April 19, 2024, Friday
७ बैशाख २०८१, शुक्रबार

सांसद वली आज सार्वजनिक होलिन् ?

बुटवल – दुर्घटनामा प्रदेशसभा सदस्य श्रीमान गुमाएपछि दाङकी बिमला खत्री वलीको राजनीतिमा प्रवेश भएको हो । दाङ निर्वाचन क्षेत्र नम्बर ३ (ख) मा उप–निर्वाचनबाट उनी निर्वाचित भएकी थिइन् । निर्वाचित भएको लामो समयसम्म उनी चर्चामा थिइनन् । प्रदेशसभामा उपस्थित हुन्थिन् । फर्किन्थिन् ।

Advertisement

गत बैशाख ६ गते विपक्षी गठबन्धनले मुख्यमन्त्री शंकर पोखरेलबिरुद्ध अविश्वास प्रस्ताव दर्ता गराएपछि उनको भूमिकालाई लिएर एमाले र माओवादी केन्द्रबीच तानातान सुरु भयो । वली तत्कालीन नेकपाबाट निर्वाचित भएकी हुन् । गत फागुन २३ गते सर्वोच्च अदालतले गरेको फैसलाका आधारमा नेकपा विभाजित भयो । त्यसपछि उनलाई आफू कुन दलमा आबद्ध हुने प्रष्ट्याउनु पर्ने भयो ।

Advertisement

नेकपाबाट सूर्य चुनाव चिन्ह लिएर निर्वाचित भएकाले एमालेमै रहनुपर्ने जिकिर सत्ता पक्षले गर्याे । वलीले भने माओवादी केन्द्र रोजेको भन्दै पत्रकार सम्मेलन मार्फत् सार्वजनिक गरिन् । ‘कित्ता’ खुलाएपछि केही समय मौन रहेको राजनीति साउनमा फेरि वलीलाई लिएर तातेको छ । बैशाख यता अल्पमतमा परेका मुख्यमन्त्री शंकर पोखरेलले कहिले संसद छल्दै त कहिले तत्कालीन प्रदेश प्रमुखसित मिलेमतोमा आफ्नो पद लम्ब्याउ“दै आए ।

यसबीच विपक्षी निरन्तर पोखरेलको विस्थापनका लागि क्रियाशील रहे । पछिल्लो पटक नयाँ प्रदेश प्रमुखमा अमिक शेरचन आएपछि आफ्नो कुरा लागू नहुने बुझेको एमालेले पक्षमा बहुमत पुर्याउन विभिन्न रणनीति अपनाइरहेको छ । विपक्षी गठबन्धन आफ्नो बहुमत कायम राख्ने प्रयासमा देखिन्छ । यस्तो रस्साकस्सी सुरु भएको केही दिनमा फेरि सांसद वली सम्पर्कबिहीन भएको खबर सार्वजनिक भयो । लगत्तै उनी एमालेमै फर्किएको प्रचार सुरु भयो ।

उनको फोन सम्पर्क हुन सकेन । परिवारले पनि अवस्था खुलाउन सकेनन् । उनी कहाँ छन् ? सबैले अनुमानका कुरा गरे । दाङका प्रमुख जिल्ला अधिकारी र प्रहरी प्रमुखले वलीको नेपालगन्जमा उपचार भइरहेको र सुरक्षित रहेको जानकारी दिए । तर, नेपालगन्जमा कहाँ छन ? खुलाएनन् । त्यसले पनि अन्योल समाम्त गरेन ।

यस्तै अन्योलकाबीच तीन दिन अघि वलीद्वारा एमालेमै फर्किएको उल्लेख गरिएको विज्ञप्ती सार्वजनिक भयो । तर, उनको अवस्था खुलेन । त्यसले वलीले ‘दल’ फेरेको भन्दै सकारात्मक–नकारात्मक टिप्पणी सुरु भए । कसैले उनलाई ढुलमुले सांसद, कसैले ठेगान नभएकोसम्म भन्न भ्याए । यतिसम्म हुँदा पनि सत्ता र विपक्षी दुबैले उनको अवस्था खुलाउन सकेनन् ।

सत्ता पक्षको ‘मौनता’ अचम्म लाग्दो रह्यो । कुनै पनि व्यक्ति हराए उसको खोजी गर्नु र अवस्थाबारे जानकारी दिनु सरकारको दायित्व हो । तर, यहाँ सरकार मौन रह्यो, जननिर्वाचित सांसद हराउँदासम्म । यसले वली ‘सम्पर्कबिहीन’ घटनालाई झन रहस्यमयी बनाएको छ । बुधबार फेरि वली माओवादी केन्द्र संसदीय दलको सम्पर्कमा पुगेको खबर सार्वजनिक भए ।

त्यहाँ पुगेर आफने अवस्था नाजुक रहेको उल्लेख गर्दै सांसद वली ‘रोएको’ भन्ने माओवादी नेताले सार्वजनिक गरे । तर, माओवादी केन्द्रले पनि बुधबार उनलाई सार्वजनिक गरेन । माओवादी केन्द्रले सांसद वली सम्पर्कबिहीन भएको भन्दै खोजविन गरिदिन आग्रह गर्दै रूपन्देही प्रहरीमा निवेदन दिएको छ । उक्त निवेदनपछि प्रहरीले खोजी गरिरहेको जनाएको छ । गत विहीवारदेखि सम्पर्कबिहीन भएकी थिइन् ।

बुधबार त लुम्बिनी प्रदेशको विपक्षी गठबन्धनले ६ दिनदेखि वलीलाई मुख्यमन्त्री निवासमा बन्धक बनाइएको गम्भीर आरोप लगाएका थिए । तर, सत्ता पक्षले सांसद वली आफूहरुको सम्पर्कमा रहेको तर, विपक्षीको प्रचार गलत भएको दावी गरेको छ । तर, दुवै पक्षले उनी कहाँ छन् भन्ने जानकारीसम्म नदिएकाले अन्योल कायम भएको छ ।

सांसद वली पार्टी सम्पर्कमा आएको दावी गर्ने माओवादीले विहीवार पत्रकार सम्मेलन गरेर वली मार्पmत नै सबै घटना विवरण सार्वजनिक गर्ने तयारी भइरहेको जनाएको छ । के आज सांसद वलीको अवस्था सार्वजनिक होला ? उनको वास्तविकता खुल्ला ? धेरै प्रश्न उव्जिएका छन् ।