पोलेथिनको पन्जा, उभिरै बिरामी जाँच



भैरहवा- औषधि पसल भन्दा सुधारिएको र आरामदायी तरिकाबाट चिकित्सकले बिरामी जाँच्ने र परामर्श दिने स्थललाई क्लिनिक भनिन्छ । यस बाहेक स्वास्थ्यसँग सम्बन्धित मापदण्ड पूरा गरेपछि मात्रै क्लिनिक दर्ता गरिन्छ । बेलाबेला स्वास्थ्य कार्यालयले मापदण्ड पालना भए/नभएको अनुगमन गर्नुपर्ने उल्लेख छ ।
मापदण्ड पूरा नगर्ने क्लिनिकको दर्ता खारेजसम्म हुन्छ । तर, रुपन्देहीको सदरमुकाम भैरहवास्थित एक क्लिनिकले स्वास्थ्य मापदण्डको खिल्ली उडाएको पाइएको छ । उक्त बाल क्लिनिकमा पुग्नेले दिक्दार लाग्दा दृश्य देख्नुपर्छ । शिशु र बालबालिकालाई त्यस्तो अव्यवस्थाबारे ज्ञान नहुन सक्छ । उनीहरुलाई जचाउन लैजाने अविभावकले समेत स्वास्थ्यकर्मी र क्लिनिक सञ्चालकको मनपरी हेरेर बस्ने गरेको पाइयो ।
भैरहवाको मुख्य बजारमा रहेको श्रीवास्तव बाल स्वास्थ्य क्लिनिकमा शुक्रबार उदेक लाग्दो दृश्य देख्नु पर्यो । उक्त क्लिनिकको बाहिर बाल क्लिनिक र डा. अजय श्रीवास्तव लेखिएको छ । साथै अर्कोपट्टि भित्तामा श्रीवास्तव बाल क्लिनिक उल्लेख गरिएको छ । त्यसको मुनी चिकित्सकको विवरण उल्लेख गरिएको छ । त्यहाँ २४ सैं घण्टा आपतकालीन सेवा प्रदान गरिने उल्लेख छ ।
बिहीबार बिहानैदेखि क्लिनिकमा भीड थियो । क्लिनिकको अगाडि औषधि खरिद गर्ने थिए । पश्चिमपट्टि रहेको सांघुरो बाटोमा बिरामी शिशु बोकेर उभिएका थिए । बिहान क्निनिकमा पुग्नासाथ एक व्यक्तिले बिरामीको भीड छिचोलेर अगाडि आउन भने । उनले चिकित्सकको विवरण उल्लेख गरिएको कागज अघि बढाउँदैं बिरामीको नाम र उमेर सोधे ।
तपाइँलाई एक छिनमा बोलाउँछु,’उनले भने, उभिदैं गर्नुस् ।’ त्यहाँ धेरै बिरामीका अविभावक उभिएकै थिए । काखमा बच्चा च्यापेर उभिएका थिए । बच्चा रोइरहेका थिए । उक्त क्लिनिकमा सेवा लिने/दिने काम उभिएरै हुने रहेछ । औषधि बेच्ने उभिएका थिए । दर्ता गर्ने व्यक्तिलाई भ्याइनभ्याई थियो । हुँदाहुँदा चिकित्सकले समेत उभिएरै बिरामी जाँचिरहेका थिए ।
अरु क्लिनिकमा चिकित्सकको कक्ष हुन्छ । त्यहाँ एउटा बेड हुन्छ । भित्तामा बिरामीलाई चेतना फैलाउने चित्र र पोष्टर राखिएका हुन्छ । दराजमा किताब हुन्छन । यहाँ भने केही थिएन । काउण्टरको एक छेउमा घाँटीमा आला भिरेर एक व्यक्ति उभिएका थिए । सायद उनी चिकित्सक थिए । उनले मास्क लगाएका थिए । चिकित्सक र बिरामीको बीचमा शिशा थियो ।

शिशामा एउटा प्वाल थियो । शिशु र बच्चा सुताउने ठाउँ थिएन । काउण्टरको साँघुरो फलेकमा बच्चा सुताउँदा चिच्याउने गर्थे । ती चिकित्सकले शिशाको प्वालबाट हात हालेर बिराम छामछुम गर्थे । घरी निधार, छाती छाम्थे । अविभावकसित लामो कुराकानी गरेको समेत सुनिएन ।
बिरामी जाँच्ने व्यक्तिको मुखमा मास्क थियो । तर, हातमा सर्जिकल पन्जा थिएन । उनले दायाँ हातमा रातो पोलेथिनको झोला घुसाएका थिए । त्यसैले बिरामी बच्चा छामछुम गर्थे । ‘डाक्टरले यस्तो पन्जा लगाएको कहिल्यैं देखेको थिएन,’ बिहीबार आफने बच्चा लिएर जचाउन पुगेका एक व्यक्तिले भने, ‘पोलेथिन कसरी पन्जा हुन्छ ।’
उनले व्यक्त गरे जस्तै सबैको मनमा जिज्ञासा थिए । कसैले प्रश्न गरिरहेका थिएनन् । नाङ्गो फलेकमा बच्चा पल्टाएर जाँचेको दृश्य उदेक लाग्दो थियो । चिकित्सकको परामर्शले आधा बिराम निको हुन्छ भनिन्छ । तर, यहाँ बिरामीका अविभावक र चिकित्सकबीच कुराकानी अभाव देखियो ।
अगाडि जचाँएपछि बालबालिकालाई अलि भित्र रहेको खाली ठाउँमा पठाउने गरिन्थ्यो । त्यहाँ शिशुको चिच्याहट थियो । प्रयोगशाला रहेछ । रगत झिक्ने क्रममा शिशु रोएका रहेछन् । रगत झिक्ने व्यक्तिले एप्रोन लगाएका थिएनन् । उनी स्वास्थ्यकर्मी हुन/होइन परिचय पत्र समेत थिएन । क्लिनिकमा कुरुवाका लागि बस्ने व्यवस्था हुन्छ । यहाँ केही थिएन । सबै उभिएरै सेवा लिइरहेका थिए ।
यस्तो व्यवस्थापनबारे जिज्ञासा राख्दा अघि बिरामीको नाम दर्ता गर्ने व्यक्तिले भने, ‘तपाई जान सक्नु हुन्छ ।’ क्लिनिकमा बिरामी जाँच्ने कक्ष छैन भनेर सोध्दा घाँटीमा आला झुण्डयाएका व्यक्तिले चासो दिएनन् । उनले फेरि दायाँ हातमा पोलेथिनको झोला घुसारेर नवजात शिशुलाई छामछमु गर्न थाले । (पब्लिक कुरा टिमले देखेको जस्ताको तस्तै यहाँ प्रस्तुत गरिएको हो ।)








प्रतिकृया दिनुहोस्