June 21, 2026, Sunday
२०८३ असार ७ आईतवार

म त हजुर अन्तर्राष्ट्रिय ‘गफाडी’ (भिडिओसहित)

Advertisement

भैरहवा– साँच्चिकै गफाडीलाई तिमि ‘धेरै बोल्छौं’ भन्यो भने ‘चित्त’ दुखाउँछन् । हुन पनि कुन चाहिँ गफाडीले आफूलाई धेरै गफ दिने ठान्छ र ? तर, रुपन्देहीको भैरहवा भन्सार कार्यालयका प्रमुख हरिहर पौडेल अपवाद निस्किएका छन् । उनी आफूलाई राष्ट्रिय मात्र होइन अन्तर्राष्ट्रिय ‘गफाडी’ भएको चिनाउँछन् ।

Advertisement

केही दिन अघि मात्रै भैरहवा भन्सार कार्यालय प्रमुख भएर आएका पौडेल अहिले उद्योगी–व्यवसायीसित छलफलमा व्यस्त छन् । छलफल कार्यक्रममा सहभागी भएर सुरुमा उद्योगी–व्यवसायीका गुनासा र सुझाव ध्यान पूर्वक सुन्छन् । अन्तिममा पालो आएपछि स्फूर्तिसाथ आफू ‘गफाडी’ भएको सुनाउँछन्, त्यो पनि अन्तर्राष्ट्रिय । गफ दिने उनको काइदा बेग्लै छ । उनी भन्छन्, ‘यसअघि म राष्ट्रिय गफाडी थिए । भैरहवा आएपछि अन्तर्राष्ट्रिय गफाडी भइसकेँ ।’ भैरहवा अन्तर्राष्ट्रिय नाका भएकाले हुनसक्छ उनले आफैलाई अन्तर्राष्ट्रिय गफाडी घोषणा गरेको ।

‘म धेरै इन्टरनेशनल गफाडी हुँ,’ भैरहवामा मंगलबार आयोजित दुईवटा छुट्टाछुट्टै कार्यक्रममा उनले भने, ‘नेपालमा मात्र होइन म कम्बोडिया, लाओस र भियतनाम पनि गफ दिन जान्छु ।’ गफको सुरुवात उनले एउटा ट्रकबाट गरेका थिए । मुलुकमा राजमार्ग र सडक निर्माणको उद्देश्य ट्रकबाट सामान ढुवानी गर्नु रहेको उनले बताए । त्यसपछि मात्र बस गुडाउने कुरा आउने उनको भनाई छ । सर्वसाधरणका आवश्यकताका सामान बोक्ने भएकाले ट्रकलाई सम्मान गर्न उनले सल्लाह दिए । भन्सार प्रमुखले आफूलाई अन्तर्राष्ट्रिय गफाडी भएको बताएपछि कार्यक्रममा सहभागी गलल हाँसेका थिए ।

अर्थ मन्त्रालय मातहत निकायमा उनले लामै समय बिताइसकेका छन् । लामो अवधि विभिन्न विभागमा रहेर काम गरेको अनुभव र भन्सार सम्बन्धि नियम, कानुन र पुस्तक अध्ययन गरेको जनाउँदै दिनभरि भन्सारका विषयमा गफ गर्न सक्ने सुनाए । सायद यहीँ कारण उनको आत्मविश्वास पनि उच्च देखिन्छ । झन देश–विदेशको यात्रा र अनुभवले खारिएको अभिव्यक्तिबाट झल्किन्छ । भारतको राजधानी नयाँ दिल्लीसित नजिकको सम्भव रहेकाले यहीँ नाकामा रहेर आफूले धेरै कुरामा सहजिकरण गर्न सक्ने उनको भनाई छ ।

भन्सारसित सम्बन्धित धेरै प्राविधिक पक्षको व्यवस्थापन र सुरुवातमा आफू संलग्न रहेकाले सीमा क्षेत्रका समस्याबारे जानकार रहेको बताउँछन् । ‘हैन धेरै गफ दिए कि क्या हो,’ मंगलबार सिद्धार्थ उद्योग वाणिज्य संघले आयोजना गरेको छलफलमा उनले भने, ‘नेता बन्ने लक्षण छ ।’ आफूले भैरहवा भन्सारमा सरुवाका लागि माग नगरेको उनले बताए । आफूले कुनै जानकारी नपाएरै भैरहवा भन्सार आउनु परेको उनको भनाई थियो ।

रुपन्देहीमा आफ्ना मावली, ससुराली र घर पक्षका धेरै आफन्त रहेकाले यहाँ आउन पाउँदा आनन्द नै लागेको उनले बताए । धेरै आफन्त र चिनजानका व्यक्ति रहेकाले आफूले कार्यकालभरि साथ सहयोग पाउने अपेक्षा व्यक्त गरे । उनले आफू अन्तर्राष्ट्रिय गफाडी भएको कुरा मंगलबार नै चेम्बर अफ कमर्सले गरेको कार्यक्रममा पनि भनेका थिए । उनले भन्सार सम्बन्धी अन्तर्राष्ट्रिय कानूनका किताब आफू बराबर कसैले पनि नपढेको सुनाउन समेत भ्याए । चेम्बरको कार्यक्रममा उनले आफूलाई अन्तर्राष्ट्रिय गफाडी भनिरहँदा लुम्बिनी प्रदेशका आर्थिक मामिलामन्त्री धनेन्द्र कार्की र युवा तथा खेलकुद मन्त्री सन्तोष पाण्डेय पनि साक्षी थिए ।

तर, भन्सार व्यवस्थापनमा कडा कुरा गरेनन् । नेपाल र भारत दुबैतिर समान व्यवस्थापन भएको खण्डमा मात्र एकरुपता कायम हुने उनको भनाई छ । नाकामै बसेर कानुन लाद्छु भनेर पनि नहुने उनको भनाई छ । ‘हल्का व्यवहारिक पक्ष पनि हेर्नुपर्छ,’ उनी भन्छन्, ‘कानुन लागू गर्छु भनेर मात्र हुँदैन । सर्वसाधरणलाई स्वदेशमै सामान खरिद गराउनका लागि जनचेतना पनि फैलाउनु पर्छ ।’ आईसीपी निर्माण पूरा नहुञ्जेल भन्सार परिसरमा सवारीका साधन व्यवस्थापन सहज नहुने उनको भनाई छ ।