लुम्बिनी प्रदेशका पहाडी जिल्लाका घरघरै रुघा र ज्वरोका विरामी
भैरहवा, वैशाख ३० । कोरोना महामारीको हटस्पट बनेको लुम्बिनी प्रदेशका पहाडी जिल्लाका घरघरै रुघा र ज्वरोका बिरामी बढ्न थालेका छन् । कोरोनासित मेल खाने लक्षण देखिए पनि उनीहरुको कोरोना परीक्षण गरिएको छैन । किट अभाव देखाउँदै स्थानीय स्वास्थ्यकर्मीले रुघा, ज्वरोको औषधि दिएर घरमै आराम गर्न भनिरहेका छन् ।
यस्ता बिरामीले स्वास्थ्य मापदण्ड पालना गरेका छैनन । एउटै परिवारका धेरै जना बिरामी छन् । प्यूठान, गुल्मी, अर्घाखाँची, पाल्पा, रुकुम लगायत पहाडी जिल्लामा घरघरै रुघाखोकी र ज्वरोका बिरामी छन् । जिल्ला स्वास्थ्य कार्यालय पाल्पाका अनुसार यस्ता लक्षण भएका बिरामीको कोरोना परीक्षण गर्दा संक्रमण पुष्टी भइरहेको छ ।
एउटै परिवारका तीन/चार जनामा संक्रमण देखिएको कार्यालयले जनाएको छ । बिरामी परेपछि गाउँका स्वास्थ्य चौकीमा ज्वरो, रुघाखोकीका विरामी जचाउन जानेको भीड छ । अघाखाँचीमा पनि प्रायः घरैपिच्छे यस्ता विरामी छन् । उनीहरु घरमा तातोपानी, बेसार पानी, जुहानो लगायतका झोल पदार्थ सेवन गरेर आराम गरेको बताउँछन् ।
धेरैले ज्वरो आउँदा र रुघाखोकी लाग्दा धेरै जसो गाउँकै स्वास्थ्यकर्मीबाट औषधि लिएर खाने गर्छन् । पीसीआर चेक गराउन धेरै जाँदैनन् । ज्वरो र रुघाखोकीका विरामीले घरमा एकान्तवास बसेर कोरोनाको जडिबुटी खाने गर्छन् ।
अर्घाखाँचीको ठुलापोखरा स्वास्थ्य चौकीका इन्चार्ज विश्वदेव न्यौपानेले दैनिक २० देखि ३० जना ज्वरो, रुघाखोकीका विरामी जचाउन आउने गरेको बताए । यस्ता विरामी एउटै घरमा तीन/चार जनासम्म भएको उनले बताए ।
‘हामीले सचेत रहन भनेका छौं’, उनले भने, ‘ज्वरो, रुघाखोकीका केही विरामी हामीले दिएको औषधि खाएर निको भएका छन् । केहीलाई कोभिड नै देखा परेको छ ।’ वडाको अधिकांश घरमा ज्वरो र रुघाखोकीका विरामी भएको उनले बताए । ‘वैशाख महिनामा गाउँमा धेरै विवाह, भोजभतेर भए, त्यसपछि मान्छे घरैपिच्छे र एकै घरमा सबै परिवारलाई ज्वरो, रुघाखोकी देखियो’, उनले भने ।
भारतबाट आएका केही मान्छे होम क्वारेन्टाइनमा बसेनन् । गाउँमा धेरै घरमा थर्ममिटर राखेका छन् । बेला–बेलामा ज्वरो नाप्ने गर्छन् । धेरैले बेसार पानी, जुहानो, गुर्जाेसहित तातोपानी दैनिक खाने गरेका छन् । ज्वरो र रुघाखोकी आएपछि कोभिड लाग्यो कि भनेर डर लाग्ने गरेको गुल्मी मालारानी–३ का विश्व खनालले बताए ।
‘थर्ममिटर किनेर ल्याएको छु, दैनिक ज्वरो नाप्छु’, उनले भने, ‘दैनिक जुहानो, बेसारपानीको झोल र कहिलेकाँही गुर्जाे खान्छु । ज्वरो बढ्दा रुघाखोकी लाग्दा कोभिड हो कि भनेर डर लाग्छ ।’
भूमिकास्थान नगरपालिका–१ ढाकावाङ स्वास्थ्य चौकी इन्चार्ज मञ्जु खनालले ज्वरो, रुघाखोकीका विरामी शुरुमा यहीँ जचाउन आउने बताइन । ‘यहाँ आएर जचाएर निको नभएपछि पीसिआर परीक्षणमा रिपोर्ट पोजिटिभ आउने विरामी पनि हुन्छन्’, उनले भनिन, ‘औषधि खाएर ज्वरो, रुघाखोकी कम नभए कोभिड चेक गर्न सदरमुकाम जान सल्लाह दिन्छौं ।’ यस्ता विरामी दैनिक १५ देखि २५ जनासम्म आउने गर्छन् ।
बाक्लो बस्ती भएका गाउँमा घरैपिच्छे ज्वरो र रुघाखोकीका विरामी छन् । छरिएर रहेको पातलो बस्ती भएको गाउँमा यस्ता विरामी खासै भेटिँदैनन् । ढिकुरा स्वास्थ्य चौकी अनमी सिता पौडेलले ज्वरो र रुघाखोकीका विरामीलाई जाँच्दा स्वास्थ्य मापदण्ड अपनाएरै गर्ने बताइन । ‘रुघाखोकी र ज्वरो कोभिडको लक्षण हो’, उनले भनिन, ‘जाँच्दा जोखिम गाउँका स्वास्थ्यकर्मीलाई नै हुन्छ । यस्ता विरामी केही औषधि सेवनबाट निको हुन्छन्, केही कोरोना संक्रमित देखिन्छन् ।’
स्वास्थ्य चौकीमा धेरै जसो ज्वरो र रुघाखोकीका विरामी आउने गर्छन् । स्वास्थ्यकर्मीले ज्वरो र रुघाखोकी निको नभए पीसीआर गर्न सल्लाह दिन्छन् । प्यूठानको गौमुखी गाउँपालिका पुजा लिवासेका स्वास्थ्यचौकीका स्वास्थ्यकर्मी धु्रव पोखरेलले ज्वरो र रुघाखोकीका विरामीको चाप अत्यधिक बढेको बताए । उनले स्वास्थ्यचौकीमा आउनेलाई घरायसी उपचार विधि अपनाउन बताएको र श्वासप्रश्वासमा समस्या भए अस्पताल आउन सचेत गराएको जनाए ।
बस्ती भन्दा धेरै जंगल र घर छरिएर रहेको गाउँमा ज्वरो र रुघाखोकीका विरामीको संख्या न्यून छ । सितगंगा नगरपालिका पातलो बस्तीमा यस्ता विरामी कम छन् । सिद्धारा स्वास्थ्य चौकीका इन्चार्ज वीरेन्द्र धामीले अहिले ज्वरो र रुघाखोकीका विरामी संख्यात्यमक रुपमा धेरै आउने गरेको बताए । ‘घरैपिच्छे विरामी छैनन्,’ उनले भने, ‘छिटफुट छन् । दैनिक दस÷बाह्र जना जति आउँछन् ।’
गाउँका अधिकांशले रुघाखोकी नलागोस भनेर तातो खानेकुरा खाने, बेसार, गुहानो, दालको झोल खाने गर्छन् । कोरोनाको कारण रोजगारी गुमेर र जागरि छाडेर भारतबाट आउनेहरु सबै होम क्वारेन्टाइनमा बसेर नियम पालना नगरेका कारण संक्रमण गाउँमा फैलिएको आशंका छ । ‘कोरोना संक्रमित हुनेमा धेरै भारतबाटै आएका छन्’, जुकेना कांग्रेस सभापति चन्द्रमणि पौडेलले भने, ‘भारतबाट आउनेलाई पहिलो चरणमा स्थानीय तहले १४ दिन क्वारेन्टाइनमा राख्ने, पीसीआर चेक गराएर रिपोर्ट नेगेभिट आएपछि मात्रै घर पठाउने गरेकाले कोरोना फैलिएन । अहिले त्यसो गरिएन कोरोना फैलियो, गाउँमा ज्वरो, रुघाखोकीका विरामी धेरै छन् ।’
ज्वरो आउँदा र रुघाखोकी लाग्दा धेरै जसो गाउँकै स्वास्थ्यकर्मीबाट औषधि लिएर खाने गर्छन् । पीसीआर चेक गराउन धेरै जाँदैनन् । ज्वरो र रुघाखोकीका विरामीले घरमा एकान्तवास बसेर कोरोनाको जडिबुटी खाने गर्छन् । केहीले मात्रै पीसीआर परीक्षण गर्ने उनले बताए । ‘पहिलो चरणमा जस्तो कोरोनामा संघ, प्रदेश र स्थानीय तहले दोस्रो चरणमा काम गरेनन्’, उनले भने ।
रुकुम पूर्वको पुथाउत्तरगंगा गाउँपालिकाले ७ र ८ नम्बर वडाका घरघरै पुगेर सर्वसाधरण्को स्वास्थ्य जाँच गरायो । स्वास्थ्यकर्मीले घरघरै पुगेर स्वास्थ्य जाँचकासाथै केहीको एन्टिेजन किटबाट कोरोना परीक्षण गरे । एन्टिेजन परीक्षण गरिएका मध्य १ जनामा कोरोना संक्रमण पुष्टि भयो । ज्वरो आउने, खोकी लाग्ने, शरीर दुख्ने, आलश्यता बढ्ने लक्षणका विरामी घरघरै भए पनि किट अभावमा एन्टिजेन परीक्षण हुन सकेन । जसले गर्दा उनीहरुमा संक्रमण भए/नभएको पत्ता लागेन ।
दुबै वडाका प्रत्येक घरमा १ देखि ४ जनासम्म विरामी भएको खबर आएपछि गाउँपालिकाले स्वास्थ्यकर्मीको टोली ठाएर स्वास्थ्य जाँच गरेको थियो । त्यतिबेला स्वास्थ्यकर्मीले यसलाई भाइरल ज्वरो भएको जनाउँदै औषधि दिएर फर्किएका थिए । धेरैमा एउटै लक्षण देखिएको र १ जनामा मात्रै कोरोना संक्रमण पुष्टि भएपछि स्वास्थ्यकर्मीहरु नआत्तिन भन्दै फर्किए । तर जरो आउने क्रम रोकिएको छैन । केहीलाई सुधार भएको जस्तो भए पनि अन्य सदस्य विरामी परेका छन् ।
सिस्ने गाउँपालिकाको १, २, ३, ४ लगायतका वडाका पनि हरेक घरमा विरामी छन् । एकै घरका कम्तिमा १ जना धेरैमा ५ देखि ६ जनासम्म विरामी छन् । सिस्ने गाउँपालिका–३, का युवा लोकेन्द्र खड्काले हरेक घरमा विरामी रहेको बताए । एउटै लक्षण, चिन्हसहितका विरामी सबैतिर भएपछि गाउँमा त्रास फैलिएको उनले बताए ।
हरेक घरमा विरामी भएपछि कतिले त वर्षे बाली समेत लाउन सुरुवात नगरेको खड्काले बताए । गाउँमा कोरोनाको जोखिम ठाउँबाट आएका समेत मिसिएका छन् । घरपरिवार र गाउँमा हुने अन्य काममा समेत सहभागी भएका छन् । यसले कोरोना संक्रमण फैलने त्रास बढ्दै गएको खड्काले बताए ।
परीक्षण गरेकामध्य अधिकांशमा कोरोना संक्रमण पुष्टि हुनु । पुष्टि भएका केहीको पनि मृत्यु भएपछि गाउँमा त्रास बढेको छ । पछिल्लो समय आफै सतर्कता अपनाउन खोजिएको छ । धेरै विरामी र केहीको मृत्यु भएपछि सतर्कता अपाउनु भन्दा पहिल्यै सतर्कत अपनाउन र ख्याल कतैबाट नभएको बताउँछन्, पुथाउत्तरगंगा गाउँपालिका–८, का मनबहादुर रोका ।
‘यसलाई मौसमका कारण भएको भाइरल ज्वरो भनिएको छ, तर सबैमा एकै चोटी देखिएकाले आत्तिनुपर्ने अवस्था छ, निको हुन पनि ढिला भइरहेको छ’, उनले भने । कोरोना परीक्षणलाई व्यापक हुनुपर्नेमा सिमितलाई मात्रै परीक्षण गर्दा कोरोना फैलन सहयोग पुगिरहेको भनाई रोकाको छ । नेपालका विभिन्न जोखिम क्षेत्रको साथसाथै भारत र अन्य तेस्रो मुलुकबाट आउनेहरुको व्यवस्थापनमा ध्यान दिइएन ।
स्थानीय सरकार र व्यक्ति स्वयं आफैले ध्यान नदिँदा समस्या बढ्दै गएको छ । पुथाउत्तरगंगा गाउँपालिका स्वास्थ्य संयोजक समिर गिरीले गाउँमा धेरै विरामी भएपछि सबैतिर पुगेर स्वास्थ्य परीक्षण गरिएको बताए । धेरैमा भाइरल ज्वरो भएको पाइएको बताए । धेरै वडाका विरामीको अवस्था बारे जानकारी दिएको उनीहरुमा भाइरल देखिएको र निको हुँदै गएको पनि गिरीले बताए ।
सिस्ने गाउँपालिका उपाध्यक्ष गोबद्र्धन बुढा मगरले सबैतिर घरघरमा विरामी रहेको सूचना आएको बताए । कतिपय निको पनि भइरहेको उपाध्यक्ष बुढाले बताए । किट अभावमा परीक्षण गर्न नसकिएको उनको भनाई छ । एन्टिजेन किट मगाइएको र आएपछि परीक्षण बढाउने उपाध्यक्ष बुढाले बताए ।
प्रतिकृया दिनुहोस्