January 20, 2022, Thursday
६ माघ २०७८, बिहीबार

प्रदेश प्रमुख शेरचनले राष्ट्रपतिलाई ‘भावपूर्ण श्रद्धासुमन’ भनेपछि … [भिडियो]

भैरहवा– प्रदेश प्रमुख आफैमा सम्मान जनक पद हो । उक्त पदमा रहेका व्यक्ति राजनीतिबाट टाढा रहन्छन् । विगत जुनसुकै राजनीतिक पार्टीमा आस्थावान रहे पनि यो पदमा पुग्दा राजनीतिबाट अलग रहनुपर्ने हाम्रो संवैधानिक व्यवस्था छ ।

Advertisement

त्यसैले सार्वजनिक कार्यक्रम वा अन्य ठाउँमा जाँदा धेरैले लिखित मन्तव्य राख्छन् । यो राष्ट्रपति, उपराष्ट्रपति, प्रतिनिधि सभाका सभामुख र राष्ट्रिय सभा अध्यक्षले पनि अभ्यास गर्दै आएका छन् । यसको अर्थ हो– कुनै विवादित शब्दको प्रयोग नहोस् ।

तर, बिहीबार भने लुम्बिनी प्रदेशका प्रदेश प्रमुख अमिक शेरचनले एउटै मंचमा रहेकी राष्ट्रपति विद्यादेवी भण्डारीप्रति अशोभनीय भाषा प्रयोग गरेका छन् । राष्ट्रपति मातहत रहने यो संस्थाका प्रमुखले नै अशोभनीय भाषा प्रयोग गरेपछि राष्ट्रपति पनि एकछिन दंग भइन् ।

बिहीबार लुम्बिनी बौद्ध विश्वविद्यालयको १७औं वार्षिकोत्सव समारोहमा प्रमुख अतिथि थिइन्, राष्ट्रपति भण्डारी । शेरचन विशिष्ट अतिथि थिए । राष्ट्रपति भण्डारी भन्दा अघि मन्तव्य दिने पालो प्रदेश प्रमुख शेरचनको आयो । उनले लुम्बिनी बौद्ध विश्वविद्यालय र लुम्बिनीबारे चर्चा परिचर्चा गरे ।

अन्तिममा भने उनको बोली यसरी चिप्लियो की, त्यो बोली सामान्य मानिसले पनि बोल्न सक्दैन । प्रदेश प्रमुखले राष्ट्रपतिलाई भनेका थिए – राष्ट्रपति लुम्बिनी आएकामा ‘हार्दिक भावपूर्ण श्रद्धासुमन व्यक्त गर्छु ।’ भावपूर्ण श्रद्धासुमन शब्द मृत मानिसलाई अर्पण गर्ने शब्द हो । लिखित मन्तव्य नदिएका शेरचनले राष्ट्रपतिलाई नै भावपूर्ण श्रद्धासुमन भनेपछि उनको चौतर्फी आलोचना सुरु भएको छ ।

उनको यो शब्द सुनेपछि राष्ट्रपतिसहित मंचमा आसिन विशिष्ट पाहुनाहरु र कार्यक्रममा सहभागीहरु अचम्म परेका थिए । कतिपयले उनको सचिवालय कमजोर भएको भन्दै आलोचना पनि गरेका थिए । उनी पटक-पटक राजनीतिक विषयमा बोल्दा विवादित समेत हुने गरेका छन् ।