December 6, 2021, Monday
२० मंसिर २०७८, सोमबार

बुद्धमूर्तिको स्वागत, भैरहवा–लुम्बिनी एक फन्को [फोटो फिचर]

भैरहवा– स्पेनको लुम्बिनी गार्डेन फाउण्डेसनले नेपाललाई उपलब्ध गराएको बुद्धमूर्ति नेपाल भित्र्याएसँगै भव्य स्वागत गरिएको छ । शनिबार यहाँका संघसंस्था र सरोकारवालाले मूर्तिको भव्य स्वागत मात्रै गरेनन्, भैरहवा–लुम्बिनीसम्म परिक्रमा गराएका हुन् ।

Advertisement

यो मूर्ति भैरहवास्थित निर्माणाधीन गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा राखिने छ । म्यान्मारमा निर्माण गरिएको यो मूर्ति हङकङ हुँदै भारतको कोलकाता बन्दरगाहबाट भैरहवा ल्याइएको थियो । बिहीबार भैरहवा भन्सार परिसरमा आइपुगेको मूर्तिको शुक्रबार भन्सार प्रक्रिया सबै पूरा गरिएको थियो । यो मूर्तिको भन्सार महशुल १ लाख ५७ हजार ५ सय ८३ रुपैयाँ लागेको छ ।

यो मूर्ति करिव २ अर्व ५० करोड रुपैयाँ लागतमा तयार भएको हो । मूर्ति म्यान्मारस्थित खानीसम्बन्धी कम्पनी मालविन ग्रुपले तयार पारी स्पेनको लुम्बिनी गार्डेन फाउण्डेसनलाई दिएको थियो । फाउण्डेसनले गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा स्थापनाका लागि नेपाल सरकारलाई हस्तान्तरण गर्न यहाँ ल्याएको हो ।

झाँकीसहित मूर्तिको विशेष स्वागत गरिएको थियो । लुम्बिनीस्थित म्यानमार बिहारका भिक्षुहरुले मूर्तिको विशेष पुजा गरेका थिए । भैरहवास्थित भन्सार परिसरका विशेष पुजा गरी त्यहाँबाट भैरहवा बुद्धचोकसम्म बाजागाजा, झाँकीसहित मूर्ति बजार परिक्रमा गराइएको थियो ।

त्यसपछि लुम्बिनीस्थित पाँच नम्बर गेट अगाडि राखेर लामा तथा भिक्षुले विशेष पुजा गरेका थिए । त्यहाँ आन्तरिक तथा बाह्य पर्यटकले पनि फूलमाला चढाएर स्वागत गरेका थिए । यसअघि भैरहवा क्षेत्रका ठाउँ ठाउँमा स्थानीयले फूलमालाले मूर्तिको स्वागत गरेका थिए ।

लुम्बिनी गार्डेन फाउण्डेसन, नेपालका सचिव तुलसीराम लामिछानेले बुद्ध मूर्ति बहुमूल्य धातु ‘ह्वाइट जेड’ बाट बनेको बताए । करिव ६ महिना लगाएर म्यानमारका भिक्षुहरुले मूर्ति कुदेका थिए । यही कात्तिक १४ गते राष्ट्रपति विद्यादेवी भण्डारीले गौतमबुद्ध विमानस्थलमा मूर्तिको अनावरण गर्ने कार्यक्रम तय गरिएको छ ।

यसअघि कात्तिक १३ गते लुम्बिनीको मायादेवी मन्दिरमा दीप प्रज्वलनसहित शान्तिको कामना गर्न स्पेनका सभामुखको नेतृत्वमा विशेष प्रतिनिधिमण्डल नेपाल आउने कार्यक्रम तय भइसकेको लामिछानेले जनाए । मूर्तिको स्वागतमा सिद्धार्थ उद्योग बाणिज्य संघ, लुम्बिनी होटल संघ लगायतका संस्थाले विशेष कार्यक्रम आयोजना गरेका हुन् ।

मूर्ति परिक्रमा गराउने क्रममा विभिन्न ठाउँमा आयोजित कार्यक्रममा बोल्दै संविधान सभा सदस्य ईस्तियाक अहमद खाँन, लुम्बिनी विकास कोषका उपाध्यक्ष अवधेश कुमार त्रिपाठी, रामग्राम नगरपालिकाका प्रमुख नरेन्द्रकुमार गुप्ता, सिद्धार्थनगर नगरपालिकाका उपप्रमुख उमा काफ्ले, लुम्बिनी सास्कृतिक नगरपालिकाका प्रमुख प्रशाशकीय अधिकृत भूपेन्द्र पाण्डेय, लुम्बिनी होटल संघका अध्यक्ष गोविन्द ज्ञवाली, उद्योग बाणिज्य संघ अध्यक्ष भीष्मप्रसाद न्यौपाने, संस्कृतिविद् प्रा.डा.गितु गिरी, पूर्व प्रदेश मन्त्री सन्तोषकुमार पाण्डेय लगायतले बौद्ध पर्यटन विकास र अन्तर्राष्ट्रिय दैत्य सम्बन्ध स्थापना गर्न मूर्तिले सहयोग पुग्ने विश्वास गरे ।