December 12, 2024, Thursday
२०८१ मंसिर २७

रूपन्देहीका पालिकामा कुन दल बलियो ?

भैरहवा– स्थानीय तह निर्वाचन नजिकिएसँगै राजनीतिकरुपमा विभिन्न अड्कलबाजी सुरु भएका छन् । २०७४ को स्थानीय निर्वाचनमा रुपन्देहीका धेरै पालिकामा जित हात पारेको एमालेले यसपल्ट पनि यसलाई दोहोर्याउन चाहन्छ । सत्तासिन पाँच दलीय गठबन्धनले जसरी पनि एमालेलाई हराउने राणनीति बनाइरहेका छन् ।

राजनीतिरुपमा विभिन्न अड्कलबाजी भइरहेका बेला दलहरुमा भने उम्मेदवार छनोटमै रस्साकस्सी छ । आकांक्षी धेरै हुँदा दलहरुलाई एकल उम्मेदार टुंगो लगाउन हम्मेहम्मे परेको छ । यही बीचमा सत्ता गठबन्धनमा आबद्ध दलहरुले जसरी हुन्छ एमालेलाई हराउने भन्दै दैनिकजसो छलफल र बैठकहरु गरिरहेका छन् ।

Advertisement

एमालेको धरातल कमजोर भएका रुपन्देही ६ पालिकामा गठबन्धन नगर्ने सहमति पनि गरिसकेका छन् । १६ स्थानीय तहमध्ये जिल्लाको दक्षिणी भेगमा पर्ने लुम्बिनी सांस्कृतिक नगरपालिका तथा मर्चवारी, सम्मरीमाई, कोटहीमाई, मायादेवी र गैडहवा गाउँपालिकामा छुट्टाछुट्टै चुनाव लड्ने गठबन्धनमा आवद्ध दलहरूबीच सहमति भएको हो । यी पालिकामा एमाले केही कमजोर छ ।

जिल्लामा नेकपा एमाले एक्लिएको अवस्था छ । १० पालिकामा सत्तारुढ गठबन्धनले साझा उम्मेदवारीको तयारी गरेका छन् भने एमालेले कोसँग चुनावी तालमेल गर्छ भन्ने प्रस्ट भइसकेको छैन । विगतमा एमालेको बाहुल्यता रहेको यो जिल्लामा एमालेलाई पराजित गर्ने रणनीतिसहित सत्तारुढ गठबन्धन घटकले पालिका तहसम्म संयन्त्र बनाउँदै छन् । यद्यपि कुन पालिकामा कुन पद कुन दललाई दिने भन्नेबारे टुङ्गो लगाउन सत्तारुढ गठबन्धनलाई हम्मेहम्मे परेको छ ।

यहाँ हामीले अघिल्लो निर्वाचनको मतलाई आधार मानेर ठुला पार्टीको तहगत रुपमा विश्लेषण गर्ने प्रयास गरेका छौं ।

बुटवल उपमहागनरपालिका
गएको २०७४ को निर्वाचनमा बुटवल उपमहानगरपालिकामा नेकपा एमालेले जित हात पारेको छ । नेपाली काँग्रेस र नेकपा माओवादी केन्द्रबीच गठबन्धन भएको थियो । गठबन्धनलाई हराउँदै नेकपा एमालेका उम्मेदवार शिवराज सुवेदी मेयरमा निर्वाचित भएका थिए । यहाँ एमालेले २३ हजार २४९, कांग्रेसले २० हजार ८५१ र जनमुक्ति पार्टीले १ हजार १५१ मत पाएका थिए ।
अहिले एमाले विभाजनपछि नेकपा एकीकृत समाजवादी पार्टी गठन भएको छ । पार्टी विभाजनपछि एमाले कमजोर भएको दावी सत्ताघटकको छ । तर एमालेले यहाँ आफ्नो संगठन बलियो भएकाले जित हासिल गर्ने दावी गरिरहेको छ । गठबन्धन हुँदा एमालेलाई यहाँ निर्वाचन जित्न पक्कै पनि कडा मिहेनत गर्नुपर्छ । एमालेमा फुट, गठबन्धन बलियो हुनु र समाजवादीको राम्रो प्रभाव हुँदा यहाँ गठबन्धन पनि बलियो देखिएको छ । यहाँ गठबन्धनबाट काँग्रेस र एकीकृत समाजवादीले दावी गरिरहेका छन् ।

तिलोत्तमा नगरपालिका
तिलोत्तमा नगरपालिकामा अघिल्लो निर्वाचनमा मेयर एमालेले जितेको थियो । एमालेले २१ हजार ८६८, कांग्रेसले १९ हजार ९४ र माओवादीले २ हजार ६५१ मत पाएका थिए । यहाँ काँग्रेस र जनमुक्ती पार्टीबीच तालमेल भएका थियो । अहिले गठबन्धनका तर्फबाट यहाँ नेपाली काँग्रेस प्रमुख दाबेदार छ । विगतमा निकटतम प्रतिस्पर्धी बनेको नेपाली काँग्रेसले अहिले जनमत आफ्नो पक्षमा रहेको दाबी गर्दै आएको छ । यो पालिकाको मेयरमा नेकपा माओवादी केन्द्रको पनि दाबी छ ।

सैनामैना नगरपालिका
यो नगरपालिका अघिल्लो निर्वाचनमा नेकपा एमालेले जितेको थियो । एमालेले १३ हजार ३६, कांगे्रसले १० हजार ३०५ र माओवादीले २ हजार ४१७ मत प्राप्त गरेको थियो । अहिले यहाँ एमाले बलियो छ । सत्तारुढ गठबन्धनका तर्फबाट नेपाली काँग्रेस नै प्रमुख दाबेदार छ भने माओवादी केन्द्र, जसपा नेपाल र नेकपा एकीकृत समाजवादीले पनि मेयरमा दाबी गर्न थालेका छन् । एमालेबाट हालका मेयर चित्रबहादुर कार्की नै मुख्य दावेदार हुन् । यहाँ गठबन्धन हुँदा पनि एमाले बलियो मानिन्छ ।

सिद्धार्थनगर नगरपालिका
अघिल्लो निर्वाचनमा सिद्धार्थनगर नगरपालिकामा एमालेले जितेको थियो । सिद्धार्थनगरमा एमालेले ६ हजार ७०५, कांग्रेसले ५ हजार २५०, राप्रपाले ४ हजार ६३७ र माओवादीले ३ हजार ४०७ मत पाएका थिए । अहिले सत्तारुढ गठबन्धनभित्र यो पालिकाको मेयरमा तीन दलको दाबी देखिन्छ । एमालेबाट उपमेयर बनेकी उमा काफ्ले अहिले नेकपा एकीकृत समाजवादीतिर लागेकी छन् । उनलाई यहाँ मेयरको उम्मेदवार बनाउन नेकपा एकीकृत समाजवादीले गठबन्धनसँग माग गर्ने तयारी गरेको छ । यस्तै जसपा नेपालले पनि आफ्नो संगठन बलियो भएकोले मेयरमा दाबी गर्ने जनाएको छ । यहाँ नेपाली काँग्रेसको पनि राम्रै पकड रहेकाले उसले पनि स्वाभाविक रूपमा मेयरका लागि दाबी गर्दै आएको छ । एमालेले आफ्नो संगठन बलियो भएकाले जित्ने दावी गरिरहेको छ ।

देवदह नगरपालिका
देवदह नगरपालिकामा अघिल्लो निर्वाचनमा मेयरमा नेपाली काँग्रेस र उपमेयरमा नेकपा एमालेले जित हासिल गरेका थिए । त्यसबेला कांग्रेसले १० हजार २११, एमालेले १० हजार ९९ र राप्रपाले ६ सय ७६ पाएका थिए । यहाँ अहिले पनि मेयरमा नेपाली काँग्रेसले दाबी गरिरहेको छ । सत्तारुढ गठबन्धनभित्रबाटै नेकपा एकीकृत समाजवादी र माओवादी केन्द्रले पनि यहाँ मेयरमा दाबी गरिरहेका छन् । यो पालिकामा माओवादीको संगठन मजबुत रहेको भन्दै सो पार्टीका जिल्ला अध्यक्ष निर्मल जिसीले मेयर पदमा स्वाभाविक रूपमा दाबी रहने बताए । यहाँ एमालेले पनि संगठन बलियो भएकाले यसपल्ट बाजी मार्ने दावी गरेको छ ।

लुम्बिनी सांस्कृतिक नगरपालिका
अघिल्लो निर्वाचनमा लुम्बिनी सांस्कृतिक नगरपालिकामा स्वतन्त्र उम्मेदवार मनमोहन चौधरीले ८ हजार १७५ मतसहित जित हात पारेका थिए । यहाँ तत्कालीन संघीय समाजवादीले ७ हजार ३९ र तत्कालीन मधेशी जनअधिकार फोरमले ३ हजार ५७५ मत पाएका थिए । अहिले अवस्था फेरिएको छ । स्वतन्त्र निर्वाचित चौधरी जनता समाजवादी पार्टी प्रवेश गरेका छन् । यहाँ जसपा नेपालको पकड बलियो छ । यो नगरपालिकाको मेयर जसपा नेपालकै भएकाले पनि उसले आसन्न निर्वाचनमा पनि पालिका प्रमुखमै स्वाभाविक रूपमा दाबी गरेको छ । अघिल्लो निर्वाचनको जनमतलाई आधार मानेर यहाँ सत्तारुढ गठबन्धनभित्रका अन्य दलले पनि जसपा नेपाललाई नै मेयर दिएर अन्य पदका लागि भागबण्डाको तयारी गरेका छन् ।

नेपाली काँग्रेस, जसपा नेपाल र माओवादी केन्द्रले विभिन्न स्थानीय तहमा दाबी गरिरहेका छन् भने नेकपा एकीकृत समाजवादी र राष्ट्रिय जनमोर्चाले पनि आफ्नो दाबी छाडेका छैनन् । स्थानीय तहको निर्वाचनमा गठबन्धन गरेर अगाडि बढ्ने उद्घोष गरेर सत्तारुढ पाँच दलले रुपन्देही जिल्लाका १६मध्ये वटा स्थानीय तहमा संयन्त्र निर्माण गरी गठबन्धनलाई बलियो बनाउने निर्णय गरेका छन् । यद्यपि, पालिका प्रमुखमा गठबन्धन घटककै बीचमा हानथाप पनि भइरहेको छ ।

जसपाले विगतमा १ नगरपालिकासहित ४ गाउँपालिका जितेको र नयाँ अवस्थामा ४ वटा स्थानीय तहमा पनि पार्टीको अवस्था सुधार भएको भन्दै ती ठाउँमा दाबी गरेको छ । जसपा नेपालले लुम्बिनी सांस्कृतिक नगरपालिका, रोहणी गाउँपालिका, मर्चवारी, कोटहिमाई, गैडहवा गाउँपालिकामा दावी गरेको छ ।

अघिल्लो निर्वाचनमा ओमसतिया गाउँपालिकामा माओवादीले २ हजार ४४२, तत्कालीन संघीय समाजवादी हाल जसपाले २ हजार ३११ र कांग्रेसले २ हजार ११ मत पाएका थिए । यहाँ माओवादीबाट निर्वाचित गाउँपालिका अध्यक्ष हिरा केवट एमाले प्रवेश गरेका छन् । यद्यपि माओवादीले आफ्नो दावी गरेको छ । कंचन गाउँपालिकामा एमालेले ६ हजार ७७७, कांग्रेसले ५ हजार ९६७ र जनमुक्तिले ६६१ मत पाएका थिए ।

यस्तै, कोटहीमाई गाउँपालिकामा संघीय समाजवादी हाल जसपाले ३ हजार ३११, कांग्रेस ३ हजार १८९ र स्वतन्त्रले ३ हजार १४४ मत पाएका थिए । यहाँ जसपा र काँग्रेस मुख्य प्रतिस्पर्धी हुन् । गैडहवा गाउँपालिकामा तत्कालीन संघीय समाजवादी हाल जसपाले ५ हजार ४११, कांग्रेसले ३ हजार ४१८ र एमालेले ३ हजार १४८ मत पाएका थिए । मर्चवारी गाउँपालिकाका संघीय समाजवादी हाल जसपाले ३ हजार ४०५, कांग्रेसले २ हजार १६६ र स्वतन्त्रले २ हजार १२२ मत पाएका थिए ।

मायादेवी गाउँपालिकामा कांग्रेसले २ हजार ८१६, स्वतन्त्रले २ हजार २५२ र बहुजन पार्टीले २ हजार ५६ मत पाएका थिए । यसैगरी रोहिणी गाउँपालिकामा संघीय समाजवादी हाल जसपाले ३ हजार ७६०, राप्रपाले ३ हजार ५४२ र कांग्रेसले २ हजार ४५१ मत पाएका थिए । अहिले यहाँ जसपाबाट निर्वाचित गाउँपालिका अध्यक्ष सनोजकुमार यादव एमाले प्रवेश गरेका छन् । यहाँ गठबन्धन, एमाले र राप्रपाबीच नै यसपल्ट मुख्य प्रतिस्पर्धा हुने देखिन्छ ।

शुद्धोधन गाउँपालिकामा एमालेले ५ हजार ३७१, कांग्रेसले ५ हजार १६, तत्कालीन संघीय समाजवादी हाल जसपाले २ हजार ८२ र माओवादीले १ हजार ३४८ मत पाएका थिए । सम्मरीमाई गाउँपालिका तत्कालीन मधेशी जन अधिकार फोरम हाल माओवादी ३ हजार ६६, कांग्रेसले २ हजार १९६ र स्वतन्त्र १ हजार ९७९ मत पाएक थिए । सियारी गाउँपालिकामा एमालेले ६ हजार ५२, कांग्रेसले ५ हजार ४०० र संघीय समाजवादी फोरकम हाल जसपाले २ हजार ४९८ मत पाएका थिए ।

जसपाले जिल्लाका कम्तीमा ८ स्थानीय तहको प्रमुखमा दाबी गर्ने योजना बनाएको छ । जसपाले दाबी गरेका ठाउँमा नेपाली काँग्रेसले पनि दाबी गरेको छ । माओवादी केन्द्रका रुपन्देही जिल्ला अध्यक्ष निर्मल जिसी पनि जिल्लाका कम्तिमा ८ पालिकामा माओवादी केन्द्रले दाबी गर्ने तयारी गरेको छ । गठबन्धन दलभित्र बुटवल उपमहानगर, देवदह र सिद्धार्थनगर नगरपालिकाको नेतृत्व टुङ्ग्याउन सकस पर्ने देखिन्छ । काँग्रेसले देवदह नगरपालिकामा अघिल्लो चुनावमै जित हासिल गरेको तथा बुटवल उपमहानगरका अतिरिक्त तिलोत्तमा, सिद्धार्थनगर र सैनामैना नगरपालिकामा पार्टीको संगठन बलियो भएको जिकिर गर्दै पालिका प्रमुखमा दाबी गरेको छ । ती पालिकामा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीले पनि दाबी गरेका छन् ।