November 26, 2026, Thursday
२०८३ मंसिर १० बिहीबार

लुम्बिनी प्रदेशमा ‘खोजेर खोप’ अभियान

भैरहवा– खोपमा पहुँच बृद्धिका लागि लुम्बिनी प्रदेशमा ‘खोजेर खोप’ अभियान थालिएको छ । स्वास्थ्य कार्यालयले सूचनाका आधारमा खोप केन्द्र पुगेर खोप नलगाउने र छुटेका व्यक्तिलाई लक्षित गरेर यस्तो अभियान सुरु गरेका हुन् । विभिन्न जिल्लामा रहेका स्थानीय तहमा रहेका टोल समिति मार्फत् यस्तो अभियान सञ्चालन भइरहेको छ ।

Advertisement

स्वास्थ्य संस्थाका अनुसार गृह क्षेत्र भन्दा बाहिर मजदुरी गर्ने र खोप केन्द्रसम्म पहुँच नभएका धेरै खोप लगाउनबाट बञ्चित छन् । केहीले खोप सम्बन्धि भ्रमका कारण पनि नलगाएको पाइएको छ । त्यस्ता व्यक्तिको तथ्यांक संकलन गरेर खोपको फाइदा बुझाएर केन्द्रसम्म ल्याउन थालिएको छ । यसले खोपमा सबैंको पहुँच हुने विश्वास स्वास्थ्य कार्यालयको छ ।

Advertisement

कोरोनाको तेस्रो लहरमा खोप नलगाएका व्यक्तिको स्वास्थ्य अवस्था जटिल बन्नुका साथै मृत्यु भएको पाइएको छ । त्यसले गर्दा सबै नागरिकको पहुँचमा खोप पुग्नु पर्ने उनीहरुको भनाइ छ । लुम्बिनी प्रदेशका रुपन्देही, पाल्पा, पश्चिम नवलपरासी र बाँकेमा यस्तो अभियान चलाइएको छ ।

रुपन्देहीका सैनामैना, तिलोत्तमा नगरपालिकाले टोल समिति मार्फत् घरदैलो कार्यक्रम सञ्चालन गरेका थिए । त्यसक्रममा सहभागीले खोप लगाउन छुटेका व्यक्तिको तथ्यांक संकलन गरेका थिए । छुटेका व्यक्तिलाई खोपको महत्व बुझाएर भए पनि खोप लगाइएको नगरपालिकाले जनाएका छन् । नगरपालिकामा बाहिर जिल्लाबाट आएर मजदुरी गर्ने व्यक्ति खोपबाट बञ्चित पाइएकाले उनीहरुलाई समेटिएको नगरपालिकामा स्वास्थ्य शाखाले जनाएका छन् ।

बाँकेका खोप कभरेज नपुगेको ठाउमा खोज खोप अभियान सुरु गरीएको छ । स्वास्थ्य कार्यालय बाकेले खोप लगाउन छुटेका स्थानिय तहमै पुगेर टोलटोलमा पुगेर खोप अभियान चलाइरकेको छ । बाँकेको नरैनापुर, बैजनाथ, राप्ती सोनारीमा बिशेष गरेर अभियान संचालन गरिरहेको स्वास्थ्य कार्यालय बाँकेका कोरोना खोप फोकल पर्सन नरेशबाबु श्रेष्ठले बताए ।

‘जिल्लामा ८३ प्रतिशतले खोप लगाउनु भएको छ । नलगाएकाहरुलाई टोलमै पुगेर खोप लगाउँदैछौं’, उनले भने, ‘शतप्रतिशत खोप पुर्याउन अभियान थालेका हौं ।’ यसरी खोप अभियानलाई सफल बनाउन स्थानीय वडाका स्वयंसेबिकालाई परिचालन गरिएको छ । स्वयंसेबिकाको सहयोगमा खोप नलगाएकालाई सम्झाउने बुझाउने तथा खोपबाट छुटेकाको पहिचान गराउने काम गरिएको छ ।

बाँकेको नरैनापुर गाउँपालिकामा खोपको कभरेज पुर्याउन घरदैलो कार्यक्रम सुरु गरिएको छ । नरैनापुरमा अधिकांशले खोप नलगाएपछि शुक्रबारदेखि खोज र खोप अभियान सुरु गरिएको स्वास्थ्य कार्यालय बाँकेका सहायक जनस्वास्थ्य अधिृकत मानबहादुर नेपालीले बताए । ‘गाउँपालिका अन्तर्गतका ६ वटै वडाहरुमा खोप कभरेज कम भएका टोलमै पुगेर अभियान चलाएका छौं’, नेपालीले भने, ‘खोप सेवा, एन्टिजेन परीक्षण पनि गरिरहेका छौं ।’

कोरोना संक्रमण बृद्धि हुन थालेपछि रोल्पामा कोरोनाविरुद्ध खोप लगाउन प्राथमिकता दिइएको छ । जिल्ला स्वास्थ्य कार्यालयले अभियान चलाएर लक्षित वर्गलाई खोप लगाउन आह्वान गरेको हो । जिल्ला स्वास्थ्य प्रमुख नोखराज पोखरेलले स्वास्थ्यकर्मीलाई हरेक तहमा परिचालित गरेर खोप लगाउन खटाइएको छ । ‘लक्षित वर्गलाई खोप लगाउन प्रेरित गर्ने अभियान थालिएको छ । त्यसका लागि स्थानीय तहसँगको समन्वयमा स्वास्थ्यकर्मीलाई लक्षित वर्गको खोजी गर्दै खोप लगाउन लगाइएको हो’, पोखरेलले भने ।

जिल्ला स्वास्थ्यले सबैलाई खोप प्रदान गरेर सुरक्षित बनाउन ‘खोजेर खोप’ अभियान नै चलाएको छ । खोप नलगाएकालाई खोजेर खोप लगाउन प्रेरित गर्ने र भूमिका खेल्ने स्वास्थ्यकर्मीलाई थप भत्ता सुविधा दिने निर्णय भएको छ । कोरानाविरुद्ध विभिन्न गतिविधि गर्दै आएको जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (डीसीसीएमसी) ले समेत स्वास्थ्य कार्यालयले अघि सारेको ‘खोजेर खोप’ अभियानलाई सफल पार्न आह्वान गरेको छ । डीसीसीएमसीका संयोजक तथा प्रमुख जिल्ला अधिकारी नवराज सापकोटाले खोप लगाउने अभियानलाई मुख्य प्राथमिकता दिइएको बताए ।