November 26, 2026, Thursday
२०८३ मंसिर १० बिहीबार

‘अब्बल’ बनाइँदै लुम्बिनी प्रादेशिक अस्पताल

भैरहवा– पछिल्ला दिनमा बुटवलस्थित लुम्बिनी प्रादेशिक अस्पतालको धमाधम सेवा थपिँदै छ । कोरोना महामारीका बेला सयौंको यही अस्पतालमा उपचार भएको थियो । सेवा प्रहाव राम्रो हुँदा धेरैको ज्यान बच्यो । त्यसयता प्रदेश सरकारले यो अस्पताललाई विशेष महत्व दिएको छ ।

Advertisement

यसअघिको सरकारले प्रादेशिक अस्पताललाई सुविधा सम्पन्न बनाउने भन्दै भाडामा लगाइएका सटर खाली गरेको थियो । त्यसबेला अस्पतालको डीपीआर बनाएर काम अघि बढाइएको थियो । अहिले अस्पतालको सेवा विस्तार र पूर्वाधार थप गर्न प्रदेश सरकारले विशेष चासो दिएको छ ।

Advertisement

पछिल्लोपटक यहाँ सेवा थपिएको थपियै छन् । अस्पतालले एकै पटक चार वटा सेवा बिस्तार गरेको छ । १० बेडको डायलाइसिस सेवासहित ट्रमा वार्ड, कोभिड इमर्जेन्सी र भिसिटिङ्ग सेवा विस्तार भएको हो ।

अस्पतालमा यसअघि रहेको ६ बेडको डायलाइसिस सेवालाई १० बेडमा बिस्तार गरिएको छ । यसमा रेड्रो पोजेटिभ र हेपाटाइटिस ‘बी’ तथा ‘सी’का बिरामीका लागि दुई बेड प्रदान गरिने छ । बिहीबारदेखि विस्तार भएको ट्रमा वार्डमा अर्थोपेडिक चिकित्सक २४ सैं घण्टा खटिने छन् । यसैगरी, अस्पतालले आईसीयू २० बेडसहित जनरल र इमर्जेन्सी गरी २७ बेडको कोभिड इमरजेन्सी सेवा पनि बिस्तार गरिएको छ ।

अस्पतालमा सेवा विस्तार भएपछि उपचारमा थप सहजता आउने अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. इन्द्र ढकालले बताए । ‘अस्पतालमा सेवा सुविधा विस्तार हुने क्रम जारी छ’, उनले भने, ‘प्रादेशिक अस्पताल बनेपछि सुधारका लागि धेरै काम भएको हो । यसलाई अझै राम्रो, गुणस्तरीय बनाउन प्रदेश सरकार र हामी लागिपरेका छौं ।’

विस्तारित सेवाको लुम्बिनी प्रदेशका स्वास्थ्य तथा जनसंख्यामन्त्री ईन्द्रजीत थारुले शुभारम्भ गरेका थिए । अस्पतालका मेडिकल सुपरिडेन्टेन्ट डा.ढकालले अतिरिक्त समयमा विरामीको हेर्ने कामलाई निरन्तरता दिँदै अस्पतालमा छिट्टै क्यान्सर रोगीको उपचार पनि सुरु गर्ने तयारी गरेको जानकारी दिए ।

‘अस्पताललाई विशिष्टिकृत गर्न मृगौला तथा मुटु रोगको थप उपचार सेवाको विस्तार गर्ने तयारी पनि गरिएको छ’, उनले भने । अस्पतालले यसअघि पनि करिब आधा दर्जन सेवा विस्तार गरेको थियो । एउटा अक्सिजन प्लान्ट रहेको प्रादेशिक अस्पतालमा केही महिनाअघि थप एउटा जडान भइ दुई वटा प्लान्ट पुगेको छ भने थप एउटा प्लान्ट जडान प्रक्रियामा छ ।

अस्पतालमा अब क्यालेस प्रणाली अपनाइने र यसको तयारी भैरहेको मेडिकल सुपरिटेन्डेन्ट डा. ढकालले बताए । एक वर्षदेखि रोकिएको आमा सुरक्षाभत्ता पनि अस्पतालले उपलव्ध गराउन थालेको छ । कोभिड भत्ता मन्त्रालयबाट प्राप्त भएको र छिट्टै चिकित्सक तथा कर्मचारीले पाउने उनले बताए ।

अस्पतालको स्तरोन्नतिका लागि १० तला भवनको गुरुयोजना बनाइ काम अगाडि बढाइएको छ । त्यस्तै, अस्पतालमा एमआरआई र क्याथ ल्याब सेवा अगाडि बढाउन टेन्डर प्रक्रिया सुरु गर्ने तयारी भैरहेको छ । स्वास्थ्यमन्त्री थारुले प्रदेशको स्वास्थ्य क्षेत्रलाई बलियो बनाउने गरी काम भइरहेको बताए ।

मन्त्री थारूले लुम्बिनी प्रादेशिक अस्पताललाई प्रदेशको गौरवको योजनामा राखेर काम गरिरहेको बताए । ‘प्रदेश सरकार अस्पतालको सेवा विस्तार गर्न र आवश्यक सहयोग प्रदान गर्न तयार छ’, उनले भने, ‘तर, अस्पतालको गुणस्तर कायम गर्न सवै जिम्मेवार बन्नुपर्ने हुन्छ ।’

मन्त्री थारुले लुम्बिनी प्रदेश सरकारले कोभिडबाहेक कुल बजेटको १० प्रतिशत स्वास्थ्य क्षेत्रमा छुट्याएको बताए । उनले लुम्बिनी प्रदेशमा स्वास्थ्य जनशक्तिको समस्या रहेको बताउँदै प्रदेश लोक सेवा आयोगको मुद्दा टुङ्गिन नसक्दा जनशक्ति व्यवस्थापनमा समस्या भइरहेको जनाए । प्रादेशिक अस्पतालमा साविक लुम्बिनी अंचलसहित प्यूठान, रोल्पा, रुकुुम, दाङका विरामी बढी मात्रामा उपचार गर्न आउँछन् । खासगरी गरिब तथा विपन्नको रोजाई अस्पताल पर्ने गरेको छ ।

अस्पतालमा टाउको, घाँटी उपचारसँग सम्बन्धित विशेषज्ञ चिकित्सा सेवा उपलब्ध छ । यस्तै, न्यूरो, सर्जिकल, प्रसूति तथा स्त्री रोग, दाँतमुख, अर्थोपेडिक्स, मनोरोग, बालरोग, अल्ट्रासाउन्ड, कार्डियोलोजी, फार्मेसीलगायत सेवा उपलब्ध छन् ।