June 24, 2026, Wednesday
२०८३ असार १० बुधबार

जेनजी आन्दोलनले खोजेको परिवर्तन काँग्रेसमा छ : विश्वप्रकाश शर्मा

Advertisement

भैरहवा– नेपाली काँग्रेसका उपसभापति विश्वप्रकाश शर्माले जेनजी आन्दोलनले खोजेको परिवर्तन अहिले कांग्रेसभित्र रहेको बताएका छन् ।

Advertisement

नेपाली काँग्रेस रुपन्देहीले बिहीबार भैरहवामा आयोजना गरेको प्रतिनिधि सभा सदस्य निर्वाचन–२०८२ पार्टी सदस्य भेटघाट कार्यक्रममा बोल्दै शर्माले जेनजीको भावना बुझ्दै र आन्दोलनको मर्मलाई आत्मसात गर्दै कांग्रेसका नेता तथा कार्यकर्ताहरू सुध्रिएको बताए । जेनजी आन्दोलनको मर्म र भावना अनुरुप काँग्रेसमा आएको परिवर्तनका कारण प्रतिनिधिसभा निर्वाचनका लागि १ सय ६५ वटै निर्वाचन क्षेत्रमा कांग्रेसले आफ्नै उम्मेदवार उठाएको उनको भनाई थियो ।

‘कसैसँग साँठगाँठ नगरी हामी यो निर्वाचनको लडाइँमा होमिएका छौँ र निर्बाचन आचारसंहिताको पूर्ण पालना पनि गरेका छौं’, उनले भने, ‘आचारसंहिताको उल्लंघन गरेको वारेमा निर्वाचन आयोगले विभिन्न पार्टी र उम्मेदवारलाई पत्र काटेको छ । तर, कांग्रेसका उम्मेदवारलाई अहिलेसम्म पत्र काटिएको छैन । यही नै काँग्रेसमा आएको परिवर्तनको प्रमाण हाे ।’

उनले आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनबाट सबैभन्दा ठूलो र पहिलो दलको रुपमा काँग्रेस आउने दाबी गरे । देशका विभिन्न स्थानमा गरिएको स्थलगत भ्रमण र प्राप्त सूचनाको आधारमा काँग्रेस पहिलो पार्टी बन्ने दाबी उनले गरेका हुन् । काँग्रेस फेरि ठूलो दलको रुपमा देशको नेतृत्व गर्ने गरी बहुमतको दिशातर्फ अग्रसर भइरहेको उनले बताए । काँग्रेसले धेरै निर्वाचनमा बिजय र पराजय भाेगेकाले काँग्रेसलाई जित हारको कुरा नौलो नभएको उनले बताए ।

अहिलेको निर्बाचन किन हुँदैछ ? सिंहदरबार, संसद् भवन किन जल्यो, अर्बौं-खर्बौंको क्षति किन भयो, देशमा निराशा किन छायो ? लगायतका बिषयमा गम्भीर समीक्षा गरेर मतदातालाई मत दिन काँग्रेसले आग्रह गरेको उनले जनाए । ‘नयाँ र परिवर्तन भनेको सोंच, दृष्टिकोण र नेतृत्वको बदलावले हुन्छ र त्यस खालको परिवर्तन भएर आएको अहिले काँग्रेस नै हो’, शर्माले भने, ‘जेनजी विद्रोहले देशमा खोजेको पनि परिवर्तन नै हो ।’

काँग्रेसका पूर्व केन्द्रीय सदस्य बालकृष्ण खाँणले आगामी फागुन २१ गते हुने निर्वाचनमा सबै नेताकार्यकर्ता एकताबद्ध भएर पार्टीका उम्मेदवारलाई जिताउन लागिपर्न आग्रह गरे ।
काँग्रेस नेतृत्वको सरकारले गौतमबुद्ध अन्तर्राष्टिय विमानस्थल बनाएको र काँग्रेस नेतृत्वले नै यसको सञ्चालन गर्ने भनाइ उनको थियो । काँग्रेस लुम्बिनी प्रदेश निर्वाचन परिचालन समिति संयोजक राजु खनालले फागुन २१ मा हुने निर्वाचनपछि काँग्रेस नेतृत्वको सरकार बने मात्र जेनजी पुस्ताले उठाएको माग सम्बोधन गर्न सकिने बताए ।