November 26, 2026, Thursday
२०८३ मंसिर १० बिहीबार

एक महिनामा ४८५ स्वास्थ्यकर्मीलाई कोरोना

भैरहवा– कोरोना भाइरस संक्रमणको पहिलो र दोस्रो लहरमा लुम्बिनी प्रदेश ‘हटस्पट’ बनेको थियो । अहिले नयाँ भेरियन्टले पनि प्रदेशलाई गाँजेको छ । पछिल्लो एक महिनामा भाइरस फैलिने क्रम तीब्र छ । यस क्रममा सर्वसाधरण मात्र होइन स्वास्थ्यकर्मीलाई समेत यसले शिकार बनाएको छ ।

Advertisement

यसअघिको तुलनाामा यसपाली संक्रमणको सुरुवातमै धेरै स्वास्थ्यकर्मी संक्रमित बनेका छन् । सुरुमा प्रदेशका सीमा नाकास्थित हेल्थ डेस्कमा कार्यरत स्वास्थ्यकर्मी चपेटामा परेका थिए । पछिल्लो समय जिल्ला र पालिका अस्पतालमा कार्यरत संक्रमित भइरहेका छन् ।

Advertisement

बुटवलस्थित प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार एक महिना अवधिमा प्रदेशभर ४ सय ८५ स्वास्थ्यकर्मी संक्रमित भएका छन् । विभिन्न क्षेत्रमा कार्यरत उनीहरु काम गर्ने शिलशीलामा संक्रमित बनेका हुन् । उनीहरुका अनुसार तेस्रो लहरमा स्वास्थ्य मापदण्डको पालनामा हेलचेक्र्याइँ गरिएको छ ।

स्वास्थ्यकर्मीले मापदण्ड पालना गरे पनि सेवाग्राहीले बेवास्ता गरिरहेका छन् । पहिले जस्तो डर नभएकाले स्वास्थ्य संस्थामा भीडभाड छ । सेवा लिने क्रममा सामाजिक दूरी पालना गरिँदैन । जसले गर्दा छिटो संक्रमण फैलिरहेको छ । निर्देशनालयका अनुसार यसरी संक्रमित स्वास्थ्यकर्मीहरुमा ३ सय ६९ प्यारामाडिक्स, ल्याब टेक्निसियन र ४२ चिकित्सक छन् । त्यस्तै ७४ जना नर्स रहेको निर्देशनालयका कोरोना फोकल व्यक्ति कौशल भण्डारीले पब्लिक कुरासित बताए ।

धमाधम स्वास्थ्यकर्मी संक्रमित भए पछि स्वास्थ्य सेवा प्रवाहमा असर पुग्ने भन्दै सरोकारवालाले चिन्ता व्यक्त गरेका छन् । यसअघि नाकामा खटिएका ल्याव टेक्निसियन संक्रमित बनेपछि कोरोना जाँच गर्ने जनशक्ति अभाव भएको थियो । तत्काल जनशक्ति पूर्ति हुने अवस्था नभएपछि धेरै ठाउँमा कोरोनासित मेल खाने लक्षण देखिएका स्वास्थ्यकर्मीले नै बिरामी जाँच र रेखदेख गर्नु परिरहेको गुनासो गरेका थिए ।

पाल्पाका मात्र १ सय २१ स्वास्थ्यकर्मी कोरोना संक्रमित भएका छन् । जिल्लामा सञ्चालित खोप अभियानमा सहभागीहरु धेरै संक्रमणमा परेको पाइएको छ । कतिपय स्थानीय तहका स्वास्थ्य शाखा प्रमुखसमेत संक्रमित भएका छन् । स्वास्थ्यकर्मीहरु दुई–तीन दिन अघिसम्म बालबालिकालाई खोप लगाउन व्यस्त थिए । स्वास्थ्य कार्यालयका सूचना अधिकारी कृष्णप्रसाद पोखरेलका अनुसार सबैभन्दा धेरै तानसेनस्थित मिसन अस्पतालमा ३६ जना स्वास्थ्यकर्मी संक्रमणमा परेका छन् ।

चिकित्सक र अन्य स्टाफसमेत संक्रमण भएकाले काममा समेत असर परेको जनाएको छ । लुम्बिनी मेडिकल कलेजका अनुसार ३७ जना स्वास्थ्यकर्मी संक्रमण भएका छन् । स्वास्थ्यकर्मी संक्रमित भएपछि प्रदेशका सबै जिल्लामा जनशक्ति अभाव नभए पनि केही जिल्लाका स्वास्थ्य संस्था प्रभावित बनेका छन । कपिलवस्तु, बर्दिया र पाल्पामा सेवा प्रवाहमा अफ्ठ्यारो परेको स्वास्थ्य निर्देशनालयले जनाएको छ ।

संक्रमण भएका व्यक्तिले जानकारी नदिने, सम्भावित संक्रमितले व्यक्तिले नजिकै आएर कुरा गर्ने गर्दा समेत स्वास्थ्यकर्मीमा संक्रमण सरिरहेको चिकित्सकले बताएका छन् । भैरहवास्थित भीम अस्पतालमा एक चिकित्सक, ६ स्वास्थ्यकर्मी र एक सफाई कर्मचारी संक्रमित भएको मेडिकल सुपरिटेन्डेन्ट डा.शकुन्तला गुप्ताले बताइन् ।