March 22, 2025, Saturday
२०८१ चैत्र १०

ठूला नेताको नजर रूपन्देहीमा

भैरहवा– नेकपा एमाले, नेपाली काँग्रेस जनता समाजवादी पार्टी भन्दा पनि रुपन्देहीमा राजनीतिक धरातल कमजोर भएको नेकपा (माओवादी केन्द्र)ले गएको बिहीबार बुटवलमा प्रशिक्षण कार्यक्रम गर्यो । कमजोर क्षेत्रमा आफ्नो प्रभाव पार्ने माओवादीको उद्देश्य देखिन्छ ।

माओवादी अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, नेताहरु नारायणकाजी श्रेष्ठ, कृष्णबहादुर महरा, चक्रपाणि खनाललगायत उच्च तहका नेताले प्रशिक्षण कार्यक्रममा मन्तव्य राखेका थिए । अध्यक्ष प्रचण्डले नेताकार्यकर्तालाई प्रक्षिण दिँदै भनेका थिए, ‘माओावादीले आफ्नै बलबुतामा निर्वाचन जित्नुपर्छ । त्यही अनुसार तपाईंहरु लाग्नुस् ।’

Advertisement

तर, २०७४ को स्थानीय तह निर्वाचनमा रुपन्देहीमा माओवादीले जम्मा एउटा पालिका जितेको थियो । माओवादीबाट ओमसतिया गाउँपालिका अध्यक्षमा हिरा केवट निर्वाचित भएका थिए । केवट माओवादी छाडेर एमाले प्रवेश गरिसकेका छन् । यसले माओवादीको संगठन झनै कमजोर भएको छ । वास्तविक धरातलमा माओवादी २०७४ भन्दा कमजोर छ ।

जिल्लामा पछिल्ला दिनमा ठूला पार्टीका नेताहरुको ओहोरदोहोर चलिरहेको छ । पार्टी प्रवेशदेखि प्रशिक्षण कार्यक्रममा नेताहरु व्यस्त छन् । गृहमन्त्री बालकृष्ण खाँण त सरकारी र पार्टीका कामका लागि चैत लागेपछि तीन पटक रुपन्देही आइसकेका छन् । रुपन्देही क्षेत्र नम्बर तीनबाट प्रतिनिधि सभामा निर्वाचन लड्ने तयारी गरेका खाँणले आफ्नो क्षेत्रमा विशेष चासो दिएको देखिन्छ । क्षेत्रको र त्यसमा पनि अली दिग्गज वर्गको उपस्थिति हुने कार्यक्रममा उनी धाइरहेका छन् ।

पछिल्ला दिनमा उनको जिल्लामा आउजाउ बाक्लो छ । उनले काँग्रेसले नै संविधान र लोकतन्त्रको रक्षा गर्ने तथा जनभावनाअनुसार काम गर्ने बताउँदै आएका छन् । एमाले उपाध्याक्ष विष्णुप्रसाद पौडेल, उपमहासचिव प्रदीपकुमार ज्ञवाली, सचिव छविलाल विश्वकर्मा र नेता घनश्याम भुसालले पनि रुपन्देही आउजाउलाई बाक्लो बनाएका छन् ।

सरकारले आगामी २०७९ बैशाख ३० मा स्थानीय तह निर्वाचन घोषणा गरिसकेको छ । निर्वाचन मिति नजिकिँदै जाँदा नेताहरुको जिल्लामा उठबस बाक्लो छ । कार्यकर्ता तान्ने होडमा नेताहरु देखिन्छन् । अघिल्लो हप्ता बुटवलमा आयोजित कार्यक्रममा एमाले उपाध्याक्ष पौडेलले भनेका थिए, ‘एमालेलाई हराउने कसैको ताकत छैन । आगामी निर्वाचनमा दुई तिहाई स्थानीय तह एमालेले जित्छ, त्यसपछि प्रदेश र संघको निर्वाचन पनि जितेर तीन तहमा एमालेले सरकार बनाउँछ ।’

जिल्लामा काँग्रेस एमालेको संगठन बलियो छ । धेरै स्थानीय तह यी दुई पार्टीले जित्ने देखिन्छ । जसले गर्दा पनि नेताहरुको ध्यान यहाँ बढी छ । यसअघि प्रतिनिधि सभामा रुपन्देहीबाट एमालेका तीन जना निर्वाचित भएका थिए । क्षेत्र नम्बर एकबाट छविलाल विश्वकर्मा, दुईबाट विष्णु पौडेल र तीनबाट घनश्याम भुसाल । काँग्रेसबाट क्षेत्र नम्बर चारमा प्रमोदकुमार यादव र पाँचबाट भरतकुमार शाह निर्वाचित भएका थिए ।

प्रदेश सभामा ५ जना एमालेबाट निर्वाचित भएका थिए भने काँग्रेसबाट ३ जना निर्वाचित भएका थिए । माओवादीबाट एक र तत्कालीन संघीय समाजवादीबाट एक जना निर्वाचित भएका थिए । माओवादीबाट निर्वाचित दधिराम न्यौपाने एमाले प्रवेश गरेका छन् भने पार्टी एकीकरण पछि बनेको जसपाका सांसद सन्तोष पाण्डेय पनि पार्टीबाट निस्कासित भएका छन् । रुपन्देहीमा प्रदेश सभामा दुई पद रिक्त छ ।

२०७४ को स्थानीय तह निर्वाचनमा बुटवल उपमहानगरपालिका, तिलोत्तमा, सिद्धार्थनगर र सैनामैना नगरपालिका तथा सियारी, कंचन र शुद्धोधन गाउँपालिका एमालेले जितेको थियो । यस्तै, काँग्रेसले मायादेवी र देवदह नगरपालिकामा जित हात पारेको थियो । तत्कालीन संघी समाजवादी हाल जसपाले कोटहीमाई, गैडहवा, रोहिणी र मर्चवारी गाउँपालिकामा जित निकालेको थियो ।

लुम्बिनी सांस्कृतिक नगरपालिकामा स्वतन्त्र उम्मेदवार मनमोहन चौधरीले जितेका थिए भने ओमसतिया गाउँपालिका माओवादीका हिरा केवटले जितेका थिए । यस्तै, सम्मरीमाई गाउँपालिका अध्यक्षमा तत्कालीन मधेशी जनअधिकार फोरमबाट बब्लु शुक्ला निर्वाचित भएका थिए ।

अहिले अवस्था फेरिएको छ । स्वतन्त्र निर्वाचित लुम्बिनीका प्रमुख चौधरी जसपा प्रवेश गरेका छन् भने माओवादीबाटा निर्वाचित ओमसतिया अध्यक्ष केवट र जसपाबाट निर्वाचित रोहिणी अध्यक्ष सनोजकुमार यादव एमाले प्रवेश गरेका छन् । यस्तै, जसपा विभाजनपछि मर्चवारीका अध्यक्ष केशवनन्द बनियाँ लोसपातिर लागेका छन् । सम्मरीमाईका अध्यक्ष शुक्ल एमाले हुँदै माओवादी प्रवेश गरेका छन् ।

स्थानीय तहको निर्वाचन मिति नजिकिँदै गर्दा रुपन्देहीमा ठुला दलका केन्द्रीय नेताहरूको ओहोरदोहोर बढेको छ । कार्यकर्ता प्रशिक्षण, पार्टी प्रवेश कार्यक्रमदेखि शिलान्यास, उद्घाटन जस्ता चुनाव लक्षित गतिविधिलाई दलहरूले तीव्रता दिएका छन् । नेपाली काँग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्रका नेताहरू पछिल्लो समय रुपन्देहीमा आउने होड नै चलेको छ ।

रुपन्देही काँग्रेस नेता तथा गृहमन्त्री बालकृष्ण खाँण र नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेल, एमालेकै नतोहरु घनश्याम भुसाल, एमाले सचिव छविलाल विश्वकर्मा र राप्रपा नेता दीपक बोहरा तथा लोसपा नेता शर्वेन्द्रनाथ शुक्लाको गृह जिल्ला हो ।

पछिल्लो साता गृहमन्त्री खाँणका अतिरिक्त काँग्रेस नेताहरू मीन विश्वकर्मा, पूर्व अर्थ राज्यमन्त्री उदयशम्शेर राणा रुपन्देही आएका थिए । दलहरूले चुनावी माहौल तयार पार्न ठाउँ ठाउँमा पार्टी सम्पर्क कार्यालय खोल्नेदेखि अर्को दलका कार्यकर्तालाई आफ्नो पार्टीमा प्रवेश गराउने काम गरेका छन् । यस क्रममा जनप्रतिनिधिहरूदेखि सामान्य कार्यकर्ता खोसाखोसमा परेका छन् ।

जनमत पार्टीदेखि राप्रपा, एमाले, माओवादी, नेपाली काँग्रेसले यहाँ नयाँ कार्यकर्ता भित्र्याउन कार्यक्रम आयोजना गर्ने गरेको देखिन्छ । दलहरुले घरदैलोसमेत सुरु गरेका छन् । टिकट पाउने सम्भावित नेताहरु पनि घरघर पुग्ने र जनगुनासो सुन्न थालेका छन् । गाउँ टोलमा कार्यक्रम गरेर ठूलो नेता बोलाउने र जनतालाई आश्वासन बाँड्न सुरु भएको छ ।