May 16, 2022, Monday
२ जेष्ठ २०७९, सोमबार

फोहोर नफाल्न ‘प्रतिबद्धता स्टिकर’

भैरहवा– नगर, गाउँ, टोल सफा राख्न के गर्नुपर्ला ? सहजै उत्तर आउँछ– जथाभावी फोहोर नफ्याँक्ने । तर, आम नागरिकमा यो चेतना छैन । जथाभावी फोहोर फाल्दा हाम्रा गाउँ, टोल, नगर, सडकदेखि भित्री गल्लीसम्म दुर्गन्धित भएका छन् । कतिपय अवस्थामा नागरिकस्तरमा चेतनाको अभावले जथाभावी फोहोर फाल्ने काम हुँदै आएको छ भने कतिपय ठाउँमा लापरबाहीले दुर्गन्ध फैलिरहेको छ ।

Advertisement

हाम्रो हरेक ठाउँ सफा राख्नु तपाईंहाम्रो कर्तव्य हो । तर, हामी त्यही कर्तव्यबाट विमुख छौं । जहाँ पायो त्यही फोहोर फाल्ने बानी हामीमा विकास भइरहेको छ । सबै काम सरकारको हो, हामीले भोट दिएर नेतृत्वमा पुगेकाले व्यवस्थापन गर्नुपर्छ भन्ने आम मानसिकता छ । त्यसो होइन्, सरकारसँगै नागरिक पनि उत्तिकै जिम्मेवार बन्नुपर्छ ।

यस्तो अवस्थामा रुपन्देहीको तिलोत्तमा नगरपालिकामा सरसफाई अभियानलाई नगरबासीको घर-टोलमा केन्द्रित गर्न थालिएको छ । प्रत्येक घर, व्यवसायिक प्रतिष्ठान, संघ-संस्था, निकायमा जथाभावी फाहोर नगर्ने प्रतिबद्धतासहितको स्टिकर टाँस गरेर नगरपालिकाले सरसफाई अभियानलाई थप प्रभावकारी बनाएको हो । नगरपालिकामा टोल विकास संस्थामार्फत् नियमित रुपमा समुदाय सरसफाई अभियान सञ्चालन हुँदै आएको छ ।

यहीँ अभियानलाई थप प्रभावकारी बनाउँदै सबै नगरबासीलाई थप सचेत गराउन स्टिकर टास्ने कार्य अघि बढाइएको वातावरण शाखाले जनाएको छ । नगरपालिकाले टोल विकास संस्था र खानेपानी उपभोक्ता तथा सरसफाई संस्थासँगको समन्व्यमा घर—घरमा सरसफाई गर्ने प्रतिबद्धतासहितको स्टिकर टाँस गर्न सुरु गरेको छ ।

सार्वजनिक स्थान, विद्युतपोल, मुख्य चोकहरुमा समेत सचेतना अभिवृद्धिका लागि स्टिर टाँस गरिनेछ । प्रतिबद्धता स्टिकर टाँस गरी सबै घरधनीबाट प्रतिबद्धतापत्रमा हस्ताक्षर गराउने गरी यो अभियान थालिएको नगर प्रमुख बासुदेव घिमिरेले बताए ।

प्रतिबद्धता स्टिकर टाँसपछि जथाभावी फोहोर गर्नेलाई निरुत्साहित र घर, परिवार, टोल, समुदाय सफा राख्नेलाई पुरस्कृत गरिने नगरस्तरीय टोल विकास संस्था सञ्जालका अध्यक्ष हेमराज पौडेलले बताए । ‘नगरमा रहेका खानेपानी उपभोक्ता संस्थासँगको सहकार्यमा टोल विकास संस्थाहरुले यो अभियान हरेक नगरबासीको घरमा पुर्याउनेछन्’, उनले भने ।

अभियानको सन्दर्भमा नगरपालिका, सञ्जाल र शंकरनगर खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाको संयुक्त आयोजनामा विभिन्न टोल सञ्जालका पदाधिकारी तथा खानेपानीका पार्षद्हरुका लागि अभिमुखीकरण कार्यक्रम गरिएको छ । त्यसअवसरमा नगर प्रमुख घिमिरेले टोल विकास संस्था र खानेपानी सेवा क्षेत्रका पदाधिकारीहरुलाई स्टिकर हस्तान्तरण गरेका थिए ।

नगर प्रमुख घिमिरेले पूर्णसरसफाई उन्मुख नगरपालिकालाई दिगो बनाउन स्टिकर अभियान प्रभावकारी हुने विश्वास व्यक्त गरे । ‘नगरबासीको सहयोग र सहकार्यले तिलोत्तमाले विभिन्न रचनात्मक काम गरेको छ । यो सरसफाई अभियन्ताहरुप्रति आभार व्यक्त गर्छु’, उनले भने । खानेपानी तथा सरसफाई डिभिजन कार्यालयका प्रमुख गुणानिधि पोखरेलले तिलोत्तमामा निर्माणका क्रममा रहेका खानेपानी आयोजना छिट्टै सम्पन्न हुने क्रममा रहेको बताउँदै आयोजना सम्पन्न हुँदा सबै नगरबासी स्वच्छ खानेपानीको पहुँचमा पुग्ने बताए ।