शनिबार के भएको थियो बाल सुधार गृहमा ?



भैरहवा– चारवटा कोठामा कोचाकोच भएर बस्नुपर्ने बाध्यता । ६० जना क्षमताको भवनमा १ सय ६ जना अट्नु परेपछि कोचाकोच हुनुको बिकल्प पनि छैन । भवनको कौशी, बरन्डा कतै जाने अनुमती छैन । खेल्ने मैदान, प्रांगण वा चौर पनि उपलब्ध छैन । न शारिरीक व्यायाम गर्ने स्थल । नत मनोरञ्जन गर्ने सामाग्री र साधन नै । सबै टुटफुट भएका भित्ताका पंखा । बाहिर निस्कन नपाउनाले घामबाट प्राप्त हुने ‘भिटामिन डी’ समेत नपाएर क्याप्सुल खुवाउनु पर्ने ।
यी लगायतका थुप्रै समस्या विद्यमान छन्, रुपन्देहीको भैरहवास्थित बाल सुधार गृहमा । धेरैजना जतिखेर पनि कोचाकोच भएर बस्नु परेपछि फोहर र दुर्गन्धले क्षयरोग, लुतो जस्ता सरुवा रोगको संक्रमणको जोखिम उत्तिकै । यी लगायतका धेरै कारणले जान अन्जानमा बाल विज्याई गरेका अर्थात् कानुनी विवादमा परेका त्यहाँ रहेका बालकमा चिडचिडाहापन, कसैमा डिप्रेशन, कसैमा अत्याधिक उत्तेजित जस्ता व्यवहार देखिन थालेका छन् । सवैमा बढ्दो जवानीको उमेर छ ।
भौतिक संरचना अत्यन्त साँघुरो भएका कारणले उक्त बाल सुधार गृह व्यवस्थापनमा निकै समस्या आउन थालेको छ । एक पटकमात्र होइन बारम्बार, केही बर्षदेखि त्यहाँ घटेका घटनाले कतै बाल सुधार गृह नियन्त्रण भन्दा बाहिर जाने त होइन ? भन्ने प्रश्न उब्जाउन थालेको छ । यसैको परिणाम हो, गत शनिवार साँझ त्यहाँ घटेको घटना ।
साँझ करिब ८ बजेतिर अत्यधिक गर्मी भएका कारण सुधार गृह भित्र रहेका एकजना किशोरले बाहिरको धारामा पानी पिउन भने । सादा पोशाकमा रहेका सुरक्षाकर्मीले बारिहबाट ताला लगाइएको गेटको ताला खोलिदिए । धारामा पानी पिउन भनेर गएका किशोरले भुइबाट केही टिपेको महशुस सुरक्षाकर्मीलाई भयो । सुरक्षाकर्मी ति किशोर भएको ठाउँमा जाँदा किशोर भूइमा पल्टिए ।
ठीक त्यती नै बेला खुल्ला रहेको गेट भित्रबाट सबै बालक तथा किशोर एकसाथ बाहिर निस्किए । सबैले सुरक्षाकर्मीमाथि आक्रमण गर्न थाले । पकाएको खाना, डाडु, पोनियो, कुकर, डेक्ची जे–जे सामान उपलब्ध छन्, सबै सामानले सुरक्षाकर्मीमाथि प्रहार गर्न थाले । उनीहरुले प्रहार गरेको डाडु, पोनियो, डेक्ची, कुकर लगायतका भाडावर्तन कुच्चिएका छन् । बांगिएका छन् ।
थोरै संख्यामा रहेका सुरक्षाकर्मी (जसलाई पोशाक र लाठी समेत लिएर बस्ने अधिकार छैन) उनीहरुको आक्रमणले अत्तालिन थाले । त्यही बेलामा एक–दुईजनाले भागभाग भन्दै भाग्न उक्साउन थाले । एकजना किशोर भाग्न भनेर तारवारले घेरेको पर्खालबाट हामफाल्न खोज्दा तारले काटेर पल्टिए । सुरक्षाकर्मी बाहिर निस्केर गेटमा ताल्चा लगाएर बन्द गरेपछि घटनाका बारेमा माथिल्लो निकायमा खबर गरे ।
त्यतिञ्जेल वरपरका सबै छिमेकी जम्मा भैसकेका थिए । जिल्लाबाट थप जनशक्तिका साथ सुरक्षा अधिकारी, प्रशासन प्रमुख, नगरपालिकाका जनप्रतिनिधि लगायतका सबै जना उपस्थित भए । तर, सुधार गृहका बालक तथा किशोर भने अधिकांश चिडचिडाहट अवस्थामा थिए । निकै आक्रोशित पनि । उनीहरुले भित्रबाट सामानले गरेको प्रहारबाट मुस्किलले डीएसपी नवरत्न पौडेल जोगिए ।
‘भौतिक संरचनाका अपर्याप्त हुँदा बाल सुधार गृह सुधार गृहजस्तो हुन सकेन’, उक्त बाल सुधार गृह प्रमुख शुभद्रा गौतमले भनिन्, ‘सुधार गृहमा रहेका बालक तथा किशोर अव वयश्क अवस्थामा पुगेका छन् । उनीहरुको मानोविज्ञान बुझेर त्यही अनुरुपको भौतिक संरचना लगायतका स्रोतसाधन उपलब्ध हुन नसक्दा उनीहरुमा चिडचिडाहापन, उत्तेजना जस्ता मनोसामाजिक अवस्था बेलाबेलामा देखिने गर्छ ।’
सुधार गृहमा रहेका अधिकांश बालक तथा किशोरले यस भन्दा अघि पनि पटक–पटक सामूहिक रुपमा अस्वाभाविक तथा कानुन बिपरीतका कार्य देखाउने गरेको उनले बताइन् । यसको समाधानका लागि साँघुरो स्थानबाट बाल सुधार फराकिलो र भौतिक रुपमा सुबिधा सम्पन्न बनाउनतर्फ तत्काले राज्यले ध्यान दिन जरुरी भएको भनाइ उनको छ ।
पानी पिउन गएका किशोर किन भुँइमा पल्टिए ? र, सुरक्षाकर्मीमाथि सामूहिक आक्रमण गर्न किन सुरु गरे ? भन्ने वारेमा पनि सुरक्षाकर्मीले गरेको अनुमान र त्यपछिको क्रियाकलाप पनि आश्चर्यजनक छ ।
सुरक्षा निकायको अनुमान छ, कुनै व्यक्तिले सुधार गृहभित्र कुनै नशालु पदार्थ उपलब्ध गराउन कसैको सल्लाह बमोजिम बाहिरबाट फ्याँकिदियो । त्यो सामान चुरोट, सुर्ती वा गाजापनि हुनसक्छ । त्यो सामान लिनका लागि धारामा पानी पिउने भनेर किशोर बाहिर निस्किए । सुरक्षाकर्मीले केही टिपेको देखेपछि के रहेछ ? भनेर त्यहाँ जाँदा किशोर भुँइमा पल्टिेको नाटक गरेर त्यो शरिरले छोपेर लुकाए । ठीक त्यही वेला भित्रबाट सवैजना बाहिर निस्कन थाले र सुरक्षाकर्मीमाथि आक्रमण गर्दै भाग्ने प्रयत्न गर्न थाले ।
‘हामीलाई केही कुरामा शंका लागेर सुधार गृह भित्र भोलिपल्टै प्रशासनसँगको समन्वयमा सर्च गर्न खोज्यौं’, डीएसपी नवरत्न पौडेलले भने, ‘हामीले सर्च गर्न लागेपछि सुधार गृहका अर्का एक किशोरले आफ्नै टाउकोमा कुनै सामानले प्रहार गरेर फुटाउने प्रयत्न गरे । उनी रगताम्मे भएपछि सर्च गर्न भन्दा उनलाई बचाउनका लागि तत्काल अस्पताल लगेर उपचार गर्नतर्फ लागियो । घटनाले अर्के मोड लियो ।’
अहिले सुधार गृहमा रहेका बालक तथा किशोर उत्तेजित अवस्थामा रहेको, बाल सुधार गृहमा धेरै खनतलासी तथा धरपकड गर्दा राम्रो सन्देश नजाने र कतिपय किशोर डिप्रेशनमा जाने हुन् की ? भन्ने कारणले गर्दा बलजफ्ती नगरिएको भनाइ पौडेलको छ । सुरक्षा निकाय र बाल सुधार गृह प्रशासनको एउटा शंका छ । त्यो के भने घटना हुनु अघि एकजना लागु औषधको अभियोगमा कैद भुक्तान गरि बाहिर निस्किएका थिए ।
सिद्धार्थनगर घर भएका र नवलपुरबाट पक्राउ परेका ति किशोर बाल सुधारमा आएदेखि नै केही न केही उपद्रो तथा कानूनविपरीतका कार्य गर्दै आएका थिए । उनलाई सुधार गृहमा रहेका सबैका बारेमा जानकारी थियो । धारामा पानी पिउन गएका किशोर मार्फत् कतै तिनै किशोरले कुनै सामान भित्र उपलब्ध गराउन त खोजेका थिएनन् ? प्रश्न उब्जिएको छ ।
शानिवारको उक्त घटनापछि सुधार गृहको सुरक्षा व्यवस्था चुस्त पारिएको छ । सादा पोशाकमा सशस्त्र प्रहरीको पनि परिचालन गरिएको छ । घटनाको भोलिपल्टै जिल्ला सुरक्षा समितिको बैठक बसी बाल सुधार गृहको व्यवस्थापन चुस्त राख्न पहल गर्ने निर्णय पनि गरिएको थियो ।








प्रतिकृया दिनुहोस्