December 12, 2024, Thursday
२०८१ मंसिर २७

चुनावको मुखमा शिलान्यास र उद्घाटन गर्नै भ्याइनभ्याइ

भैरहवा– लुम्बिनी प्रदेशका जनप्रतिनिधिलाई स्थानीय तह निर्वाचन पूर्व काम देखाउने जोश चलेको छ । त्यसैले उनीहरुबीच चुनावको मुखमा मतदाता रिझाउने कार्यक्रम आयोजना गर्ने होड चलेको छ । यसक्रममा पूर्ण नभएका योजनाको समेत उद्घाटन गरिएको भन्दै आलोचना भएको छ । ठूला र लाभदायी योजना बेवास्ता गरेर कार्यकर्ता मक्ख पर्ने कार्यक्रम आयोजना भइरहेका छन् । आफ्नो कार्यकालमा काम पूरा गरेको देखाउन हतार छ ।

पछिल्लो समय रुपन्देही लगायत प्रदेशका १२ वटै जिल्लामा स्थानीय तहले दैनिक कार्यक्रम आयोजना गरिरहेका छन् । सरसफाई, पुरुस्कार, सम्मान, बालमैत्री नगर घोषणाका कार्यक्रमले तिव्रता पाएका छन् । सर्वसाधरणको दैनिक जीवन प्रभावित पार्ने कार्यक्रम आयोजना भइरहेका छन् । अर्कातर्फ जिल्ला–जिल्लामा भ्यूटावर उद्घाटन गरिएको भन्दै आलोचना भइरहेको छ ।

Advertisement

रुपन्देहीका बुटवल, तिलोत्तमा र सिद्धार्थनगर नगरपालिकामा दैनिक उद्घाटन र सम्मानका कार्यक्रम चलिरहेका छन् । त्यस्तै अन्य पालिकाले आफ्नो काम देखाउन विभिन्न कार्यक्रम गरिरहेका छन् । दलले चुनावको प्रचार थालिसकेका छन् । यही बेला जनप्रतिनिधिले आफ्नो कार्यकालको अन्तिम चरणमा कार्यक्रम मार्फत काम देखाउन खोजिरहेका हुन् ।

यहाँका जनप्रतिनिधिलाई शिलान्यास, उद्घाटनदेखि सम्मान र लालपुर्जा वितरण गर्नै भ्याइनभ्याइ भएको छ । चैतको सुरुवातदेखि उनीहरू मतदाता रिझाउने प्रत्यक्ष काममा व्यस्त बनेका छन् । आफ्नो कार्यकालमा जनअपेक्षाअनुरूप काम हुन नसकेको भनेर आलोचना भइरहेका बेला कार्यकालको अन्तिममा आएर उद्घाटन, शिलान्यास र वितरणमुखी कार्यक्रम गरेर जनमत आफ्नो पक्षमा पार्ने प्रयास गरिरहेका हुन् । पुनः टिकट हत्याउन आफैं र आफ्ना गुटका शीर्ष नेता बोलाउने होडबाजीसमेत जनप्रतिनिधिले सुरु गरेका छन् ।

कपिलवस्तुको बुद्धभूमि नगरपालिकाको बडहरामा १५ बेडको सुविधासम्पन्न अस्पताल शिलान्यास गरिएको छ । आधारभूत स्वास्थ्य सेवा दिने गरी १९ करोड १० लाख रुपैयाँ लागतमा बन्न लागेको अस्पतालको नगर प्रमुख केशवकुमार श्रेष्ठले आफैं शिलन्यास गरे । दुईतले लिफ्ट प्रणालीको भवन दुई वर्षभित्र सम्पन्न गर्ने लक्ष्य छ । सीमा क्षेत्रको यशोधरा गाउँपालिकाको नवनिर्मित भवनको गाउँपालिका अध्यक्ष गिरजेशकुमार पाण्डेले उद्घाटन गरेका छन् ।

बैदौली गाउँमा १८ महिना लगाएर २ करोड ४० लाख रुपैयाँ लागतमा भवन निर्माण भएको हो । ६ सय ७४ स्क्वायर मिटरमा रहेको १२ कोठे एकतले भवन बनेको हो । आफ्नो कार्यकालमा भवन बनाएको जस लिन उनी निकै हतारिएका थिए । शुद्धोदन गाउँपालिका अध्यक्ष निसार अहमद खाँले भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री शशी श्रेष्ठलाई बोलाएर ८२ घरधनीलाई लालपुर्जा वितरण गरेका छन् । गाउँपालिका–६ बाँसखोरका २ वटा गाउँब्लकका ८२ जनालाई पुर्जा वितरण गरिएको हो ।

गाउँब्लकको जग्गा उपयोग गरिरहेकालाई नापी गरे लालपुर्जा वितरण गरिएको छ । कपिलवस्तु नगरपालिकाले ०७४ पुसदेखि हालसम्म सेवानिवृत्त भएका ३५ शिक्षकलाई दोसल्ला र कदरपत्रले सम्मानित गरेको छ । नगर प्रमुख किरण सिंह, उपमेयर लक्ष्मी गुप्ता र नगरपालिका शिक्षा इकाइका प्रमुख हरिप्रसाद ज्ञवालीले सेवानिवृत्त शिक्षकलाई सम्मानित गरेका हुन् । शिक्षकलाई मायाको चिनो करुवासमेत प्रदान गरिएको थियो । नगरपालिकाले ०७४ को स्थानीय निर्वाचनपछि सेवानिवृत्तलाई मात्र सम्मान गर्दा मतदाता रिझाउने झल्को दिएको छ ।

सिद्धार्थनगर नगरपालिकाले तीन अधुरा योजनाको उद्घाटन गरिसकेको छ । नगर प्रमुख हरिप्रसाद अधिकारीले हाटबजारमा निर्माणकै क्रममा रहेको कृषि बजार बहुउद्देश्य भवन उद्घाटन दुई हप्ता अघि गरेका थिए । उनले सिद्धार्थन्गर तीनमा खेल मैदान र दरखसवा पार्क पनि उद्घाटन गरिसकेका छन् । खेलमैदान र पार्क अझै निर्माण सम्पन्न भएका छैनन् । उनले निर्माण सम्पन्न भएको विद्यालय भवन पनि उद्घाटन गरेका छन् ।

यस्तै अधिकारीले बुधबार मात्रै नगरभित्र रहेका पूर्व राष्ट्रिय खेलाडी, कोरोनामा सहयोग पुर्याउने संघसंस्था भनेर एक सय बढीलाई सम्मान गरेका छन् । उनले आफ्नो कार्यकाल सफल देखाउन र चुनावलाई प्रभावित पार्न हतारहतार यस्ता कार्यक्रम दैनिक रुपमा गरिरहेका छन् । बुटवल उपमहानगरको हालत पनि उस्तै छ । रोल्पामा चुनाव नजिकिँदै गर्दा माओवादीका अध्यक्ष प्रचण्डले भ्युटावर उद्घाटन गरेका छन् ।

यस्तै, तिलोत्तमा नगरपालिमाको शंकरनगरमा एमाले अध्यक्ष केपी शर्मा ओलीले भ्युटावर उद्घाटन गरे । नगर प्रमुख बासुदेव घिमिरेले मतदाता प्रभावित पार्नका लागि पार्टी अध्यक्षलाई नै बोलाएर भ्युटावर उद्घाटन गराएका हुन् । रुपन्देहीका १६ वटै पालिकामा अहिले शिलान्यास र उद्घाटन कार्यक्रम धमाधम भइरहेका छन् ।

बुद्धभूमि नगरपालिका–२ गोरुसिंगेमा १९ करोड रुपैयाँभन्दा बढीको लागतमा सुरु गरिएको खानेपानी आयोजनाको नगर प्रमुख केशवकुमार श्रेष्ठले शिलान्यास गरेका छन् । गोरुसिंगे सहरी खानेपानी तथा सरसफाइ उपभोक्ता समितिको अगुवाइमा साढे ४ लाख लिटर पानी अटाउने क्षमताको ट्यांकीको निर्माणको शुभारम्भ गरिएको हो । यो खानेपानी आयोजना नगरभित्र अहिलेसम्मकै सबैभन्दा बढी लागतको हो । आयोजनाबाट २१ हजार ४ सय ६१ घरपरिवार लाभान्वित हुने बताइएको छ ।

यस्तै, दाङको घोराही उपमहानगरपालिकाले बुधबार मात्रै नगरलाई बालमैत्री घोषणा गरेको छ । प्यूठान, बाँके, बर्दिया, रोल्पा, पूर्वी रुकुम, गुल्मी, अर्घाखाँची, पश्चिम नवलपरासी सबैजसो जिल्ला स्थानीय तहका प्रमुख तथा प्रतिनिधिलाई उद्घाटन, सम्मान, शिलान्यास गर्न भ्याईनभ्याई छ । कसरी मतदाता प्रभावित पार्न सकिन्छ भन्ने होडमा जनप्रतिनिधि छन् ।

यी केही उदाहरण मात्र हुन् । निर्वाचन आयोगले आचारसंहिता जारी गर्ने तयारी गरेसँगै प्रदेशका कतिपय जनप्रतिनिधि आफैं र आफू निकट गुटका शीर्ष नेतालाई बोलाएर आफ्नो कार्यकालमा पूरा गर्न नसकेका कामको सबै दोष पखाल्ने प्रयासमा लागेको देखिन्छ । निर्वाचनको मुखमा आएर गरिएका ढाकछोपका घटनालाई मतदाताले भने रुचाएका छैनन् । चुनावको मुखमा मतदाता रिझाउने कामलाई निरुत्साहित गर्नुपर्ने उनीहरूको तर्क छ । ‘यस्तो कामले निष्पक्ष र स्वतन्त्र निर्वाचन कसरी कल्पना गर्न सकिन्छ र ?,’ कपिलवस्तुका स्थानीय रामअचल यादवले भने, ‘यस्ता गलत कामले लोकतन्त्रको उपहास भइरहेको छ ।’