‘अवसरवाद’मा रमाएका पूर्व माननीय


भैरहवा – डेढ महिना अघि भैरहवामा भएको एउटा कार्यक्रममा लुम्बिनी प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्रीसमेत रहेका जनता समाजवादी पार्टी (जसपा)का नेता सन्तोष कुमार पाण्डेयले भनेका थिए, ‘तपाईंहरुले मत दिनुभयो, चुनाव जितेँ । अवसर आयो मन्त्री भएँ । पार्टीको कारबाही फरक पर्दैन । मेरो क्षेत्रमा धेरै बजेट छुट्याएको छु ।’
उनले अघि थपेका थिए, ‘भगवानको कृपा छ, सन्तोष पाण्डेय सफल हुँदै गएको छ । यहाँहरु सबैको कृपा मलाई छ । बहुत–बहुत धन्यवाद ।’ पार्टीको कारबाही फरक पर्दैन भन्दै उनले यसरी धेरै ठाउँ गफ छाँटे । असर आयो मन्त्री भएँ भनेर धेरैपल्ट भाषण ठोके । धेरैले पाण्डेयलाई काम भन्दा गफ चुटेको भन्दै आलोचना गरे । उनका समर्थकले भने हाई–हाई गरे ।
यिनै पाण्डेयलाई जसापाले दुई–दुई पटक पार्टीबाट कारबाही गरेको छ । उनको मुद्दा सर्वोच्चमा विचारधीन छ । मन्त्री पदकै लागि पार्टी राजनीतिलाई दाउमा राखेका उनले मंगलबार मन्त्री पदबाट राजीनामा दिएको घोषणा गरे । यसअघि सरकार फेरबदलको चर्चा चलिरहँदा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र काँग्रेस सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेको चर्चा थियो ।
जसरी हुन्छ अवसर लिने शैली पाण्डेयले अपनाएका छन् । उनको मन्त्री पदबाट राजीनामा सांसद पद जोगाउने र लुम्बिनीमा सरकार परिवर्तन भए फेरि मन्त्री बन्ने दाउको अर्को अस्त्र भएको धेरैले अथ्र्याएका छन् ।
मुख्यमन्त्री शंकर पोखरेलविरुद्ध नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र) र जसपाले ६ वैशाख दिउँसो अविश्वास प्रस्ताव दर्ता गरेका थिए । त्यही साँझ मुख्यमन्त्री पोखरेलले जसपाका चार जना सांसदलाई मन्त्री नियुक्त गरेका थिए । जसपाका पाण्डेय भौतिक पूर्वाधार विकासमन्त्री, विजयबहादुर यादव भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री, कल्पना पाण्डे लम्साल शिक्षा तथा सामाजिक विकासमन्त्री र सुमन शर्मा रायमाझी भौतिक पूर्वाधार विकास राज्यमन्त्री नियुक्त भएका थिए । पाण्डे, यादव र रायमाझीले अविश्वासको प्रस्तावमा समेत हस्ताक्षर गरेका थिए ।
त्यसपछि उनीहरुलाई मन्त्रीबाट राजीनामा दिन जसपा प्रदेश समितिले निर्देशन दिँदै स्पष्टीकरण सोधेको थियो । उनीहरूले राजीनामा नदिएपछि कारबाहीका लागि केन्द्रमा सिफारिश गरेको थियो । प्रदेश समितिको सिफारिशका आधारमा १४ बैशाखमा जसपा पदाधिकारी बैठकले चारै जनाको सांसद पद खारेज गर्ने निर्णय गरेको थियो । पार्टीको पत्रका आधारमा चारै जना पदमुक्त भए । त्यसपछि उनीहरु सर्वोच्च अदालत पुगे । पद थमौती भयो । मन्त्री पनि भए ।
पछि जसपा पार्टीको आधिकारिकता उपेन्द्र यादव पक्षले पायो । त्यसपछि उनीहरु फेरि कारबाहीमा परे । यो बीचमा मन्त्री पदबाट राजीनामा दिएर रायमाझी पार्टीमा फर्किइन् भने यादव, पाण्डेय र लम्साल मन्त्री बनीरहे । फेरि जसपाले उनीहरु तीनजनालाई कारबाही गर्यो । पार्टीको कारबाही अनुसार प्रदेशसभा सचिवालयले पदमुक्त गरेपछि उनीहरुको सांसद पद गयो । पुनः उनीहरु सर्वोच्चको ढोकामा पुगे । सर्वोच्चले तत्काल पद थमौती गरेन ।
त्यसपछि अत्तालिएका तीन जनामध्ये पाण्डेयले एकाएक मंगलबार राति पार्टी संसदीय दलको निर्णय भन्दै मन्त्री पदबाट राजीनामा दिए । लम्साल र यादवले पनि राजीनामा दिने तयारी गरेको बुझिएको छ । ‘अवसरका लागि पार्टीलाई मानेनन्, स्वार्थले निरन्तरता नपाउने र मुख्यमन्त्री पोखरेल सरकार ढल्ने निश्चित भएपछि मन्त्रीबाट पाण्डेयले राजनीनामा दिएका हुन्’, जसपा लुम्बिनीका एक सांसद भन्छन्, ‘अब उनीहरुलाई पार्टीमा कुनै ठाउँ छैन । अवसरवादीलाई पार्टीमा राखेर फाइदा होइन्, उल्टो क्षति हुन्छ ।’
हुन पनि हो, पाण्डेयकै नेतृत्वमा जसपामा विभाजनको बीउ रोपियो । सांसद पदबाट मुक्त भए पनि उनले मन्त्रीको गाडी चढीरहे । अवसर भन्दै भाषण गर्दै हिंडे । राजनीतिकर्मीको अन्तिम लक्ष्य पद र ओहदामा पुग्ने हुन्छ, तर जुन पार्टीबाट चुनाव जिते, सांसद बने, त्यही पार्टीमाथि घात गरेर उनीहरु पदका लागि सबै हर्कत गरे । त्यसैले उनीहरुलाई धेरैले ‘अवसरवाद’को उपमा दिइरहेका छन् ।
अहिले जसपामा फर्किए सर्वोच्चले सांसद पद थमौती गर्छ की भन्ने उनीहरुको आशा छ । यसैकारण पाण्डेयले हतार हतार मन्त्ती पदबाट राजीनामा दिए । यादव र लम्साल दिने तयारीमा छन् । ‘उनीहरुको न रह्यो सांसद पद न रहन्छ मन्त्री पद’ भन्ने अवस्था पुगेपछि राजनीनामा आएको चर्चा छ । किन भने आज लुम्बिनी प्रदेशमा मुख्यमन्त्री शंकर पोखरेलविरुद्ध अविश्वासको प्रसातवमाथि छलफल हुँदैछ । सम्भवतः आजै पोखरेल नेतृत्वको सरकार ढल्ने छ । ४१ जना सांसद विपक्षी दलमा छन् भने सत्तापक्षमा ३८ मात्रै छन् । अंकगणितमा तल परेका पोखरेलविरुद्धको अविश्वास प्रस्ताव संसदबाट पारित भए उनको सरकार ढल्छ । विपक्षीको नेतृत्वमा सरकार बन्छ ।
अवसरको खोजीमा मन्त्री भएका तीनै जनाको सांसद पद गएको छ । कारबाहीमा पर्दा पार्टी राजनीति सकिएको छ । मन्त्री पदबाट राजीनामा दिए । अब उनीहरु बेरोजगार जस्तै भएका छन् । अझ अर्को अर्थमा भन्दा उनीहरु घरको बार्दलीमा खुम्चिएका छन् ।
प्रतिकृया दिनुहोस्