November 3, 2024, Sunday
२०८१ कार्तिक १८

सघाउने कोही नआएपछि आफै घर बनाउँदै बाढीपीडित

भैरहवा– आँगनमा रहेका स्थानीय सरकारले वास्ता गरेनन् । बाढीले अत्याएका बेला ‘सेल्फी’ खिच्न आउने दाता पनि फर्केनन् । मध्य भदौंमा उर्लिएर घरभित्र पसेको बाढीले पश्चिम नवलपरासीको सदरमुकाम लगायत बस्तीलाई खण्डहर बनाएको छ । अघिपछि सघाउनेको घुँइचो लाग्थ्यो । यसपटक त्यस्तो अवस्था छैन ।

करिब तीन हप्ता अघि बाढीले डुवानमा परेको पश्चिम नवलपरासी ।

डुवानले अधिकांशको घरमा क्षति पुगेको छ । त्यसैले पश्चिम नवलपरासीका बाढीपीडित आफै बाढीले तहसनहस बनाएको घर ओत्न लाग्न मिल्ने बनाउन जुटेका छन् । पीडामा खाटा नबस्दै चाडबाडको सिजन सुरु भएको छ । पीडाका बेला आर्थिक र भौतिक रुपमा सघाउन कोही नआएपछि उनीहरु एकअर्काको दुःखमा हातेमालो गर्न थालेका हुन् ।

Advertisement

पालैपालो घर बस्न मिल्ने बनाउन खटिएका छन् । बाढीले धेरैलाई अन्नपातबिहीन तुल्याएको छ । लत्ताकपडा बगाएको छ । पकाउने भाँडाकुँडा पनि बगायो । त्यसैले ओत लाग्न मिल्ने घरमा खानेकुरा अभाव छ । रामग्राम नगरपालिकाले बाढीपीडितलाई स्थानीय विद्यालयमा बसाएको थियो । त्यही खानेकुरा वितरण गरेको थियो । पीडितले सधैभरि विद्यालयमा बसेर गुजारा नचल्ने भएकाले अभावकै बीच घर पुनर्निर्माणमा लागेको बताए । त्यसका लागि उनीहरुले आफन्तसित ऋणदान लिएको बताए ।

सुनवल–१० खकरीबारीस्थित तुरिया खोलाको किनारमा रहेको बस्तीमा अधिकांश विपन्न र दलित समुदायको बस्ती छ । बस्तीमा खोला पसेपछि अब कसरी घर बनाउने भन्ने चिन्ताले सताएको भए पनि पीडित डुबेको बस्ती उठाउन आफैं लागिपरेका छन् ।

स्थानीय सूर्यबहादुर श्रेष्ठ शारीरिक रूपमा अपांग छन् । घरमा दुई जना छोराछोरी र श्रीमतीको लालनपालन गर्न नै उनलाई धौ–धौ थियो । ऋण गरेर बनाएको सानो कच्ची घर बाढीले बगाएपछि उनी अब कसरी घर बनाउने भन्ने चिन्तामा छन् । बस्ती–बस्ती पुगेर खुद्रा सामान बिक्री गरेर गुजारा चलाउने श्रेष्ठलाई नयाँ घर बनाउन आँट आएको छैन । तर, सपरिवार कहाँ बस्ने भन्ने अर्को पिरलो छ ।

‘मेरो घर बनाउने आर्थिक हैसियत छैन । कोही मनकारीहरूले सहयोग गरेर सानो बास बनाइदिनु भयो भने मेरो उपकार हुने थियो,’ उनले भने, ‘बस्ने बास भयो भने जसोतसो श्रीमती र मैले काम गरेर भए पनि गुजारा चलाउने थियौं ।’ स्थानीय भीमकला सार्कीको खरको छानो भएको घरको अहिले नामोनिसाना छैन । भदौ १० गते उनीहरू सपरिवार आफन्तकहाँ बस्न गएका थिए । त्यसै दिन बाढीले कच्ची घर बगाएको हो ।

अहिले उनीहरू घर बनाउनका लागि काठ र खरको खोजीमा छन् । ‘सरकारले सहयोग गर्याे भने ठिकै छ । आफ्नो घर त जसोतसो बनाउन पर्यो, सधैंभरि स्कुलमा बसेर हुँदैन । अब स्कुल सुरु भएपछि कहाँ बस्ने भन्ने टुंगो छैन,’ उनले भने, ‘पीडित परिवार सबै मिलेर एकअर्काको काममा सहयोग गरेका छौं । पालैपालो घर सफा गर्ने र मर्मत हुँदैछ ।’

जिल्लाको पाल्हीनन्दन, सरावल, सुस्ताका बाढीपीडित पनि बिस्तारै पुनःस्थापित हुँदैछन् । पानीको सतह घटेपछि घर सरसफाइ गर्ने, मर्मत गर्ने र केही नयाँ सामानको जोहो गरेर जनजीवन सामान्य बनाउने कोसिसमा स्थानीय छन् । सुनवल नगरपालिकाका उपप्रमुख दधिराम अर्यालले पूर्णरूपमा घर नष्ट भएकाहरूका लागि केही राहत रकम प्रदान गरिने भए पनि सम्पूर्ण घर निर्माण गर्न स्थानीय तहले मात्र सम्भव नभएको बताए ।

‘हामीले पीडितका लागि खाने र बस्ने व्यवस्था गरेका छौं । घर भत्किएकाहरूलाई सामान्य मर्मतका लागि आर्थिक सहयोग पनि गर्ने छौं,’ उनले भने, ‘तर, पूर्णरूपमा घर नै नयाँ बनाउन प्रदेश र संघ सरकारसँग समन्वय गरेरमात्र काम अगाडि बढ्ने छ ।’ बाढी पसेको तीन हप्ता हुन लाग्दा पनि खान र बस्नबाहेक विस्थापितका लागि अन्य राहतको कार्यक्रम ल्याउन जिल्लाका स्थानीय तहले चासो दिएका छैनन् । जिल्लामा ५ सयभन्दा बढी परिवार बाढीबाट विस्थापित भएका छन् ।