिया बारबर्दिया नगरपालिका बिक्रीका गुम्मर थारु भन्छन्, ‘पहिले एक वर्षका लागि एउटैलाई मालिक छान्थ्यौं । मुक्तिपछि मजदुरीका लागि रोज एक मालिक खोज्नु पर्छ ।’
उनले काम खोज्न नेपालगन्जसम्म पुग्ने गरेको बताए । गाउँमा काम नपाएका कारण उनीहरू साइकल चलाएर मजदुरी गर्न सहर जाने गरेका हुन् । मुक्त कमैया परिवारका युवाहरू काम खोज्दै काठमाडौं, पोखरालगायतका ठूला सहर र भारत पस्ने गरेका छन् । बाँकेमा २ हजार २ सय ६७ मुक्त कमैया परिवार छन् ।
मुक्त कमैया जागरण समाजका अनुसार बर्दियामा १६ हजार २ सय ६२ घरधुरी मुक्त कमैया छन् । तर, भूमि व्यवस्था कार्यालय बर्दियाका अनुसार ११ हजार २ सय ६२ मुक्त कमैया परिवार रहेको तथ्यांक छ । १ हजार ५ सय मुक्त कमैयाले घरबासका लागि जग्गा पाएका छैनन् । १३ जनाले नदी र खोलाको बगर जग्गा पाएकाले सट्टाभर्ना बाँकी छ ।








प्रतिकृया दिनुहोस्