January 23, 2025, Thursday
२०८१ माघ १०

सँघारनेर

ओहो ! भिजेको माटोको गन्ध कस्तो मिठो आइरहेछ । अनौठो छ माटो–माटोलाई भोगेर धेरै–धेरै कुरा सोच्नुपर्ने, यति लामो जीवन माटोको त कहिल्यै ख्याल नै पो गरिएन । म माटो सोचिरहन्छु, मेरा आँखाहरू तलसम्म पस्रिएको गोरेटो हेरिरहेका छन् । साँझ खसिसकेछ ।

“पैयुँ फुल्यो होला ?”

Advertisement

झस्केर हेर्छु । एउटा उनासी वर्षकी बूढी मलाई हेरेर कुन्नि किन सपनाजस्तै अलमलिन लागेकी छे ।

“किन बूढी आमै ?”

“आज असाध्यै माइत सम्झेँ ।”

म खल्लो अनुहार लगाउँछु । माइतको हकमा ऊसँग सम्झना मात्र रहेछ । मनमनमा भन्छु, ‘पैयुँले फुल्नै किन बिर्सन्थ्यो र बूढी आमै ! दिन पो फर्केर आउँदैन ।’

बास बस्न लागेका काग र सारौँका बथान कराएर साँझ झन् बिरानु हुन्छ । बूढी टेलाइरहन्छे आकाश हेर्दै । गोरेटोमा मेरो ध्यानकेन्द्रित हुन्छ ।

एउटा पुलिस इन्सपेक्टर पिस्तोल हुन सक्छ, खोल मात्रै भिरेर यता आइहेको छ । गाउँघरको यो कच्ची गोरेटो उसको उच्चताभास लुकाएर लुक्न सकिरहेको छैन, जताततैबाट पोखिन थालिरहेछ । यस्तो ठाउँमा हिँडाइ पनि अर्कै हुँदो रहेछ  ।

मलाई देख्नासाथ ऊ हाँसिदिन्छ, विगतमा हामी सायद कतै चिनाजाना भएका थियौँ । मलाई राम्रो सम्झना छैन । जस्तो होस्, मलाई उसको हासो असाध्यै औपचारिक लाग्छ ।

गाउँघरमा बसेको निकै दिन भयो, मैले नक्कली हाँसो हाँस्न बिर्सिसकेको छु । सोच्छु– उफ्, कस्तो हाँसो यो, हाँस्दा ओठको कुनाकुना दुख्छ । हाँसिसकेपछि लाग्छ भर्खर रोएको छु ।

ऊ गएको ठिकविपरीत गोरेटोबाट केही तरुनीहरू घरतिर फर्कन लागेका छन् । पसिनाले ओभाएका शरीरहरू एक किसिमले मर्काउँदै, गीत गाउँदै । एउटा खाकी पोसाक लाएको लोग्नेमान्छे उनीहरूले देखिइसकेका छन् । त्यसैले छिल्लिन थालिकेका छन् ।

पुलिस इन्सपेक्टर अचानक उनका आँखाहरु धप्प बल्छन्, उत्ताउलिन्छन् । ऊ हातका लट्ठीलाई रमाइलोसँग नचाउँदै ओठ टोक्छ, जुँगा मुसार्छ, त्यसपछि ऊ पुगिसकेको हुन्छ ठिक तरुनीहरूको बथानअघि ।

एउटी तरुनी मुख छाड्छे, “हामीलाई मार्न आएको ?” ऊ दुष्ट हाँसो हाँस्दै भन्छ, “तपाईंहरू किन यस्तो सोच्नुहुन्छ, हामी त तपार्इंहरूको सुरक्षाको  निम्ति आएका ।”

फेरि, ऊ आफ्नो समर्थन खोज्दै चारैतिर हेर्छ । यस्तो लाग्छ, सुरक्षा शब्द आज उसले पक्कै पनि घोकेर आएको छ । प्रश्न उठछ, ऊ कसलाई सुरक्षा दिन आएको ? तरुनीहरूलाई ? आफ्नो प्रश्नमाथि आफैँलाई हाँसो उठछ ।

तरुनीको हुलबाट एउटी सर्किनी उच्छिट्टिएर कान्लानिर आइपुग्छे र हाँसेर भन्छे, “तपार्इंलाई भनेको होइन पुलिस दाइ !”
एउटी अधबैँसे सर्किनी, मेहनती, परिश्रमी र गरिब…। अनौठो लाग्छ, अनुहार जम्मै उज्यालो पारेर ऊ हाँसिरहेकी छे । सोच्दी हो— जीवन भनेको यस्तै त हो, यति नै त हो, मरेर लानु के छ र कहिलेकाहीँ आउँछन् यस्ता रमाइला क्षणहरू हाँसिराखौँ ।

भोको पेट बालुवा बोकेको बिर्सनु छ । आङ दुखेको पचाउनु छ । सर्किनी हाँस्दै बथानमा मिसिइसक्छे, मेरो अन्तर्मन सर्किनीलाई पछ्याइरहन्छ…। कत्रो झुट बोल्छे सर्किनी, तर होइन, सर्किनीको आँखामा अर्कै–अर्कै कुरा थियो । ऊ त भनिरहेकी थिई, ‘के गर्ने पुलिस दाइ, सुरक्षा पसलमा राखिएको छैन, दुई–चार पैसाको किनेर लग्नलाई, ज्यालादारी गर्न गए मालिकले ठग्छ, पसलमा साहुले ठग्छ, झैझगडामा जाली–फटाहाले ठग्छ, घरमा राति थाकेर आएको लोग्नेले लात हानेर जीवनभरि ठगेको छ । खै सुरक्षा ? कस्तो हुन्छ सुरक्षा ?’

तरुनीको बथान मोड उता ओझेल भइसक्छ । मेरो आँखाअगाडि एउटा फाटेको काती परेको चोली मात्र झलझली आइरहन्छ । मलाई आफू बसेकै ठाउँबाट कराउन मन लाग्छ…, ‘ए लाटी आइमाई, त्यतिका पसिना बगाउनेले वर्षको दशवटा चोली फेर्न पाउनुपर्छ, थाहा छैन तिमीलाई ?’

आहा ! क्या रमाइलो छ यो पाखा पहेँलपुर फुलेको कस्तरी माटोको गन्ध । खल्तीभरि सुरक्षा बोकेर गाउँघरमा आएको पुलिस अफिसरमाथि पुगिसक्छ । म सोच्न थाल्छु– वास्तवमा शब्द कसैले पनि बुझ्दैन, देश, राष्ट्रियता, सुरक्षा, विकास, मलाई हाँस उठछ…। एउटा लोकल गाइने सम्झन्छु, विकासको पक्षमा भन्दै सधैँ गीत गाउने गर्छ…, अब त मलाई झन् अट्टाहस गर्न मन लाग्छ । गाइने गर्धनको नसा, करङ अनि विकासको पथ, गजब छ गजब । विचारहरू बतासिन थालिसकेका छन्, सँघारमा उभिनुको एउटा विशेष फाइदा हो यो ।

फेरि, गोरेटोतर्फ हेर्छु, गाउँको एउटा विद्यार्थी निधारको बालको झुप्पा हल्लाउँदै छाती फुकाएर दौडिरहेको छ । तरुनो उमेर दौडेको पनि कस्तो सुहाएको ।

“कता ?” म अनायास सोध्छु ।

ऊ दौड्दै भन्छ, “मैले एयरगनको लाइसेन्स मागेको थिएँ, त्यो पुलिस इन्सपेक्टर मलाई खोज्न आएको रहेछ ।” किन होला ? म प्रश्न मात्र आफूसँग च्यापेर त्यहीँ उभिन्छु । केही बेरपछि विद्यार्थी फर्कन्छ— थाकेर, लत्रेर, निराशजस्तो देखिएर ।

“ऊ मेरो इन्क्वायरी गर्न आएको रहेछ, चरित्र कस्तो छ ? कुनै पार्टीमा छ कि छैन इत्यादि ?” ऊ अनुहार सक्दो बिगार्छ । म देख्छु, उसका आँखाका कुना–कुनामा आगोजस्तै केही बलेको छ, क्रमशः सम्पूर्ण आँखाहरू हिंस्रक र डरलाग्दा देखिन्छन् । सोच्छु– यो कलिलो ठिटोलाई अचानक के भयो, जाबो एयरगनको लाइसेन्स नपाउँदैमा ।

उसलाई आश्वस्त गराउन खोज्दै भन्छु, “जाबो भँगेरा मार्न नपाउँदैमा तिमी यतिविधि विचलित किन हुन्छौ ? अघि भर्खर एकजनाले एउटा काग मारेर अरू कागहरू तर्साएको थियो ।”

ऊ राँकिएर भन्छ, “मान्छे मारेर मान्छेहरू तर्साउन पर्ने !”

दृढता, तुजुक र एउटा हिँसा उसको अनुहारमा उत्रेर खेलिरहेको हुन्छ । लाग्छ, ऊ ठिक संगिनजस्तै सोझिएर उभिएको छ मेरो अघि । म कल्पना गर्छु– एउटा बन्दुकसँग उभिन पाए कति सुहाउँदो हो उसलाई ।

के के सोच्न पुग्छु र मनमनमा भन्छु, ‘यसरी दुःखी नहोऊ भाइ ! एयरगन नपाएर के भो र ? तिमी त जिउँदै छौ । तिम्रो हातमा शक्ति भइन्जेल यो युगलाई लोप्पा ख्वाउने कसको बाउको तागत ?’ 

एयरगन युगको प्रतीकजस्तै मेरो कल्पनामा झुन्डिन आइपुग्छ । ठिटाको रिस अझ मरिसकेको छैन ।  

“यो सिजनमा पनि तिमी चरा मार्छौ ?”

“हत्याको कुनै सिजन हुन्छ र ?” ऊ केही खिसी गरेर हाँस्छ । सोच्छु– चरालाई लिएर त ऊ यस्तो कुरा अवश्य गरिरहेको छैन । कुन्नि कुन इच्छा ऊसँग सोत्तर भइदिएछ, सोध्न पनि डर लाग्छ । बेला–कुबेला पक्रन्छ । समयले बारुद बनाइदिएको छ उसको मनस्थितिलाई ।

गोरेटो एक किसिमले रित्तिइसकेको छ । यो गाउँ हो, अब साँझ एकतमासले बिरानु भइदिन्छ । बाँसका फूलहरू हावामा हल्लिरहन्छन् । मलाई बिनसित्ती हतार लागिरहेको हुन्छ । प्रश्न गर्छु– आखिर हतार के लाई ? सिकुवामा बसिरहेको बूढी कराउँछे, “यसै बित्यो आजको दिन ।” 

साँँच्चै त, एउटा अर्को दिन बितिसकेछ ।

(कथासंग्रह ‘सडक र प्रतिभा)by baahrakhari