July 12, 2026, Sunday
२०८३ असार २८ आईतवार

दुई महिनाको बच्चा बोकेर मतदाताको दैलोमा उपाध्यक्षकी उम्मेदवार

मर्चवार– कोटहीमाई गाउँपालिकाको उपाध्यक्षमा उमेदवारी दिएकी सबिता गुप्ता पनि कलिलो उमेरमैं राजनीतिमा उत्रेकी छन् । २३ वर्षीय सबिता गुप्ता बुधवार मर्चवारको मर्चवारी मन्दिर नजिकै रहेको एक नीजि विद्यालयमा निर्वाचन प्रचारप्रसारमा हिँडेका कार्यकर्तालाई खाना खुवाउँदै गरेको अवस्थामा भेटिइन् ।

Advertisement

दिउँसो करिब ३ बजेको समयमा खाना खुवाउँदै गरेकी अवस्थामा भेटिएकी उनी आउँदो बैशाख ३० गते हुने स्थानीय निर्वाचनका लागि कोटहीमाई गाउँपालिकाको उपाध्यक्ष पदकी उम्मेदवार हुन् । उनी नेपाल जनता पार्टीको तर्फबाट उम्मेदवार बनेकी हुन् । खाना खाँदै गरेका सबै उनका प्रचारक थिए ।

Advertisement

‘बिहानदेखि घरदैलोमा लाग्यौ, सामूहिक रुपमा शाकाहारी खाना पकाउँछौ र त्यही खान्छौं’, प्रचारकलाई आलु र पर्बरको तरकारी दिँदै उनले भनिन् । उनको भर्खर २ महिना पुगेको छोरा पनि छ । ‘छोरा भर्खर २ महिनाको छ, निर्वाचनको प्रचारमा संगै लिएर हिँड्ने गरेकी छु । अबोध बालक, भोक लागे रोइहाल्छ, त्यसैले प्रचारमा जाँदा संगै लिएर जाने गरेकी छु’, उनले भनिन् ।

बीएड तेस्रो वर्षकी विद्यार्थी उनको मुख्य विषय स्वास्थ्य हो । मझगाँवामै पढ्छिन् । घरमा ससुरा र श्रीमानले नीजि बिद्यालय चलाउँदै आएका छन् र उनले पनि त्यही काम गर्छिन् । ‘सानैदेखि महिलाका लागि केही गरौ भन्ने भावना आइरहन्थ्यो । महिला हिंसा, बालबिबाह, दाइजोप्रथाको म जहिले पनि खिलापमा थिएँ । मैले बिबाह गर्दा केही दाइजो ल्याइन्, ससुरा यही हुनुहुन्छ सोध्नुहोस् न’, ससुरालाई देखाउदै उनले भनिन् ।

मर्चवारीको पिपरहवा माइती घर भएकी उनी अचानक राजनीतिमा प्रबेश गरिन् । ‘महिलाको लागि केही गरौ भन्ने सोचको साथ अघि आएकी छु,’ उनी भन्छिन् । महिलाहरुलाई शिक्षा, तालिम प्रदान गरी स्वरोजगार बनाउने उनको योजना छ । महिला शिक्षित भए बालबिबाह, दाईजोप्रथा अन्त्य हुने उनले बताइन् । ‘छोरालाई सरह छोरीलाई पनि पढाउनु पर्छ भन्ने मान्यता लिएर अघि बढेकी छु,’ उनले भनिन्, ‘गाउँको विकासका लागि महिला शिक्षित हुनु जरुरी छ, त्यसैले हाम्रो जोड शिक्षामा बढी छ ।’

उनले राजनीतिमा आउने सोच त नभएको तर समयले ल्याएको जनाइन् । ‘शिक्षित परिवार छन्, त्यसैले मलाई सजिलो भएको छ । राजनीतिमा आउन ससुराले पनि आग्रह गर्नु भयो, श्रीमान त हरेक कुरामा साथ दिनुहुन्छ, पढेलेखेका मानिस कुरा बुझ्छन् भनेको यही हो’, उनले सुनाइन् । अब निर्वाचित भएर सिंगो गाउँलाई शिक्षा, स्वास्थ्य, कृषिमा नमुना बनाउने लक्ष्य रहेको बताइन् । ‘कोटहीमाई गाउँका मतदाताले मतदिनु हुन्छ र हामीलाई जिताउनु हुन्छ भन्नेमा हामी बिश्वस्त छौं’, उनले भनिन् ।