May 16, 2022, Monday
२ जेष्ठ २०७९, सोमबार

ओझेलमा मर्चवारका मुद्दा

मर्चवार– सत्ता साझेदार गठबन्धनले लुम्बिनी प्रदेशका सिमावर्ती पालिकामा ‘मित्रवत’ प्रतिष्पर्धा गर्ने जनाउँदैं तालमेल गरेनन् । एमालेको प्रभाव कम भएका पालिकामा गठबन्धन दलबीच प्रतिष्पर्धा गर्ने निर्णय गरेका थिए । रुपन्देहीका सिमावर्ती पालिकामा अहिले दलबीच ‘मित्रवत’ प्रतिष्पर्धा देखिँदैन ।

Advertisement

यहाँ दल र तिनका उम्मेदवारबीच आफ्नो प्रभाव देखाउने होड छ । दलको घरदैलो र भेटघाटले यहाँ दिनभर रौनक हुन्छ । यहाँका उम्मेदवार र अगुवा कार्यकर्ता स्थानीय समस्या केन्द्रित छैनन् । उनीहरु आफ्नो प्रभाव देखाएर मत आकर्षित गर्न केन्द्रित छन् । अधिकांश उम्मेदवार पुरानै व्यक्ति छन् । पुरानाले मतदातासित फेरि काम गर्ने अवसर दिन अनुरोध गरिरहेका छन् ।

खासगरी रुपन्देहीको मर्चवार क्षेत्रका कोटहीमाई, सम्मरीमाई र मर्चवारी गाउँपालिका पुरानै दोहोरिएको छन् । उनीहरु नागरिकको जीवनसँग सरोकार राख्ने भन्दा चुनावी एजेण्डा अघि सारेका छन् । नयाँले यसअघिका जनप्रतिनिधिका काममाथि प्रश्न उठाउँदैं अवसर दिन आग्रह गरिरहेका छन् । केही व्यक्तिले मात्रै स्थानीयका आवश्यकता समेटेर प्रतिवद्धता पत्र बनाएका छन् ।

बाँकीले भेटघाटलाई जोड दिएका छन् । यहाँ दल र तिनका एजेण्डा भन्दा व्यक्तिको प्रभावलाई आधार बनाएर प्रचार भइरहेको छ । यहाँका बासिन्दाका अनुसार सिचाइँ, खानेपानी, शिक्षा, स्वास्थ्य र युवालाई रोजगार मुख्य मुद्दा हुन् । घरदैलोमा पुग्ने उम्मेदवारले यस्ता समस्याबारे मतदातासित छलफल गरेको पाइँदैन ।

यसअघि जनप्रतिनिधि रहेका व्यक्तिले मर्चवारको बिकास गरेको जनाउँदै अधुरा काम पूरा गर्न आफूले जित्नु पर्ने जिकिर गरेका छन् । कोटहीमाई–५, का लहलाद यादवले मर्चवार खाद्यान्न उत्पादन भण्डार रहेको बताए । ‘यो अन्न भण्डार हो,’ उनले भने, ‘तर, सिचाईं समस्या छ ।’ उनका अनुसार यहाँ खानेपानीको चर्को समस्या छ । यहाँ ४०–५० फुट पाइप गाडेर स्थानीय आर्सेनिकयुक्त पानी पिउन बाध्य छन् ।

यहाँ अहिलेसम्म स्तरीय विद्यालय र क्याम्पस छैनन् । यहाँबाट उच्च शिक्षा हासिल गर्न सहरी क्षेत्रमा डेरा लिएर बस्नुपर्छ । छात्राका लागि अलग्गै विद्यालय नहुँदा समस्या छ । ‘अस्पताल छ,’ यादवले भने, ‘तर, अहिलेसम्म एमबीबीएस अध्ययन गरेका डाक्टर छैनन् ।’ सधैं यी समस्या हल गर्ने बताएर आफ्नो मत लिने गरेको उनले बताए ।

‘चुनाव जितेपछि सबै भुल्छन्,’ उनले भने, ‘हामी साइकलमै कुद्छौं, नेता आएर धुलो उडाउँछन् ।’ स्थानीय सरकार बनेपछि यहाँका केही सडक ग्रावेल र पक्की बनेका छन् । स्थानीय त्यस्ता पूर्वाधारको गुणस्तरमा प्रश्न उठाइरहेका छन् । ‘यहाँ अझै गोरेटो बाटा छन्,’ मर्चवारीका बैजनाथ बरईले भने, ‘यहाँबाट एम्बुलेन्समा भैरहवा बिरामी पुर्याएको २ हजार ४ सय रुपैयाँ खर्च लाग्छ ।’ वर्षौदेखि समस्या यथावत रहेको उनले बताए ।

यहाँ उम्मेदवारले ‘गरिब आवास कार्यक्रम’ सञ्चालन गर्ने बताइरहेका छन् । ‘तर, कहिल्यै सुनुवाई भएन,’ स्थानीय मालतीदेवी सिंहले भनिन्, ‘गरिबका लागि आएको दालचामल राहत कहिल्यैं पाउँदैनौं ।’ आफ्नो दुई कठ्ठा जमिन मात्र रहेको उनले बताइन् । ‘खान लाउन समस्या छ,’ उनले भनिन्, ‘दुखमा कसैले सोधेन ।’ मर्चवारी–७, की सुनीता हरिजनले यहाँका दलित समुदाय समस्यामा रहेको बताइन् ।

यसअघि वडाबाट दलित महिला जनप्रतिनिधि रहेकी उनी यसपटक पनि उम्मेदवार बनेकी छन् । ‘कच्ची घर धेरै छन्,’ उनले भनिन्, ‘साँझबिहान खानापिनाको पनि समस्या छ ।’ यहाँ समस्या भन्दा पनि आफ्नो क्षमता प्रदर्शन गर्ने चलन रहेको बताइन् । ‘पैशा हुनेले खर्च गर्छन्,’ उनले भनिन्, ‘हामी नहुने हात जोड्छौं ।’

आ–आफ्नै दाबी
रुपन्देहीका उत्तरी क्षेत्रमा बिकास निर्माण तीव्र छ । आधुनिक सहर बनिरहेका छन् । चार र ६ लेनका सडक निर्माण भएका छन् । सदरमुकाम भैरहवासित जोडिएको मर्चवार क्षेत्र अझै पिछडिएको छ । यहाँ प्रमुख दल कांग्रेस र एमालेबीच प्रतिष्पर्धा छैन । कांग्रेस, माओवादी केन्द्र र मधेशबादी दलबीच टक्कर देखिएको छ । कांग्रेसबाट उम्मेदवारी नपाएपछि दल बदलेका धेरै व्यक्ति उम्मेदवार बनेका छन् ।

जनता समाजबादी र लोकतान्त्रिक समाजबादी पार्टी प्रतिष्पर्धामा छन् । नेपाल जनता पार्टी र जनता प्रगतिशील पार्टीको उपस्थिति बलियो देखिएको छ । सीके राउत निकट जनमत पार्टीले परम्परागत दललाई चुनौती पेश गरिरहेको छ । विभिन्न दलबाट उम्मेदवार बनेका व्यक्तिले आफैले जीत प्राप्त गर्ने दाबी गरेका छन् । पहिले जस्तो लत्ताकपडा वितरण र आर्थिक प्रलोभनले मत प्रभावित गर्ने समय नरहेको नेपाली कांग्रेसबाट कोटहीमाई गाउँपालिका अध्यक्षका उम्मेदवार बलिराम यादवले बताए ।

‘जसले काम गरेर देखाउँछ, उसैले जित हांसिल गर्छ,’ उनले भने । माओवादी केन्द्रबाट सम्मरीमाई गाउँपालिका अध्यक्षका उम्मेदवार जितेन्द्रनाथ शुक्लले जनताको विश्वास जित्नसके मात्र जीत मिल्ने बताए । ‘काम गर्ने–नगर्ने व्यक्ति हेर्न थालेका छन्,’ उनले भने, ‘बिगत पाँच वर्ष मूल्यांकन गरेर भोट हाल्नुस् भनेको छु ।’ यहाँ उम्मेदवार नबनाएपछि दल बदलेका व्यक्तिका कारण यहाँको जीत–हार समीकरण बदलिएको धेरैले बताएका छन् ।