June 21, 2026, Sunday
२०८३ असार ७ आईतवार

म्यानमारका धर्मगुरुको ‘लुम्बिनी प्रेम’

Advertisement

भैरहवा– बुद्ध जन्मस्थल लुम्बिनीप्रति आस्था नभएका व्यक्ति बिरलै फेला पर्छन् । झन जीवन नै बौद्ध धर्ममा समर्पण गरेका व्यक्तिका लागि लुम्बिनी महान तीर्थस्थल हो । बौद्ध धर्मका आस्थावान र गुरुहरु आफ्नो जीवनको महत्वपूर्ण समय बुद्ध जन्मस्थलमा सेवा गरेर बिताउन लालायित हुन्छन् । यसको उदाहरण हुन्, म्यानमारका महान् आचार्य बौद्ध धर्मगुरु फा–उक सयाडो । अहिले उनी ९१ वर्षका भए ।

Advertisement

राम्रोसँग हिँड्न सक्दैनन् । दिन बिराएर मिर्गौलाको डायलासिस गर्नुपर्छ । यति असहज शारीरिक अवस्था हुँदा समेत उनको लुम्बिनी प्रेम आथाह छ । म्यानमारका प्रख्यात बौद्ध धर्मगुरु सयाडोको ध्यान साधना विश्वभरि चर्चित रहेको छ ।

ह्विलचेयरमा ओहोरदोहोर गर्ने सयाडो गच मंसिर दोस्रो साता लुम्बिनी आए । त्यो पनि सालका विरुवा रोप्न । यसपटक १० दिन लुम्बिनीमा बसेर सालका बिरुवा रोपे । यसका लागि उनका अनुयायी उनलाई होटलदेखि गाडीमा राखेर वृक्षारोपण स्थलसम्म लैजान्थे । वृक्षारोपण स्थलमा ह्वील चेयरमा बसेर उनले सहयोगी र अनुयायीका साथमा वृक्षारोपण गर्थे । बोट बिरुवामा सिँचाइ गर्थे । बुद्ध जन्मस्थलप्रतिको श्रद्धा र आस्था यस्तो गडेको थियो कि उनी एक दिन बिराएर डायलोसिस गर्दै लुम्बिनीमा दिनको दुईपटक वृक्षारोपण गर्न पुग्थे ।

शान्तिप्रति समर्पित भएर बुद्ध जन्मेको ठाउँलाई सम्मान दिन ठूलो जोखिम मोलेर उनी यहाँ आएको उनका अनुयायीहरू बताउँछन् । म्यानमार सरकारले उनलाई मुलुकको उच्च सम्मानित ध्यानगुरु (अग्ग महाकम्माठानाचार्य) को उपाधि प्रदान गरेको छ । उनी ५ महिनादेखि मिर्गौला समस्याले ग्रस्त छन् । एक दिन बिराएर डायलासिल गराउनु पर्छ । उनको उपचार अहिले पनि सिंगापुरको अस्पतालमा भइरहेको छ । तर, पनि उनी लुम्बिनी आउन भनेपछि तयार भए । लुम्बिनीमा २० हजार सालका बिरुवा रोप्ने उनको ठूलो सपना पूरा भएको छ ।

सिंगापुरबाट काठमाडौं आएर सिधै हेलिकप्टर चार्टर्ड गरेर उनी लुम्बिनी आएका थिए । लुम्बिनी बस्दा उनी बिहान ८ बजे र दिउँसो ३ बजे आफैं वृक्षारोपण गर्न पुग्थे । अनुयायीका साथ ८–१० वटा विरुवा रोपेर डेढ–दुई घण्टामा होटलमा फर्किन्थे र लुम्बिनीस्थित बुद्धस्थल दर्शन गर्न पुग्थे । लुम्बिनीमा १० दिन बस्दा उनले भैरहवास्थित सिटी अस्पताल पुगेर ५ पटक डायलासिस गराए । दिन बिराएर डायलोसिस गर्न पुग्थे । डायलोसिस गराउँदै वृक्षारोपण गर्न विदेशबाट आउनु सामान्य आँट र चाहनाले नपुग्ने उनका अनुयायी भीम बस्नेतले बताए ।

बुद्ध दर्शनमा सालका वृक्षको महिमा धेरै भएको हुँदा बुद्ध जन्मस्थलमा त्यो रोप्न आएको ध्यान गुरुकी सेविका तारा राईले बताइन् । ‘सिंगापुरमा ५ महिनादेखि अस्पतालमा बसिरहेका ध्यान गुरुलाई त्यहाँ भेट्न सकिन्न,’ उनले भनिन्, ‘त्यसैले फा–उक सयाडोको दर्शन गर्न सिंगापुरका अनुयायी आफ्नै खर्चमा लुम्बिनी आएका छन् ।’ यहाँ वृक्षारोपण गरेर उनी हेलिकप्टर चार्टर गरेर काठमाडौं पुगी सिधै सिंगापुर अस्पतालमा उपचारका लागि पुगेका छन् । आफूलाई दुई वर्षअघि नै लुम्बिनीमा वृक्षारोपण गर्न आउन इच्छा लागेको उनले बताए । गत वर्ष ३ हजार ४ सय विरुवा रोपेका थिए । यस वर्ष १६ हजार ६ सय विरुवा रोपिएको छ ।

उनीसँगै यसपटक ३४ जनाको टोली लुम्बिनी आएको थियो । उनको सेवा गर्ने मात्रै १४ जनाको टोली छ । २ जनाले १२ घण्टा खट्नु पर्छ । म्यानमारबाटै आएका डा. भिक्षु रथपालाको नेतृत्वमा नर्ससहितको ५ जनाको चिकित्सक टोली पनि सँगै थियो । खाना पकाउने र कपडा धुने टोली छुट्टै थियो । बाँकी चीन, थाइल्यान्ड र म्यानमारबाट आएका उनका अनुयायी थिए ।

२२ वर्षको उमेरदेखि ३० वर्षसम्म जंगलमा बसेर जंगली कन्दमूल खाएर कठोर ध्यान साधना गरेका थिए । बुद्ध शिक्षाजस्तै उनले आफ्नै फा–उक ट्रेडिसन ध्यानको विकास गरेका छन् । १० वर्षको उमेरमा श्रामनेर (भिक्षु जीवनमा प्रवेश) गरेका उनी २० वर्षको उमेरमा पूर्ण भिक्षु बने । २२ वर्षमा धम्माचार्य बने । दक्षिण एसियामा लोकप्रिय रहेको फा–उक ट्रेडिसनका कारण उनको प्रशिद्धि विश्वभर छ । अचिन्ना उपनामले पनि चिनिने उनका म्यान्मारमा ५५ वटा फा–उक मेडिटेसन सेन्टर रहेको उनका सेवक भिक्षु पुण्यवन्तोले बताए । त्यस्तै मलेसिया, इन्डोनेसिया, सिंगापुर, थाइल्यान्ड, चीन, अमेरिका र नेपाल लगायत मुलुकमा २४ फा–उक मेडिटेसन सेन्टर छन् । म्यानमारमा फा–उक अन्तर्राष्ट्रिय विश्वविद्यालय पनि छ । त्यहाँ स्नातकोत्तरसम्मको पढाइ हुन्छ ।

म्यानमार सरकारले उनलाई धेरै प्रतिष्ठित उपाधि प्रदान गरेको छ । अभिधज्ज महारठ्ठ गुरु, अभिधज्ज अग्गमहा सद्धम्मजोतिका र अग्ग महापण्डित जस्ता प्रतिष्ठित उपाधि उनले पाएका छन् । उनका ‘नोइङ एण्ड सीईङ’, ‘वर्किङ अफ कम्म’ र ‘निर्वाना गामिनी पतिपडा’ नामका पुस्तक प्रसिद्ध छन् । लुम्बिनीमा रहँदा फा उक सयाडोले बुद्ध जन्मथल मायादेवी मन्दिरमा पूजाआजा गरेका थिए । विश्व शान्ति स्तुप अवलोकन गरे । शाक्यवंशीय राजधानी तिलौराकोट भ्रमण गरे । ध्यान बसे । उनले लुम्बिनी आएकाबेला पाँच पटक भैरहवास्थित सिद्धार्थनगर सिटी अस्पतालमा डायलासिस गराइसकेका छन् ।