April 18, 2024, Thursday
६ बैशाख २०८१, बिहीबार

लुम्बिनीमा अर्जुन कुर्मी ‘गेम चेन्जर’ बन्दै

लुम्बिनी– मुलुक अहिले स्थानीय तह निर्वाचनको रापतापमा छ । यस्तो बेला चितवनको भरतपुरको चर्चा सर्वाधिक छ । यसको कारण सत्ता साझेदार गठबन्धनबिरुद्ध नेपाली कांग्रेसका नेता जगन्नाथ पौडेलले दिएको स्वतन्त्र उम्मेदवारी हो । पाँच वर्षअघि गणनाका क्रममा मतपत्र च्यातिएपछि लामो समय भरतपुर महानगर चर्चामा थियो । अहिले उम्मेदवारी मनोनयनदेखि चर्चामा छ ।

Advertisement

ठूलो दबाब र प्रभावले नगलेका जगन्नाथले निर्वाचन कार्यालयबाट ‘भुँइकटहर’ चुनाव चिन्ह प्राप्त गरेपछि थप चर्चा भइरहेको छ । यस्तै चर्चा अहिले रुपन्देहीको लुम्बिनी सांस्कृतिक नगरपालिकामा पनि भइरहेको छ । यहाँ भने ओझेलमा परेको छ । बुद्ध जन्मस्थल लुम्बिनीको चुनावी चर्चाको मियो संरक्षणकर्मी ३४ वर्षीय अर्जुन कुर्मी बनेका छन् ।

Advertisement

उनले कुनै दलबाट स्वतन्त्र उम्मेदवारी दिएका होइनन् । लुम्बिनीलाई विश्वस्तरको सहर बनाउने लक्ष्यसहित उनले लुम्बिनी सांस्कृति नगरपालिकाको उपप्रमुख (उपमेयर) पदमा उम्मेदवारी दर्ता गराएको बताएका छन् । चितवनका जगन्नाथ जस्तै कुर्मीले पनि भुँइकटहर चुनाव चिन्ह पाएका छन् । चुनाव चिन्ह र उम्मेदवारको प्रभावका कारण अहिले चितवनका स्वतन्त्र उम्मेदवार पौडेल र लुम्बिनीका कुर्मीको तुलना हुन थालेको छ ।

पौडेल पाका राजनीतिकर्मी हुन् । कुर्मी युवाहरु माझ भिजेका संरक्षण र सामाजिक अभियन्ता हुन् । बिगत पाँच वर्ष जनप्रतिनिधि नभए पनि नागरिकको ‘सेवक’का रुपमा बिताएको कुर्मीले बताए । सांस्कृतिक नगरपालिकाका तत्कालीन प्रमुख मनमोहन चौधरीको निकट रहेर पूर्वाधार र सामाजिक बिकासमा जनतासित हातेमालो गरेको उनको भनाई छ ।

अर्कातर्फ लामो समयदेखि संरक्षणका क्रियाकलापमा सहभागी हुँदै आएको उनले बताए । लुम्बिनीको पर्यावरण र दूर्लभ सारस संरक्षणमा उनको विशेष योगदान छ । संरक्षण मार्फत् स्थानीय युवालाई एकजुट राख्न सफल रहेको उनले बताए । ‘युवाको हकहित र बिकास मेरो मुख्य एजेण्डा हो,’ उनले भने, ‘जमाना परिवर्तन भइसक्यो, हामी जहाँको त्यहीं छौं ।’ सोचमा परिवर्तन ल्याउन नसक्दा वर्षौदेखि सिमित व्यक्तिले राजनीतिमा रजगज चलाउँदैं आएको उनले बताए ।

‘ती सिमित व्यक्तिबिरुद्ध कसैले प्रतिष्पर्धा गर्न सकिरहेका छैनन्,’ उनले भने, ‘त्यसैले युवाहरुको आकांक्षा अनुसार म उम्मेदवार बनेको हुँ ।’ यस्ता सिमित नेताहरुले आफ्नो स्वार्थ पूर्तिका लागि नयाँ पुस्तालाई अवसरै नदिएको उनले बताए । ‘नेता र दलले पुराना कार्यकर्ता मात्रै हेर्छन्,’ उनले भने, ‘ठूला नेताको चाकडी गर्नेलाई मात्र महत्व दिन्छन् ।’

यसअघि उनी विभिन्न दल निकट पुगेका थिए । त्यसक्रममा नेताको चाहना झोला बोकाउने मात्र रहेको बुझेपछि आफूले स्वतन्त्र उम्मेदवारी रोजेको उनले बताए । ‘दलहरुबाट पनि अफर आएको थियो,’ उनले भने, ‘तर, त्यो आफ्ना उम्मेदवार जिताउने भूमिकाका लागि मात्र थियो ।’

सानै उमेरदेखि मतदाताको नजिक रहेर काम गरेकाले आफ्नो जनसम्पर्क राम्रो रहेको उनले बताए । लुम्बिनी सांस्कृतिक नगरपालिकामा गठबन्धन दलभित्र एकता छैन । गठबन्धनमा आवद्ध दल आफ्नै किसिमले प्रतिष्पर्धामा छन् । सबै दलका उम्मेदवार छन् । एमाले विभाजन भएपछि मतदाता विभाजित मनस्थितिमा छन् । मधेशबादी दल छिन्नभिन्न छन् ।

त्यसैले यहाँ कसैसित पनि एकमुष्ट जनमत छैन । ‘म सित सबै उमेर समूहका मतदाता छन्, युवाहरुको मप्रति क्रेज छ,’ कुर्मीले दाबी गरे, ‘अहिलेको परिस्थितिमा म लुम्बिनीको ‘गेम चेन्जर’का रुपमा छु ।’ स्पष्ट अडानसाथ जनताका पीडा राख्न सक्ने क्षमता र लुम्बिनी बिकासको भिजन आफूसित रहेकाले मतदाताले पत्याउने उनले बताए ।

उनले शनिवार अबेर मात्र चुनाव चिन्ह प्राप्त गरेका थिए । त्यसैले आइतबारबाट फरक शैलीमा घरदैलो सुरुवात गरेको बताए । ‘अब घरदैलो मार्फत मतदाताको आशिर्वाद लिन्छु,’ उनले भने, ‘यसपटक लुम्बिनी सांस्कृतिक नगरपालिकामा जितेर देखाउँछु ।’ युवाहरु उनको साथमा हुँदा सबै दल दंग छन् ।

उनलाई साथमा लिए मेयर भए पनि जित्न सकिन्छ की भनेर विभिन्न रणनीतिसाथ फकाउने आफूतिर तान्ने कोसिस गरिरहेका छन् । धेरैले अहिले कुर्मीको साथ जुन मेयरका उम्मेदवारतिर रहन्छ, उसले नै मेयर जित्ने आँकलन गरेका छन् । कतिपयले उनलाई ‘गेम चेन्जर’ भन्ने गरेका छन् ।

यस्ता छन् एजेण्डा
लामो समयदेखि पर्यावरण संरक्षण क्षेत्रमा क्रियाशील रुपन्देहीका युवा अर्जुन कुर्मीले लुम्बिनीको विकासका लागि एक दर्जन हाराहारी एजेण्डा तय गरेका छन् । ‘लामा–लामा आश्वासनका पोका म बनाउदिनँ,’ उनले भने, ‘लुम्बिनीमा जे आवश्यक छ, त्यही कुरा भन्छु र गरेर देखाउँछु ।’ अहिलेसम्म लुम्बिनी बिकास कोष र स्थानीयबीच सम्बन्ध बिस्तार हुन नसकेको जनाउँदै उनले भने, ‘अब म लुम्बिनी बाहिर मध्यवर्ती क्षेत्रको अवधारण ल्याएर काम गर्न चाहन्छु । त्यसैले कोषको आम्दानी स्थानीयसम्म आउँछ ।’

आफूले उपप्रमुखमा बिजय प्राप्त गरे लुम्बिनी बिकास कोष र नगरपालिकाको सम्बन्ध सुमधुर बनाउन पहल गर्ने बताए । युवा र लुम्बिनीका आधारभूत आवश्यकता समेटेर आफ्ना एजेण्डा बनाएका छन् । ‘मैले जिते भने एक घर, एक उद्यमी तयार गर्छु,’ उनले भने, ‘लुम्बिनीका युवाका लागि खेल मैदान मेरो प्राथमकिता हो ।’ किसानलाई मल र बीउ अनुदानका लागि ‘कृषि कार्ड’ लागू गर्ने उनले बताए ।

‘सिंचाइँ समस्या समाधान गर्छु,’ उनले भने, ‘लुम्बिनीलाई निःशुल्क वाइफाई जोन बनाउँछु ।’ जिल्लाकै उत्तरी क्षेत्रमा रहेका सामुदायिक विद्यालयको स्तर सुधार भएको जनाउँदैं लुम्बिनीका विद्यालयलाई आधुनिकिकरण गर्ने योजना रहेको उनले सुनाए । ‘खुला जिमशाला तयार गर्छु,’ उनले भने, ‘छोरीका लागि प्रविधिमा आधारित शिक्षा व्यवस्था गर्नेछु ।’ नगरपालिकामा रहेका रिक्सा, ट्याक्सी र अन्य वाहनलाई लुम्बिनी बिकास कोषभित्र प्रवेशमा लाग्दै आएको शुल्क हटाउन पहल गर्ने उनले बताए ।

‘होमस्टे सञ्चालन गरेर आय बढाउने योजना छ,’ उनले भने, ‘संरक्षण र वातावरणको क्षेत्रमा विशेष योजना ल्याउनेछु ।’ अन्तर्राष्ट्रिय लगानी भित्र्याउन भूमिका खेल्ने र दीर्घ र समस्याग्रस्त रोगीको उपचार निःशुल्क गर्ने उनले बताए । ‘कालीदहमा रहेको छोटी भन्सार स्तरोन्नतीका लागि पहल गर्नेछु,’ उनले भने । उनी ग्रीन युथ क्लब लुम्बिनीका अध्यक्ष हुन् । उनको क्लबमा अहिले पनि एक हजार युवा सदस्य रहेको उनले बताए । ‘ती एक हजार सदस्यका परिवारले मलाई भोट हाल्नुहुन्छ,’ उनले भने, ‘मेरो जीतको आधार यिनै हुन् ।’

लामो समय सामाजिक परिचालक र विभिन्न गैरसरकारी संस्थामा काम गर्ने शिलशिलामा स्थानीय जनतासित गांसिएकाले उनीहरुको भावना बुझेको र आफू परिचित रहेको उनले बताए । उनले लुम्बिनीका सबै युवाहरुको साझा उम्मेदवार आफू भएकाले सबैको साथ र सहयोग रहनेमा विश्वस्त भएको बताए ।