May 29, 2022, Sunday
१५ जेष्ठ २०७९, आईतवार

घर-घर पुग्यो कोरोना

भैरहवा– दुई साता अघिसम्म लुम्बिनी प्रदेशका सीमा नाकामा गरिएको एन्टिजेन परीक्षणमा कोरोना संक्रमण पुष्टि हुने धेरै थिए । संक्रमण पुष्टि भएका व्यक्तिलाई राख्न नाका आसपास क्वारेन्टाइन र आइसोलेसन सेन्टर छैनन् । जसले गर्दा नाकामा संक्रमण पुष्टि भएका व्यक्तिलाई आफ्नै पालिकाको निगरानीमा ‘होम आइसोलेसन’मा बस्ने सर्तमा घर पठाउने गरिएको छ ।

Advertisement

ती व्यक्तिले अरुलाई संक्रमण नसरोस् भनेर सावधानी नअपनाउँदा अहिले कोरोना घरघरै पुगेको छ । लुम्बिनी प्रदेशका सबै जिल्लामा कोरोनासित मेल खाने लक्षण भएका बिरामी घरघरै बढ्न थालेका छन् । धेरैले खोप लगाइसकेकाले संक्रमित व्यक्तिमा स्वास्थ्य जटिलता देखिएका छैनन् । जसले गर्दा उनीहरु घरमै घरेलु औषधि सेवन गरेर बसिरहेका छन् ।

सर्वसाधरणका अनुसार स्थानीय पालिकाले पहिले जस्तो लक्षण देखिएकाको कोरोना जाँच गरिरहेका छैनन् । सर्वसाधरण आफै जचाउन जाँदैनन् । त्यसले गर्दा परिवारै बिरामी हुने धेरै छन् । चिसो मौसम भएकाले रुघाखोकी भन्दै आराम गर्ने बढेका छन् । सरकारले कोरोना रोकथामका लागि स्वास्थ्य मापदण्ड जारी गरेको छ । तर, रुपन्देहीका कुनै क्षेत्रमा पालाना भएको देखिँदैन । सर्वसाधरणको भीड हुने सार्वजनिक क्षेत्रमा मास्क लगाउने गरेका छैनन् । दूरी पालना कागजमा सिमित छ ।

रुपन्देही, कपिलवस्तु, पश्चिम नवलपरासी, पाल्पा, अर्घाखाँची, बाँके, बर्दिया लगायत जिल्लामा घरघरमै कोरोनासंग मिल्दो लक्षण भएका बिरामी छन् । उनीहरुले लक्षण मिले पनि सबैले कोरोना परीक्षण गराएका छैनन् । त्यसले संक्रमितको संख्या धेरै देखिएको छैन । स्वास्थ्यमा जटिलता भएका सर्वसाधरण धेरै छन् । परीक्षण बढाउनेतर्फ स्थानीय तह, स्वास्थ्य कार्यालय र प्रशासनको ध्यान पुगेको छैन् ।

पहिलो र दोस्रो लहरका बेला स्थानीय तहले आफ्नै खर्चमा धमाधम कोरोना परिक्षण गर्ने, आइसोलेसन संचालन गरेका थिए । भारतसंग खुल्ला सिमाना जोडिएको पश्चिम नवलपरासीमा कोरोना संक्रमण बढ्दो छ । नाकामा बिना चेकजाँच ओहोरदोहोर गर्दा संक्रमणको जोखिम उच्च छ । कोरोना महामारीको नयाँ लहर भित्रिसकेको र दिनहुँ नाकाबाट आउनेमा संक्रमण देखिरहे पनि सतर्कता शुन्य छ ।

रुपन्देहीमा भारतबाट धेरै आउजाउ हुने बेलहिया–सुनौली नाकामा एन्टिजेन परीक्षण केन्द्रित गरिएको स्वास्थ्य कार्यालय प्रमुख गौरव ढकालले बताए । दिनहुँ संक्रमित थपिने क्रम बढेकाले सावधानी अपनाउन उनले आग्रह गरे । पहिलो लहरमा ‘इपीसेन्टर’ बनेको बाँकेमा कोरोना सक्रमण बढ्दै छ । जिल्लाका तीन वटा ल्याबमा परीक्षण गर्न आएका मध्ये आधाभन्दा बढीमा संक्रमण पाइएको स्वास्थ्यकर्मीले बताए ।

एक साता यता जिल्लामा संक्रमण आशंका गरिएका स्वाब परीक्षण भइरहेको छ । दुइ साताअघि दैनिक ५ देखि सात जनामा सक्रमण पुष्टि हुने गरेको थियो । अहिले दैनिक दुई सयको हाराहारीमा संक्रमण पुष्टि भइरहेको प्रयोगशालाले जनाएका छन् । जिल्लामा भेरी अस्पताल, कोहोलपुर मेडिकल कलेज र बागेश्वरी ल्याबमा परीक्षण गरिन्छ ।

प्रदेशका पहाडी जिल्लामा कोरोनासित मेल खाने लक्षण भएका धेरै बिरामी छन् । उनीहरु परिवारमा घुलमिल भइरहेका छन् । जिल्ला प्रवेश गर्ने नाकामा सावधानी छैन । पछिल्ला दिनमा कोरोना जाँच गरिएका धेरै व्यक्तिमा संक्रमण पुष्टि भइरहेको छ । जिल्लाहरुमा भीड हुने कार्यालयका कर्मचारी नै संक्रमित बनेका छन् । नाका र अस्पतालमा खटिएका स्वास्थ्यकर्मी संक्रमित भएपछि सेवामा प्रभाव पर्ने देखिएको छ ।

धेरै स्वास्थ्यकर्मी संक्रमित भए पनि प्रदेश स्वास्थ्य निर्देशनालयसित कुनै तथ्यांक छैन । पहिलो र दोस्रो लहरमा जस्तो संक्रमित स्वास्थ्यकर्मीको तथ्यांक बटुलिएको छैन । यसले गर्दा पहिल्यै जनशक्ति अभाव रहेको स्वास्थ्य क्षेत्रका सेवामा असर पर्ने देखिएको छ । जिल्ला प्रशासनले संक्रमण रोकथामका लागि विभिन्न आदेश जारी गरेका छन् । ती आदेश कार्यान्वयन भए/नभएको अनुगमन गरेका छैनन् । जसले गर्दा सबै क्षेत्रमा हेलचेक्र्याइँ बढिरहेको छ भने संक्रमित ह्वात्तै बढिरहेका छन् ।