February 8, 2025, Saturday
२०८१ माघ २७

बुद्धचोकमा ९:४५ बजे

भैरहवा– आइतबार बिहान करिब ९:४५ को समय । सरकारी तथा गैरसरकारी कार्यालयमा कार्यरत कर्मचारी कार्यालयमा पुग्न अति हतार हुने वेला । विभिन्न शैक्षिक संस्थाका बिद्यार्थी र शिक्षक बिद्यालय–कलेज पुग्ने समय । स्वभाविक रुपमा यो समय सडकमा धेरै गाडी र यात्रुको चाप हुने गर्छ ।

बुद्ध चोकमा खचाखच बिद्यार्थी भरिएको म१क१५८ नम्बरको स्कुल बस आइपुग्यो । जहानेर लुम्बिनीतर्फबाट आएका गाडी भैरहवा र बुटवलतर्फ मोडिने स्थान छ, त्यहीनेर सिधै उत्तरतर्फबाट आइपुग्दा बसको मुनीपट्टिीको सापट भाँच्चियो । बस गुडेन । बस घिस्रिएर केही पर पुगेर जवरर्जस्ती रोकियो ।

Advertisement

बस बिग्रेको जानकारी भएपछि बस भित्रका सबै बिद्यार्थी ओर्लिएर बिद्यालय जान पैदल यात्रा सुरु गरे । जेसीज आवासीय माध्यामिक विद्यालय लेखिएको उक्त बस एक्कासी सडकमा रोकिँदा धन्न अन्य गाडीको ठक्करबाट दुर्घटना हुन जोगिएको थियो । सडकमा ट्राफिक प्रहरी तैनाथ थिए । ट्रािफक प्रहरीहरुकै सहयोगमा बसलाई धकेलेर सडक किनारामा लगाइयो ।

बसलाई धकेलेर सहयोग गरेका र ड्युटिमैं रहेका ट्राफिक असई बधुसुदन बन्जाडेले चारैतिरबाट गाडीको आवतजावत भैरहने अति व्यस्त चोकमैं उक्त बस एक्कासी रोकिएर अघि नबढ्दा अन्य गाडीको ठक्करबाट जोगिएको प्रतिक्रिया दिए ।

‘बसमा क्षमता भन्दा कयौं बढी बिद्यार्थी थिए’, बन्जाडेले भने, ‘बसको वेलावेलामा मर्मत नगरिनु र बस चलाउनु अघि कुन मेशिन के–कस्तो अवस्थामा छन् ? भन्ने वारेमा चेक नगरिनुको परिणाम हो यो ।’

गाडी जति पुरानो भए पनि चल्दासम्म जवर्जस्त चलाउने र नचलेका दिन जे होला होला भन्ने सोंचमा परिवर्तन ल्याउन जरुरी भएको उनले बताए । यो घटना एउटा प्रतिनिधिमूलक र संयोगमात्र हो । उक्त बिद्यालयको मात्रै नभएर भैरहवा क्षेत्रमा धेरै यस्ता पुराना गाडी विद्यालयको नाममा गुडिरहेका छन् ।

कलिला उमेरका र भविष्यमा देशका कर्णधार विद्यार्थी बोक्ने गाडी राम्रो अवस्थाको हुनु पर्ने हो । बिडम्बना नै मान्नुपर्छ, पुराना गाडी त्यसमा पनि कुन मेशिनले कुन बेला काम गर्दैन ? ठेगान नै नहुने गाडी चल्नुलाई । यसतर्फ कुन निकायले नियमन गर्ने ? र कुन निकाय जिम्मेवार ?

अर्कातर्फ बसको वेलावेलामा मर्मत, सर्भिस नगर्ने, क्षमता भन्दा धेरै विद्यार्थी चढाउने, हरेक दिन बिहानै बिद्यार्थी बोक्नु भन्दा अघि बसको सामान्य परीक्षण गर्ने परिपाटी र नियम विद्यालयले लागु गर्न जरुरी छ । हामी अभिभावक, आफ्ना सन्तानलाई तोकिएको शुल्क तिरेर स्कुलकै बसमा पठाएका छौं भन्दै निर्धक्कका साथ बसिरहेका छौं । तर, उनीहरुलाई प्रयोग गरिने बस कुन अवस्थाका छन् ? भनेर सोंचबिचार पुर्याएका छौं त ? अब यसतर्फ प्रत्येक अभिभावक, नागरिक समाज, सरकोरवाला र जिम्मेवार निकायहरु सजक र सचेत बन्नु पर्ने हो की ?