जो अब्बल कहलिए, उनैलाई हटाउन लुम्बिनी सरकारको हतारो
भैरहवा – कोरोनाको पहिलो र दोस्रो लहरमा रातदिन नभनी काम गरे । दोस्रो लहरले रुपन्देही निकै आक्रान्त बन्यो । यस्तो अवस्थामा लुम्बिनी प्रादेशिक अस्पताल अब्बल ठहरियो । अस्पतालका प्रमुख मेडिकल सुपरीटेन्डेन्ट डा. राजेन्द्र खनालले त्यसको नेतृत्व गरे ।
रुपन्देही मात्रै होइन्, साविक लुम्बिनी अंचलसहित प्यूठानका विरामी समेत यहाँ उपचारमा आए । राम्रो व्यवस्थापन र नेतृत्वदायी क्षमताले धेरैले सरल र राम्रो उपचार पाए । डा.खनालको प्रशंसा बढ्यो, नेतृत्व क्षमताको चर्चा भयो । खरो स्वभावका उनले अस्पताललाई सरकारी पक्षबाट हुनुपर्ने जति सहयोग नभएको भन्दै सामाजिक संजालमा स्टाटस लेखिरहन्थे । उनले जेसुकै लेखे पनि दोस्रो लहरमा उनको काम तारिफयोग्य बन्यो ।
अहिले महामारीको तेस्रो लहर फैलिने त्रास बढेको छ । कतिपयले तेस्रो लहर आइसकेको र अबका केही दिनमा अवस्था जटिल बन्ने बताइरहेका छन् । यस्तो, अवस्थामा लुम्बिनी सरकारले भने प्रादेशिक अस्पतालको नेतृत्व फेरबदलको तयारी गरेको छ । अल्पमतमा रहेको सरकारले अब्बल कहलिएका डा. खनाललाई परिवर्तन गर्न लागेको भन्दै आलोचना सुरु भएको छ ।
अस्पतालका चिकित्सक तथा स्वास्थ्यकर्मी र कर्मचारीहरूलाई विरामीको सेवाप्रति प्रतिबद्ध बनाउँदै बिग्रिँदै गएको अस्पताल प्रशासन सुधारमा डा.खनाल लागेका थिए । प्रदेश सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र प्रदेश सरकार नै अहिले हात धोएर डा. खनाललाई हटाउन लागेको छ । रेडियोलोजिष्ट डा. खनालकै नेतृत्वमा अस्पतालको इमर्जेन्सी तथा आईसीयूको व्यवस्थापन तथा रेडियोलोजी विभागको स्तरबृद्धि भइसकेको छ ।
अस्पतालका प्रमुख मेसु डा. खनाललाई हटाएर निजी अस्पतालका संचालकसमेत रहेका डा.इन्द्र ढकाललाई प्रमुख बनाउने तयारी लुम्बिनी सरकारले गरेको हो । यो प्रस्ताव स्वास्थ्य तथा जनसंख्या मन्त्री भोजप्रसाद श्रेष्ठले मन्त्रिपरिषदमा लगेको बताइएको छ । प्रादेशिक अस्पतालका एक चिकित्सक भन्छन्, ‘राम्रो गर्नेलाई कोही ठाउँ हुँदैन, राम्रो गरेको प्रदेश सरकारलाई पचेन, निजीका संचालकलाई ल्याएर के गर्न खोजेका हुन् ?’, उनले प्रश्न गरे, ‘यहाँ आउने विरामीलाई निजीतिर पठाउन यो सबै खेल भइरहेको हुनसक्छ ।’
प्रस्तावित मेसु डा.ढकाल हाडजोर्नी विशेषज्ञ हुन् । उनी प्रदेश मुकाम बुटवलमा सञ्चालित साझा अस्पतालका सञ्चालक हुन् । डा. खनाललाई हटाएर ढकाललाई प्रमुख बनाउन स्वास्थ्य मन्त्री श्रेष्ठ र एमालेका केही सांसदहरु नै लागि परेको स्रोतको दावी छ । मुख्यमन्त्री शंकर पोखरेल पनि निजीका संचालक डा.ढकाललाई मेसु बनाउन सकारात्मक छन् ।
अर्कातर्फ स्वास्थ्य सचिव नै मेसु डा.खनालप्रति रुष्ट छन् । सामाजिक सञ्जालमा डा. खनाल कोभिडको दोस्रो लहरले सबैतिर आक्रान्त पारिरहेका बेला अस्पतालमा आवश्यक उपकरण तथा अक्सिजन व्यवस्थापन गर्न नसकेको भन्दै सरकारको आलोचना गरेको गर्यौ गर्थे । उनको आलोचनाप्रति स्वयं मुख्यमन्त्री पोखरेल, मन्त्री श्रेष्ठ र स्वास्थ्य सचिव विकास देवकोटा रुष्ट थिए । उनीहरुले उपयुक्त समयको खोजीमा थिए । अहिले डा.खनाललाई सरुवा गर्ने उपयुक्त समय आएको भन्दै मन्त्रीदेखि नेतासम्म लागि परेको स्रोत बताउँछ ।
मन्त्रिपरिषदले डा. खनाललाई हटाएर ढकाललाई प्रमुख बनाउने निर्णय गरिनसके पनि अप्रत्यक्ष रुपमा डा. खनाललाई बाटो खाली गरिदिन सरकारले नै दवाव दिएको बताइन्छ । कतिपयले अहिले अस्पतालमा करोडौंका भौतिक संरचना निर्माण तयारी भइरहँदा कमिसनका लागि निजी अस्पताल संचालक खनाललाई मेसु बनाउन लागिएको चर्चासमेत गरेका छन् ।
डा. खनाल २०७२ सालमा तत्कालीन लुम्बिनी अञ्चल अस्पतालको प्रमुख बनेका थिए । आफूभन्दा माथिल्लो तहका डा. विकास देवकोटा सरुवा भएर आएपछि त्यतीबेला डा.खनाल मेसुबाट बिदा भएका थिए । त्यसपछि २०७६ मंसिरमा तत्कालिन मेसु डा. कृष्ण खनालको अवकाशपछि डा.खनाल मेसु बनेका हुन् ।
मन्त्री श्रेष्ठले अस्पतालको नेतृत्व परिवर्तन नियमित प्रक्रिया भएको बताए । ‘सरकारले मूल्यांकन र विश्लेषणको आधारमा नेतृत्व परिवर्तन गर्न सक्छ । अहिले पनि त्यही गर्न लागेका हौं’, उनले भने, ‘प्रादेशिक अस्पतालको मात्र होइन, अरु क्षेत्रका अस्पतालमा पनि नेतृत्वको मूल्यांकन र विश्लेष गरी परिवर्तन गर्दैछौं ।’
उनले अस्पतालको नेतृत्वमा आउन लागेका डा.ढकाल निजीको संचालक भन्दा पनि लोकसेवाबाट छनोट भएका दक्ष चिकित्सक भएको बताए । निजीको संचालक भनेर आरोप लगाउनु ठीक नभएको उनलको तर्क छ । मेसु डा.खनालले आफूलाई सरकारले परिवर्तन गर्न लागेको जानकारीमा आएको बताए । तर, यस विषयमा अन्य कुरा नबोल्ने उनले बताए ।
प्रतिकृया दिनुहोस्