दलका स्वार्थले प्रदेशसभा संचालनमै अन्यौल



भैरहवा–लुम्बिनी प्रदेशसभा महीनौंदेखि बन्धक जस्तै छ । प्रमुख प्रतिपक्ष दलको अवरोधका कारण संसदले गति लिन नसकेको हो । सरकारले संसद संचालनमा पनि खासै पहलकदमी गरेको देखिँदैन ।
जसरी संघमा प्रतिनिधि सभा प्रतिपक्ष दल एमालेले अवरोध गरिरहेको छ, यसैगरी लुम्बिनीमा पनि अवरुद्ध छ । चार महीनादेखि प्रदेशसभा बन्द छ । गत मंसीर १ गतेदेखि बन्द रहेको सदन अझै संचालन भएको छै ।
नवौँ अधिवेशनको १२ औँ बैठक कार्तिक २९ गते बसेपछि प्रदेश प्रमुखले मङ्सिर १ गते अधिवेशन अन्त्य गरेका थिए । अब सरकारले कहिले संसद् बोलाउँछ भन्ने एकिन छैन । सामान्यतया ६ महिनाभित्र अधिवेशन आह्वान गर्ने व्यवस्था छ । अब दशौँ अधिवेशन कहिले आह्वान गर्छ भन्ने कुरा सरकारमा निर्भर रहेको लुम्बिनी प्रदेश सभाका सचिव दुर्लभकुमार पुन मगरले जानकारी दिए । ‘सरकारले आह्वान गरे बैठक बस्ने हो’, उनले भने ।
विपक्षीको लगातार नाराबाजी, बहिस्कारले गर्दा सरकारलाई संसद बोलाउनै समस्या छ । सत्तापक्ष एमालेले निरन्तर सदन अवरोध गरेको अवस्थामा संसद् खोल्दा जनतामा नराम्रो सन्देश जाने आँकलनसहित प्रदेश सभा बैठक बोलाउन आनाकानी गरिरहेको हो ।
माओवादी प्रमुख सचेतक तुलाराम घर्ती मगर एमालेले संसद्लाई बन्धक बनाएको आरोप लगाए । ‘संसद्लाई बन्धक बनाउनु भनेको लोकतन्त्र बन्धक बनाउनु सरह हो’, उनले भने, ‘दुई जना सांसदको बारेमा सभामुखविरुद्ध अदालतमा मुद्दा परिसकेपछि पनि अटेर गरेर संसद् बन्धक बनाउनु उपयुक्त हुँदैन ।’ अदालतमा विचाराधीन मुद्दाको बारेमा सदनमा छलफल गर्न मिल्दैन भन्ने विषय प्रतिपक्षलाई थाहा हुँदाहुँदै संसद्लाई बन्धक बनाउन खोज्नु जनताको आवाजलाई बन्धक बनाउनु भएको उनले बताए ।
लुम्बिनीमा सत्ता परिवर्तन भएदेखि प्रदेश सभा गतिशील बन्न सकेको छैन । एमालेका तत्कालीन मुख्यमन्त्री शंकर पोखरेललाई हटाएर गठबन्धन दलको तर्फबाट कुलप्रसाद केसी नेतृत्वमा सरकार बनेपछि सत्ता पक्ष र प्रतिपक्षको राजनीतिक खिचातानीको असर प्रदेश सभामा देखिएको हो । लुम्बिनी प्रदेश सभा नचल्नुमा सत्ता पक्षभन्दा पनि प्रतिपक्ष जिम्मेवार रहेको नेपाली काँग्रेस प्रमुख सचेतक फुकरुद्दिन खान पनि आरोप लगाए । ‘अब प्रदेश सभाको उत्तराद्र्धतिर आएको अवस्था छ । यो बीचमा हामीले सिकेका पाठ र कामहरूलाई अझै प्रभावकारी बनाउँदै लैजानका संसद् निरन्तर सुचारु हुनुपर्छ । त्यसबाट प्रदेशको प्रगति र दिगोपन दिन सकिन्छ । तर यहाँ एमालेले एकोहोरो मागमा सबैलाई अलमलमा पारेको छ ।’
एमालेले निरन्तर अवरोध गर्दै आएको प्रदेशसभा अझैसम्म खुलाउने बारे सत्तापक्ष र प्रमुख पतिपक्षबीच कुनै सहमति हुन सकेको छैन । त्यसकारण अब खुले पनि संसद् चल्ने नचल्ने यकिन छैन । लुम्बिनी प्रदेश सभाको नवौँ बैठकमा एमालेले कारबाही गरेका दुई सांसदलाई सभामुख पूर्णबहादुर घर्ती मगरले हटाएको सूचना टाँस गर्नुपर्ने माग गरेको थियो । सभामुखले सांसदलाई नहटाएपछि एमालेले संसदमा विरोध गरेको थियो ।
प्रतिपक्षको अवरोधका कारण सुचारु नभएको संसद् फागुन महिनापछि खुल्न सक्ने बुझाइ छ । यद्यपि सत्ता र प्रतिपक्षबीच कुनै छलफल सहमति भएको छैन । यहाँ दुवै पक्षको प्रदेश सभामा रहेका समितिका सभापतिहरूको बाँडफाँडमा स्वार्थ बताइन्छ । लुम्बिनी प्रदेश सभामा खाली भएका विषयगत समितिका ४ वटा सभापतिहरूको बाँडफाँडका विषयमा छलफल जारी छ । तर आजसम्म कुनै ठोस निर्णय हुन सकेको छैन । यसमा सत्ता पक्ष र प्रतिपक्ष दुवै आ–आफ्नो दाबी गरेका छन् । बाँडफाँड मिले संसद अवरोध हट्ने कतिपयको भनाईछ ।
प्रतिपक्षले ३ जना सभापतिको माग गरिरहेको छ भने सत्ता पक्षले दुई वटा आफूहरूलाई र दुई वटा प्रतिपक्षलाई दिने नीति लिएको छ । तर प्रतिपक्षले ३ वटै सभापतिमा दाबी गरिरहेकाले टुङ्ग्याउन गाह्रो भएको प्रमुख सचेतक घर्तीले बताए । उनले दुई वटा एमालेलाई दिने र दुई वटा सत्ता पक्षले लिएर अगाडि जान सकिनेमा आफूहरू तयार रहेको बताए ।
एमाले संसदीय दलका उपनेता वैजनाथ चौधरीले भने आफूहरूले तीन वटा नै समिति पाउनु पर्ने दाबी गरे । उपनेता चौधरीले आफूहरूको माग अझै पूरा नभएकोले मुद्दा यथावत् रहेको बताए । प्रतिपक्षी दलले कारबाही गरेका दुई सांसदलाई पदमुक्त गर्न माग गर्दै निरन्तर बैठक अवरुद्ध गर्दासमेत सभामुख घर्तीले विवाद अन्त्यका लागि कुनै प्रयास नगरेको उनको आरोप छ । केसी नेतृत्वको सरकारलाई समर्थन गरेकाले सांसदद्वय अजयबहादुर शाही र विमला खत्री वलीलाई कारबाही गरेको पार्टीको केन्द्रीय कमिटीले त्यसको सूचना प्रदेश संसदीय दलमार्फत् प्रदेश सचिवालयलाई दिइसकेको छ । उक्त पत्र प्रदेश सभामा पढेर सुनाउन तथा सांसदद्वयलाई पदमुक्त गर्न एमालेले माग गर्दै आएको छ ।








प्रतिकृया दिनुहोस्