मेयर घिमिरेको दम्भ



भैरहवा– राजनीतिक शक्ति आर्जन गरेपछि नेताहरुमा कतिसम्मको दम्भ पलाउँछ भन्ने उदाहरण पेस गरेका छन्, रुपन्देहीको तिलोत्तमा नगरपालिकाका मेयर बासुदेव घिमिरेले । २०७४ को स्थानीय तह निर्वाचनमा एमालेबाट तिलोत्तमाको मेयरमा निर्वाचित उनी अहिले पदमै बहाल छन् ।
एमालेले उनलाई पाखा लगाएर संचार उद्यमीसमेत रहेका एमाले नेता मोहन चापागाईंलाई तिलोत्तमामा मेयरको उम्मेदवार बनाएको छ । घिमिरेलाई एमालेले तिलोत्तमा नगर कमिटिको निर्वाचन परिचालन कमिटीको संयोजक बनाएको छ । तर पदमै रहेका बेला निर्वाचन आचासंहिताको खिल्ली उडाउँदै मिघिरे पार्टीको निर्वाचन परिचालन कमिटी संयोजक बनेका छन् ।
आइतबार राती एमालेले आयोजना गरेको पत्रकार सम्मेलनमा घिमिरेले आचारसंहिता उल्लंघन गरेवापत् कारबाही गर्न निर्वाचन आयोगलाई चुनौती दिए । आयोगलाई चुनौती दिँदै उनले भने, ‘मैले निर्वाचन आचारसंहिता उल्लंघन गरिरहेको छु, पार्टीको निर्वाचन परिचालन कमिटीको संयोजक बनेको छु, मैले आचारसंहिता उल्लंघन गर्दा कारबाही गर्न सके गरे हुन्छ ।’
यसो भनिरहँदा उनमा दम्भ देखिन्थ्यो । कसैले उनलाई केही गर्न नसक्ने आफै सर्वपरी हुँ भन्ने उनको अहंकार झल्किन्थ्यो । मेयर हुँदा राम्रा काम गरेको भनेर चर्चामा आएको उनको पत्रकार सम्मेलनमा देखिएको दम्भले उनी आफैलाई क्ष्ति पुर्याएको स्वयं एमाले नेताहरु बताउँछन् ।
एमाले तिलोत्तमाका प्रमुख, उपप्रमुख उम्मेदवारसँग गरिएको पत्रकार सम्मेलनको अध्यक्षता गरेका उनले आचारसंहिता उल्लंघन गर्नु सामान्य भएको भन्न समेत भ्याए । ‘म पार्टीको कार्यकर्ता हुुँ र अहिले म नगरप्रमुख पनि हुँ, मलाई पार्टीले जिम्मा दियो, म निर्वाचन परिचालन कमिटीमा छु, कसैले यसले आचारसंहिता उल्लंघन गर्यो भन्ने लाग्छ भने कारबाही गर्नुस् ।’
घिमिरेले खुलमखुल्ला आयोगलाई चुनौति मात्रै दिएनन्, आफूलाई कसैले पनि केही गर्न नसक्ने धम्कीपूर्ण शब्दहरुको प्रयोग पनि गरे । लाग्छ, उनी नै सर्बैसर्वा हुन् । यसो भनिरहँदा घिमिरेले मन्त्री र ठूला नेताहरुले हेलिकोप्टरमा चुनाव प्रचारमा हिडिरहँदा कारबाही नभएको भन्दै आफूमाथि पनि कारबाही हुन नसक्ने संकेत गरेका थिए ।
मतदाता प्रभावित गर्ने गरी जुनसुकै योजना ल्याउनपनि सक्ने भन्दै उनले अर्को चुनौति दिए । बहालवाला मेयर उनले उनले अहिले पनि आफु नगर प्रमुख रहेकाले मतदाता प्रभावित गर्ने काम गर्न सक्ने बताए । उनले भने, ‘मैले अहिले बजेट खर्च हुने काम नगरौँला, तर मतदाता प्रभावित गर्ने गरी जुनसुकै घोषणा गर्नसक्छु, मैले घोषणा गरिदिए पुग्छ, मलाई कसले रोक्छ ?’ यसो भन्दै उनले अर्को चुनौति दिए ।
घिमिरेले पत्रकारहरुप्रति पनि असन्तुष्टि व्यक्त गरेका थिए । ‘तपाइँहरुले विपक्षीहरुको कुरा सुन्नुभएको छ, अझै पनि म नै नगर प्रमुख हुँ, म जे पनि निर्णय गर्नसक्ने अधिकार राख्छु, मेरा कामकाबारेमा लेखिदिनुहोला ।’ उनले चुनावमा उम्मेदवार बनेका प्रतिष्पर्धीहरुको समेत आलोचना गर्दै तिलोत्तमामा चुनाव जित्ने सपना नदेख्न आग्रह गरेका थिए । प्रमुख घिमिरेसँगै तिलोत्तमा नगरपालिकाका प्रवक्ता रहेका सुरेन्द्र श्रीले पनि आचारसंहिताविपरीत जिम्मेवारी लिएका छन् ।
उनी नगरको जनप्रतिनिधितर्फको प्रवक्ता वहाल रहेकै अवस्थामा एमाले निर्वाचन प्रचारप्रसार समितिको जिम्मेवारी लिएका हुन् । पत्रकार सम्मेलनमा उम्मेदवारहरु मोहन चापागाइँ र जागेश्वरीदेवी चौधरीले आफूले गरेका प्रतिवद्धता पूरा गर्ने जनाएका थिए ।
निर्वाचन आयोगको ध्याकर्षण
यसैबीच तिलोत्तमा नगरपालिकाका मेयर वासुदेव घिमिरेले निरन्तर आचारसंहिता उल्लंघन गरेको भन्दै निर्वाचन आयोगले ध्यानाकर्षण भएको जनाएको छ । तिलोत्तमाका निर्वाचन अधिकृत माधवप्रसाद लोहनीले मेयर घिमिरेले आचारसंहिता उल्लंघन गरेको विषयमा आयोगको ध्यानाकर्षण भएको बताए ।








प्रतिकृया दिनुहोस्