April 16, 2024, Tuesday
४ बैशाख २०८१, मंगलवार

तापक्रम नापेर घर पठाउँदा जोखिम

भैरहवा, जेठ ३ । लुम्बिनी प्रदेश कोरोना महामारीको हटस्पट बने पनि यहाँका ठूला सीमा नाकामा पर्याप्त सावधानी छैन । छिमेकी मुलुक भारतका कोरोना प्रभावित सहरबाट आएका सर्वसाधरणलाई ज्वरो नापेर सिधै घर पठाउने गरिएको छ ।

Advertisement

यसरी पठाइएका व्यक्ति केही दिनपछि संक्रमित भएर उपचारका लागि अस्पतालमा आउने गरेका छन् । उनीहरुसँगै परिवारका सदस्य समेत संक्रमित हुने क्रम बढेको छ । गत वर्ष यसरी आउनेलाई क्वारेन्टाइन अनिवार्य थियो ।

Advertisement

यसपाली क्वारेन्टाइन र आइसोेलेसन छैनन् । जसले गर्दा मुलुक बाहिरबाट आएका व्यक्तिलाीई घरमा अलग्गै बस्ने सर्तमा पठाउने गरिएको छ । तर, त्यसरी गएका व्यक्ति परिवारबाट अलग्गै बसे/नबसेको निगरानी छैन । जसले गर्दा समाजमा कसलाई संक्रमण छ/छैन पत्तो नै हुँदैन ।

लुम्बिनीमा रुपन्देहीको बेलहिया, बाँकेको जमुनाह, कपिलवस्तुको कृष्णनगर र पश्चिम नवलपरासीको महेशपुर नाका छन् । यी बाहेक छोटी नाका पनि छन् । तर, धेरै नागरिक दशगजाबाटै ओहोरदोहोर गरिरहेकाले संक्रमण रोकथाममा चुनौंती थपिएको छ ।

सीमा होल्डिङ सेन्टर राखेर राम्ररी स्वास्थ्य चेकजाँच गरि मान्छे पठाएको भए पहाडमा जोखिम हुन्थेन् । तर सबैलाई विना सतर्कता पठाउँदा पहाड पनि असुरक्षित भएको छ ।

ठूला नाकामा हेल्थ डेस्क स्थापना गरेर स्वास्थ्य मापदण्ड पालना अनिवार्य गरिएको छ । भारतबाट आउने नागरिकको नाम, ठेगाना टिपिन्छ । स्वास्थ्यकर्मीले तापक्रम नापेर पठाउँछन् । धेरै तापक्रम भएका व्यक्तिको मात्रै एन्टिजेन किटमार्फत् कोरोना परीक्षण भइरहेको छ । भारतमा कोरोना संक्रमण भयावह हुनु पूर्व नै नाकामा कडाइ गर्नुपर्नेमा निकै ढिलो सावधानी अपनाइएको थियो ।

मुलुकमै कोरोना व्यापक भएपछि मात्र नाकामा होल्डिङ सेन्टर निर्माण गरिएको थियो । कपिलवस्तुको कृष्णनगरमा तापक्रम नापेकै भर प्रवासी नेपालीलाई मुलक प्रवेश गर्न दिइएको छ । तापक्रम मात्र नापेर आउन दिँदा कोरोना भाइरस संक्रमणको जोखिम बढेको छ ।

भारतका कोरोना भाइरस संक्रमण बढी प्रभावित सहरबाट आउने उनीहरुले नेपालका तराईदेखि पहडसम्म संक्रमण फैलाइरहेका छन् । कृष्णनगर नाका हुँदै दिनहुँ दुई सयका हारहारीमा प्रवासी नेपालीहरु नेपाल प्रवेश गरिरहेका छन् । नाकामा रहेको हेल्थ डेस्कमा उनीहरुको नाम लेखिन्छ । ज्वरो नापिन्छ । हातमा सेनीटाइजर दल्छन् । प्रहरी, सशस्त्र र कृष्णनगर नगरपालिकाले संचालन गरेको अस्थाई होल्डिङ सेन्टरमा पुग्छन् । त्यहीबाट कार भ्यान, जीप र बस बुक गर्छन् । घरघर लाग्छन् ।

होल्डिङ सेन्टरमा खाना र बास बस्ने व्यवस्था छैन् । ज्वरो, रुघाखोकी लागेका भेटिए पनि उनीहरु नगरपालिकाले घरघर पठाई दिन्छ । थप जाँच पड्ताल गर्दैनन् । प्रवासी नेपालीहरु बिहान २ बजेदेखि ९ बजे नाकामा आइपुग्छन् । उनीहरु उताबटा भाडाका गाडी र बसबाट आउँछन् । कतिपय ट्रेनबाट आउँछन् । उनीहरु दिल्ली, पंजाब, चण्डीगढ, हिमाञ्चल प्रदेशबाट घर फर्किरहेका हुन् ।

‘भारत तिर संक्रमण बढेको बढेयै छ’, ईप्रका कृष्णनगरका प्रमुख निरीक्षक सुकदेब पौडेलले भने, ‘रोजगारी गुम्यो । जीवनयापकै समस्या भएपछि पुरानै थातथलो फर्केका हुन् । सक्दो सतर्कता अपनाएर उनीहरुलाई प्रवेश गराउछौं । घर पुगेपछि त्यहाँका स्थानीय तहले उनीहरुको रेखदेख गर्नुपर्छ ।’

प्रवासी नेपालीहरु जोखिम बोक्दै आउँछन् । जोखिम लिएर गाउँदेखि सहरसम्म पुग्छन् । यसले गाउँ सहरमा ठूलो भय र त्रास बढेको छ । ‘सिधै घर पुग्ने परम्पराले गाउ“घरमा जोखिम बढाएको छ’, अर्घाखाँचीको नरपानीका पदम केसीले भने, ‘यसले संक्रमणले जीवन गुमाउने बढेका छन् ।’

सीमा होल्डिङ सेन्टर राखेर राम्ररी स्वास्थ्य चेकजाँच गरि मान्छे पठाएको भए पहाडमा जोखिम हुन्थेन् । तर सबैलाई विना सतर्कता पठाउँदा पहाड पनि असुरक्षित भएको छ ।

यता रुपन्देहीको बेलहियामा संक्रमण जोखिम न्युनिकरणका लागि अपनाउनु पर्ने स्वास्थ्य सावधानी सुनौली–बेलहिया नाकामा धेरै व्यवस्थित बनाइएको छ । यस नाकाबाट पैदल आवागमनसंगै भारतीय मालवाहक गाडीका चालक र सहचालकबाट हुने संक्रमणको जोखिमका वारेमा पनि उच्च सावधानी अपनाउन थालिएको छ ।

मूल नाकामा नेपालको तर्फबाट स्वास्थ्यकर्मी सहितको हेल्थडेस्क र तत्काल कोभिड परीक्षणसहितको होल्डिङ सेन्टर संचालनमा ल्याएपछि नाकाबाट हुने आवागमन व्यवस्थित हुन थालेको हो । भारतीय मालवाहक गाडीका चालक र सहचालकलाई पनि दशगजा सिमानामैं तापक्रम मापन गरेरमात्रै नेपाल प्रवेशको अनुमती दिने गरिएको छ । तर, मूल नाका बाहेक भारतसँगको लामो खुल्ला सिमानाबाट हुने स्थानीयको लुकिछिपी आवागमन भने पूर्ण नियन्त्रण हुन सकेको छैन ।

‘सुनौली नाकाबाट नेपाल आउने हरेक यात्रुलाई तापक्रम मापन गरेरमात्र र कसैलाई उच्च तापक्रम देखिएमा एन्टीजेन परिक्षण अनिबार्य गरिएको छ’, सिमाक्षेत्रको बेलहिया इलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक नविन पौडेलले भने, ‘संक्रमित यात्रु भेटिएमा त्यही अनुरुप सुरक्षित तवरले यात्रुको व्यवस्थापन हुने गरेको छ ।’

उनका अनुसार, भारतबाट आउने हरेक यात्रुलाई सेनिटाइज, साबुनले हात धुने र तपक्रम मापन अनिबार्य गरिएको छ । तापक्रम उच्च देखिएका यात्रुलाइ केही बेर होल्डिङ सेन्टरमा बिश्रामपछि पुनः मापन गर्दा पनि उच्च देखिएमा तत्कालै एन्टिजेन परीक्षण गर्ने गरिन्छ ।

परीक्षणको नतिजा पोजेटिभ आएमा अलग्गै एम्बुलेन्सबाट सम्बन्धित पालिकालाई जानकारी गराएर गन्तब्यसम्म पुर्याउने गरिएको छ । अशक्त भएको खण्डमा नजिकैको सिद्धार्थनगर नगरपालिकाले संचालनमा ल्याएको आइसोलेसनमा राखेर उपचार गर्ने गरिन्छ ।

एक हप्ता यता सुनौली नाका हुँदै घर आउने नेपालीको संख्यामा निकै कमी आउन थालेको छ । बरु, नेपालमा उद्योग कलकारखाना बन्द हुन थालेपछि यस नाकाबाट भारततर्फ फर्किने भारतीय नागरिकको संख्या बढ्दै जान थालेको छ ।

प्रहरी तथ्यांक अनुसार, बैशाख २६ गतेदेखि भारतबाट नेपाल आउने यात्रुको संख्या दैनिक क्रमशः २ सय ३७, २ सय २५, १ सय १४, १ सय ४०, १ सय ६२, ७८ र जेठ १ गते १ सय ५९ थियो । ठिक यसरी नै नेपालबाट भारत फर्कने भारतीय नागरिकको संख्या १ सय ११, १ सय ५५, २ सय १९, २ सय ६२, ५ सय ५१, २ सय १७ र ३ सय ६६ थियो ।

शनिवार भारतबाट नेपाल आएका यात्रुमध्ये ७९ जनाको एन्टिजेन परीक्षण गर्दा २ जना पोजेटिभ फेला परेका थिए । बैशाख महिनामा यस नाकाबाट १० हजार ५ सय १० जना नेपाली यात्रु घर आएका थिए । जसमध्ये १ हजार ३ सय ८३ जनाको एन्टिजेन परीक्षण गर्दा १ सय ११ जना पोजेटिभ फेला परेका थिए । पश्चिम नवलपरासी र बाँकेका नाकाबाट पनि नेपाली आउने प्रवासीहरुलाई तापक्रम नापेर सिधै गाउँ पठाउने गरिएको छ । यसले गाउँ पनि थप जोखिममा परेका छन् ।