March 28, 2024, Thursday
१५ चैत्र २०८०, बिहीबार

उम्मेदवारका बहुरङ्गी एजेण्डा

भैरहवा– स्थानीय तह निर्वाचनमा दलहरुले असम्भव, पूराना र रंगीचंगीका एजेण्डा अघि सारेका छन् । रुपन्देहीका १६ वटै पालिकामा अहिले दलहरुले घरदैलो गर्दै मतदाता भेटघाट गरिरहेका छन् । तर, उनीहरुका एजेण्डा परम्परागत, एकै किसिमका र पूरा गर्न नसकिने खालका छन् ।

Advertisement

२०७४ को निर्वाचनमा एमालेका उम्मेदवार शिवराज सुवेदीले बुटवल उपमहानगरपालिकामा झुम्सा खानेपानी आयोजना, सेमलार–मोतिपुर स्याटेलाइट सिटी बनाउनेलगायत दर्जन योजनाको एजेन्डा बनाएर निर्वाचित भए । तर, उनले आधा पनि काम गरेनन् । अहिले फेरि यहाँबाट एमाले उम्मेदवार बनेका बाबुराम भट्टराईले यस्तै पूरा गर्न कठिन हुने एजेन्डा सारेका छन् ।

Advertisement

तिलोत्तमामा एमालेका उम्मेदवार बासुदेव घिमिरेले निःशुल्क पानीदेखि विद्युत मशुल छुटका एजेण्डासहित निर्वाचित भए । उनले पनि काम गर्न सकेनन् । अहिले यहाँबाट एमाले उम्मेदवार मोहन चापागाईले पनि पूरा नै एडेण्डा अघि सार्दै मत मागिरहेका छन् । सिद्धार्थनगरमा एमालेका हरिप्रसाद अधिकारीले अघि सारेका योजना पनि आधा पूरा भएका छैनन् । निर्वाचनका मुखमा दलहरुले सधै असम्भव एजेण्डा अघि सार्छन् । तर निर्वाचन जितेपछि पूरा गर्न सक्दैनन् ।

मर्चवारलाई समृद्ध बनाउने, कृषि, शिक्षा, स्वास्थ्य रोजगारका योगनासहित २०७४ मा निर्वाचित जितेन्द्रनाथ शुक्लाले पनि यी क्षेत्रमा प्रभावकारी काम गर्न सकेनन् । अहिले माओवादी केन्द्रबाट उम्मेदवार बनेका उनले फेरि उनै पूरा एजेण्डा पूरा गर्न भन्दै मत मागिरहेका छन् । ‘मैले सुरुवात गरेका योजना पूरा गर्न र गरिबलाई आवस बनाउन, सिंचाईको व्यवस्था गर्न फेरि मेरो जित आवश्यक छ’, उनले भने ।

बैशाख ३० गते हुने स्थानीयत तह निर्वाचनका लागि सिद्धार्थनगर नगरपालिकाका मेयर पदका उम्मेदवारले पनि थरिथरिका एजेण्डा अघि सारेका छन् । उनीहरुले केही पूराना केही नयाँ योजना अघि सारेका हुन् । राष्ट्रिय जनमुक्ती पार्टीका हसनरजा मुसलवानले त नगरबासीको घरघरमा पुगेर निःशुल्क सेफ्टी ट्यांकी सफा गर्ने एजेन्डा अघि सारेका छन् । भैरहवामा व्यवस्थित सार्वजनिक शौचालयसमेत नभएको अवस्थामा उनको यो योजना कार्यान्यन गर्नेभन्दा मतदाता आकर्षित गर्ने खालको भएको सिद्धार्थनगर–९ की गितादेवी शर्मा बताउँछिन् ।

‘मैले धेरै उम्मेदवारको एजेण्डा हेरेँ, सबै चुनावी एजेण्डा मात्रै छन्, निर्वाचन जितेपछि आधा पनि कार्यान्वयन हुने खालका छैनन्’, उनले भनिन् । नेकपा एमालेका उम्मेदवार डा.रामप्रसाद बस्यालले आफूले पार्टीको र आफ्नो घोषणापत्र प्रत्येक नगरवासीको घर–घरमा पुर्याएको र सोही अनुसार कार्यान्वयन गर्ने बताउँछन् । उनले शिक्षा र स्वास्थ्य आफ्नो प्राथमिकता रहेको जनाए । नेपाली कांग्रेसका उम्मेदवार इस्तियाक अहमद खाँले नगरवासीको सपना सकार पार्न आफूले उम्मदेवारी दिएको बताउँदै भैरहवालाई ग्रीन, क्लिन शहर बनाउने जनाए ।

नेकपा (एकिकृत समाजवादी) का मेयर उम्मेदवार थमन पुन (कुलेन्द्र) ले आफूले पहिलो प्राथमिकतामा स्वास्थ्य क्षेत्र राखेको बताए । खेलकुद र खेलाडीलाई सम्बोधन गरिने बताउँदै उनले आफ्नो पारिश्रमिक एकल महिला र अति विपन्नहरुको सेवामा खर्च गर्ने जनाए । उनले रेलका ठूलाठूला सपना नबाँड्ने बताउँदै जनताको काम गर्न मत दिनुपर्ने बताउँछन् ।

जनता समाजवादी पार्टीका मेयर उम्मेदवार मात्रिकाप्रसाद यादवले सबै वडामा सामानान्तर विकास आफ्नो मूल एजेण्डा रहेको जनाएका छन् । उनले अहिले पनि नगरका ग्रामीण वडाहरु विकासको दृष्टिले पछि परेको बताउँदै बिशेष गरि वडा नम्बर ९, १०, ११ लगायतका पिछडीएका वडाहरुलाई समेटेर कृषिमा काम गर्ने बताए । ‘हिजो रेल र पानी जहाजका सपना बाँडिए, जनताले खोजेको विकास हो । न रेल आयो, न पानी जहाज । जनताले विकासको अनुभूति नै गर्न पाएनन् । त्यसैले नागरिकको जीवनमा प्रत्यक्ष सरोकार राख्ने विषय हाम्रो पार्टी र मेरो एजेन्डा हो’, पुनले भने ।