दुई दिन सरकारी बिदाः कर्मचारी समयमै नआउने, आएका पनि गफिने
भैरहवा– सरकारले इन्धन कटौती गर्ने भन्दै सरकारी विदा हप्तामा दुई दिन लागु गरेको छ । नया“ नियमानुसार सरकारी कर्मचारी ९ः३० मा कार्यालय पुग्नुपर्छ । ५ः३० मा उनीहरुको छुट्टी हुन्छ । सरकारले लागु गरेको यो नियम कत्तिको प्रभावकारी बनेको छ त ? के ९ः३० मैं सेवाग्राहीहरुको काम भएका छन् त ? कर्मचारी कतिबजे आउछँन् ?
यिनै विषयबस्तुलाई ध्यानमा राख्दै पब्लिक कुराले हालै एउटा सरकारी कार्यालयमा स्थलगत अनुगमन गरेको थियो । जहाँ सेवाग्राहीको धेरै भीड हुनेमध्येको एउटा कार्यालय, भैरहवास्थित मालपोत कार्यालयमा ।
हाम्रो टिम मालपोत पुग्दा बिहान ९ः३० को समय भित्रै केही कर्मचारी आउँछन् । विद्युतीय मेसिनद्वारा आफ्नो उपस्थितिको हाजिरी पनि जनाउँछन् । तर, तत्कालै आफ्नो कार्यकक्ष वा फाँटमा भने जाँदैनन् । धेरैबेर गफिएपछि मात्रै बल्ल काममा लाग्छन् । कर्मचारी आउनेक्रम साढे १० बजेसम्म चलिनै रहन्छ । समयमैं आएका कर्मचारीमध्ये केही त पौने ११ मा बल्ल आफ्नो फाँटमा पुग्छन् ।
बिहीवार ९ः३० मा त्यस कार्यालयमा पुग्दा दृष्य यस्तै देखियो । साढे ९ बजे कार्यालय प्रमुखको कार्यकक्षमा केही कर्मचारी र बाहिरतर्फको बेञ्चमा आधा दर्जन कर्मचारी गफिइरहेका थिए । गफको प्रशंग थियो, स्थानीय निर्बाचन परिणामको । काठमाडौंको मेयरमा अग्रता लिएका बालेन साहदेखि सिद्धार्थनगर नगरपालिकाको निर्वाचन परिणामसम्मको गफ चलिरहेको थियो । एकजना कर्मचारीले भने सोधे, ‘तपाइँको केही काम थियो की ?’
काम नभएको जनाएपछि ति कर्मचारी पनि फेरी गफिन लागे । अन्य कर्मचारी आउने क्रम चलिरह्यो । आफ्नो हाजिरी गरेपछि कोही कार्यालय प्रमुखको कार्यकक्षतिर लागे भने कोही बाहिर । साढे १० बजेसम्म कर्मचारी आउने क्रम चलिरह्यो । मालपोत कार्यालय सेवाग्राहीको बढी भिड हुने कार्यालयमध्येको एक हो । १० बजेतिर देवदह–७ का शिवलाल पौडेल आफ्नो फाँटवाला कर्मचारी खोज्दै कार्यालय परिसरमा भौंतारिइरहेका थिए ।
उनको लालपुर्जामा जग्गाधनीको नागरिकताको जारी मिति र जारी गरेको कार्यालयको नाम उल्लेख हुन छुटेछ । यसका लागि उनले पुनः वडा कार्यालयको सिफारिसदेखि बसाइँसराइको कागजसम्म साथमा ल्याएका थिए । पौडेल भन्दै थिए, ‘यिनै कर्मचारीको गल्तीले उल्लेख गर्न छुटाउने अनि दुःख पाउनु पर्ने हामी सेवाग्राही ?’ अव त कार्यालय साढे ९ देखि नै खुल्छ । किन १० बजे आउनु भएको त ? प्रश्न गर्दा पौडेलले साढे ९ बजे कार्यालय खुल्ने वारे अनभिज्ञ रहेको जनाए ।
यत्तिकैमा प्रविण ज्ञावाली नाम बताउने लेखापढी व्यवसायी पनि तोक लगाउन अधिकृतलाई फाँटमा खोज्दै थिए । केही वेरसम्म नपाएपछि जताततै खोजे । कर्मचारी समयमैं सवै नआउँदा र फाँटफाँटमा उपस्थित नहुँदा कार्यालय ९ः३० मैं खुल्छ र काम हुन्छ भन्ने अनुभूति भने आम सेवाग्राहीलाई हुन सकेको छैन । अपरान्ह ५ः१५ मा उक्त कार्यालयमा पुग्दा कतिपय कर्मचारीको कुर्सी रित्तो देखिन्थ्यो । ४१ जना कर्मचारीमध्ये केही पहिल्यै हिँडीसकेका थिए । कार्यालय बाहिरका गैरकर्मचारीले कार्यालयका फाइल र कागजात खोतल्दै थिए । सेवाग्राहीको कर्मचारी आउँछन् की भनेर रित्तो कुर्सीमा ध्यान केन्द्रित थियो ।
कार्यालयका निमित्त प्रमुख तथा मालपोत अधिकृत बालप्रसाद श्रेष्ठले केही कर्मचारीमा ढिला आउने पुरानो प्रबृत्ति रहेको स्वीकारे । अधिकृत भने दैनिक कार्यालयमा आउनासाथ बैठक बसेर कामको समिक्षा र गर्नु पर्ने कामको वारेमा सल्लाह गर्नु पर्ने भएकाले तत्कालै अधिकृतलाई सम्बन्धित फाँटमा नदेखिएको हुन सक्ने उनले बताए । ‘म आफै पनि बेलाबेलामा कुन कर्मचारी फाँटमा छन्–छैनन ? भनेर डुल्ने गर्छु’, श्रेष्ठले भने, ‘नभएका कर्मचारीलाई सम्झाउँछु । केही समस्या कर्मचारीमा पनि छ ।’
प्रतिकृया दिनुहोस्