October 15, 2021, Friday
२९ आश्विन २०७८, शुक्रबार

चुस्त व्यवस्थापनले फेरिएको विद्यालय

भैरहवा– अधिकांश संस्थागत र सामुदायिक विद्यालयका विद्यार्थी पहिचान गर्ने तरिका– उसले लगाएको ड्रेस (विद्यालय पोसाक) बाट गर्न सकिन्छ । संस्थागत विद्यालयले हेर्दा आकर्षक देखिने ड्रेस र सरसफाइलाई विशेष प्राथमिकता दिएका हुन्छन् । तुलनामा सामुदायिक विद्यालयमा कोही बिना ड्रेस त कोही झुत्रेझाम्रे भएर पठनपाठनका लागि आउने गर्छन् ।

विद्यार्थी मात्र होइन्, शिक्षक, कर्मचारी र विद्यालयको भवनबाट पनि निजी विद्यालयहरुले प्रभावित गरिरहेका हुन्छन् । हो, रुपन्देहीको सिद्धार्थनगर नगरपालिका–४ रहेको नव दुर्गा माध्यमिक विद्यालयले देखावट आर्कषण तथा शिक्षाको गुणस्तर सुधारलाई प्राथमिकता दिएको छ । जसबाट विद्यार्थी र अभिभावकको मन तानेको छ ।

सानो प्राङ्गण भित्र चिटिक्क परेको विद्यालय छ । ‘पहिलो छाप, अन्तिम छाप’ भने जस्तै बाहिरबाट विद्यालय हेर्दा आकर्षक बनाइएको छ । विद्यार्थी र शिक्षकको पोसाक प्रभावित बनाउने खालको छ । कोरोना भाइरसको महामारी शुरु हुनु अघि विद्यालय बन्द हुने अवस्थामा थियो । तर, यो डेढ वर्षको अवधिमा विद्यालयले अनपेक्षित सुधार गरेको छ ।

विद्यार्थी नभएर बन्द हुन लागेको विद्यालयको कक्षाकोठामा अहिले टनाटन विद्यार्थी छन् । एउटा कुशल व्यवस्थापक र शिक्षाको गुणस्तर सुधार गर्न कटिबद्ध प्रधानाध्यापक (प्रअ) भए सामुदायिक विद्यालयको अवस्था परिवर्तन हुनसक्छ भन्ने उदाहरण यो विद्यालय बनेको छ । जब विद्यालयमा नयाँ व्यवस्थापन समिति र प्रअ आए, उनीहरुको नयाँ व्यवस्थापनले विद्यालयमा परिवर्तन आएको हो ।

पहिला भवन जीर्ण थियो । लगानी गर्न विद्यालयसँग रकम थिएन । तीन कठ्ठा सात धुर जग्गा मात्रै सम्पत्ति रहेको विद्यालयको आर्थिक अवस्था ज्यादै कमजोर थियो । यस्तो अवस्थामा शिक्षक र व्यवस्थापन समितिबीच विद्यालय पुनर्निर्माण गर्न स्वेच्छिक लगानी गर्ने सहमति भयो ।

जीर्ण भवन पुनर्निर्माण गर्न व्यवस्थापन समिति र शिक्षकले करिव दश लाख लगानी गरेका छन् । ‘त्यसैले पनि विद्यालय सुधारमा सबै तत्पर देखिन्छन्’, विद्यालय व्यस्थापन समितिका अध्यक्ष गोविन्द यादवले भने, ‘आफ्नो लगानी भएपछि अपनत्व बढ्ने रहेछ ।’ सबैको जोडबल र तत्परताले विद्यालयको अवस्थामा सुधार भएको उनले बताए ।

विद्यालयको आकर्षण त आकर्षित गर्ने एउटा माध्यम थियो । तर, विद्यार्थीलाई टिकाइ राख्न शिक्षाको गुणस्तरमा सुधार गर्नुपर्ने प्रमुख चुनौती विद्यालयलाई थियो । त्यसको लागि विद्यालयले अनुशासनलाई प्राथमिकता दिएको छ । जुन विद्यार्थी, शिक्षक र व्यवस्थापन समिति सबैलाई लागू हुन्छ । शिक्षकको नियमितता, शिक्षण सिकाईमा परिवर्तन र अंग्रेजी माध्यममा पठनपाठन विद्यालयले शुरु गरेको प्रधानाध्यापक दिपेन्द्रकुमार गौडले बताए ।

‘अनुशासित, सांस्कारिक र बजारमा प्रतिस्पर्धा गर्न सक्ने अब्बल विद्यार्थी उत्पादन गर्ने प्रण हामीले लिएका छौं’, उनले भने । यहाँ २०७६ को शैक्षिक सत्रमा मात्र डेढ सय विद्यार्थी थिए । अहिले बढेर चार सय ७० पुगेका छन् । बालशिक्षादेखि कक्षा तीनसम्म अंग्रेजी माध्यमबाट पठनपाठन हुन्छ । हरेक वर्ष क्रमिक रुपमा अंग्रेजी कक्षा बढाउने विद्यालयले जनाएको छ ।

विद्यार्थी बढेपछि भवन अपुग भएको छ । गाभ्न तयारी गरेको विद्यालयलाई चुस्त व्यवस्थापनले विद्यार्थी बढेपछि सिद्धार्थनगर नगरपालिकाले नयाँ भवन बनाइरहेको छ । नगरपालिकाले एक करोड, राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम मार्फत १८ लाख र वडा कार्यालयलको ११ लाख बजेटमा विद्यालय स्तरोन्नतीमा खर्च भैरहेको छ ।

यहाँ विहानको प्रार्थनामा समाज सुधारका लागि योगदान पुर्याएका थरिथरिका व्यक्तिबाट विद्यार्थीलाई प्रोत्साहन गर्ने गरिएको छ । त्यस्ता व्यक्तिले विद्यालयलाई आर्थिक सहयोग समेत गर्ने गरेका छन् । यसरी उठ्ने रकमबाट विपन्न विद्यार्थीलाई कापी, कलम, ड्रेस लगायतका सामग्री उपलब्ध गराइन्छ ।

कुशल व्यवस्थापन र शिक्षण सिकाइमा शिक्षकको लगनशीलताले नै शिक्षाको गुणस्तरमा सुधार आउने अभिभावक बताउँछन् । पढाई राम्रो भएको विद्यार्थी बताउँछन् । पठनपाठनसँगै सरसफाई र व्यक्तिगत आचरण सुधारमा शिक्षकले जोड दिएका छन् ।