शैक्षिक कार्यक्रम सुरु गर्दै राप्ती प्रतिष्ठान



भैरहवा– स्थापना भएको पाँच वर्षपछि दाङस्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानले शैक्षिक कार्यक्रम सुरु गर्ने तयारी थालेको छ । प्रतिष्ठानले पहिलो पटक शैक्षिक कार्यक्रम सञ्चालन गर्न लागेको जनाएको छ ।
प्रतिष्ठानको उद्देश्य अनुरुप स्वास्थ्य उपचारसँगै पहिलो पटक शैक्षिक कार्यक्रम पनि सञ्चालन गर्ने तयारी भइरहेको प्रतिष्ठानका रजिष्टार प्रकाश थापाले जानकारी दिए । उनकाअनुसार आगामी नयाँ शैक्षिक सत्रदेखि प्रतिष्ठानमा नर्सिङको शिक्षाको विएसी नर्सिङ, डिएनएस र ब्याचलर अफ फार्मेसीको अध्यापन सुरु हुनेछ ।
जेठको दोस्रो हप्तादेखि शैक्षिक अध्यापन पनि सञ्चालन हुने प्रतिष्ठानले बताएको छ । प्रतिष्ठानमा शैक्षिक कार्यक्रम सञ्चालनका लागि आवश्यक पूर्वाधारसमेत पर्याप्त भएको प्रतिष्ठानले जनाएको छ ।
प्रतिष्ठान स्थापना भएको पाँच वर्षसम्म पनि शैक्षिक कार्यक्रम सञ्चालन हुन नसकेपछि आलोचना हुँदै आएको थियो । यसअघिकी उपकुलपती डा. संगिता भण्डारी पटकपटक विवादित र आलोचित बन्दै आएकी थिइन् । उनैका कारण शैक्षि कार्यक्रम हुन नसकेको आरोप समेत छ ।
केहीदिन अघिमात्र प्रतिष्ठानका उपकुलपति डा. विकास लामिछाने नवनियुक्त भएर आएका छन् । उनले जिम्मेवारी सम्हालने लगतै प्रतिष्ठानमा शैक्षिक कार्यक्रम अघि बढाइएको हो । प्रतिष्ठानमा प्राज्ञिक परिषद् गठन गरी अध्यापन हुने तीनवटा कोर्षको पाठ्यक्रम स्वीकृत गरिएको छ ।
प्रतिष्ठानले शैक्षिक कार्यक्रम सञ्चालनका लागि चिकित्सा सेवा आयोगमा निवदेन समेत दिएको छ । आइतबारमात्रै चिकित्सा शिक्षा आयोगले प्रतिष्ठानमा पुगेर स्थल अवालेकन तथा सम्भाव्यता अध्ययन गरेको छ । आयोगको नर्सिङतर्फ प्रा.मन्दिरा वन्त, फार्मेसिको तर्फ प्रा.डा.धर्मप्रसाद खनाल र कृष्ण पौडेलले प्रतिष्ठानको पूर्वाधार लगायतका सम्भाव्यता अध्ययन र अवलोकन गरेर फर्किएका छन् ।
रजिष्टार थापाका अनुसार करिब २० दिन भित्रै आयोगबाटै विद्यार्थीको सिट संख्या तोकिनेछ । आयोगले नै तोकेको सिट संख्याका आधारमा प्रतिष्ठानमा विद्यार्थी भर्ना गरी अध्यापन सुरु गरिनेछ । प्रतिष्ठानले भने तीनवटै विषयमा ४०–४० विद्यार्थी संख्या राखेर कक्षा सञ्चालन गर्ने रजिष्टार थापाले बताए । जेठको दोस्रो सातादेखि अध्यापन थाल्ने प्रतिष्ठानले तयारी गरेको छ ।
४०–४० विद्यार्थी संख्या क्षमताका तीन वटा कक्षा, ल्याब तीन वटा, एउटा अडिटोरियम र लाइब्रेरी समेत तयारी अवस्थामा रहेको रजिष्टार थापाले जानकारी दिए ।
‘अध्यापनका लागि चाहिने सबै कक्षा कोठा र ल्याबहरु तयार छ,’ उनले भने । ब्याच्लर अफ फार्मेसीको ल्याब भने निर्माणधीन अवस्था रहेको उनले बताए । रजिष्ट्रार थापाका अनुसार छात्रावासको समेत व्यवस्था हुने उनले बताए । ‘छात्रावासका लागि पनि भवनको समस्या छैन’, उनले भने, ‘खाली भवनलाई छात्रावामा परिणत गर्न सकिन्छ ।’ उनले प्रतिष्ठानको प्रशासनीक भवनसँगै सटेको पोषण गृहलाई छात्रावासको रुपमा प्रयोग गरिने बताए ।
त्यस्तै अध्यापनका लागि आवश्यक शैक्षिक जनशक्तिसमेत नियुक्ति गर्ने काम भइरहेको उनले बताए । ‘नर्सिङ शिक्षा अध्यापनका लागि थप १० जनालाई नियुक्त गरिसकेका छौं’, रजिष्ट्रार थापाले भने, ‘शैक्षिक जनशक्ति पनि पर्याप्त छ ।’








प्रतिकृया दिनुहोस्