September 16, 2021, Thursday
३१ भाद्र २०७८, बिहीबार

मिलेमतोमा गरिब कोहारलाई यसरी बास्तविक गरिब बनाइयो (भिडियो रिपोर्ट)

भैरहवा – गरिब कोहार ६९ वर्षका भए । कोहारको लुम्बिनी सांस्कृतिक नगरपालिका वडा नम्बर दशमा १० कठ्ठा १७ धुर जग्गा थियो । तर, उनको उपस्थिति बिना नै जग्गा बिक्री भएको छ । जनप्रतिनिधि र कर्मचारीको मिलेमतोमा किर्ते काम भएको हो । गरिब कोहारको नाममा वडा अध्यक्ष रमजान अली मियाँका ससुराले नक्कली नागरिकता बनाएर जग्गा बिक्री गरेको पीडित पक्षको आरोप छ ।

जग्गा धनी पुर्जा हराएको र श्रेस्तामा फोटो उप्किएको कारण देखाएर वडा अध्यक्षले आफ्नो ससुराको फोटो प्रमाणित गरि सिफारिस गरेका थिए । चार किल्ला प्रमाणित पनि अध्यक्षले नै गरे । अचम्मको कुरा त के छ भने मालपोतका कर्मचारीले अनलाइन इन्ट्री गरेको श्रेस्ताबाट प्रमाणित गरेनन् । पुराना श्रेस्ताहरु अनलाइन इन्ट्री गर्न थालेको पाँच वर्ष बढी भयो । आँखाले देखिने त्रुटीलाई समेत नजर अन्दाज गरिएको छ । तर उनै कर्मचारी पानीमाथिको ओभानो बन्न खोज्छन् ।

गएको फागुन १८ गते जग्गा बिक्री भएको हो । ६ महिनाको बीचमा दुई जना व्यक्तिले जग्गा खरिदबिक्री गरेका छन् । पछिल्लोपटक जग्गा खरिद गर्नेले बैंकमा धितो राखेका छन् । बैँकका कर्मचारी धितो मूल्यांकन गर्न आउँदा मात्रै वास्तविक जग्गा धनीले जग्गा अर्कैले बिक्री गरेको थाहा पाएका हुन् । अहिले जग्गाधनीले मालपोत र रुपन्देही प्रहरीमा कारबाहीका लागि निवेदन दिएका छन् ।

सिफारिस दिने वडा अध्यक्ष र उनका सहयोगी फरार छन् । रुपन्देही प्रहरीले संलग्न दुई जनालाई पक्राउ गरि अनुसन्धान अघि बढाएको छ । मुलुकी फौजदारी कार्यविधि संहिता २०७४ अन्तर्गत अहिले किर्ते मुद्दा दर्ता गरी अनुसन्धान भइरहेको छ ।

कर्मचारीकै त्रुटीले जग्गा पास भएको हो । तर उनै कर्मचारीले अनुसन्धानमा सहयोग गरेका छैनन् । जग्गा बिक्रीमा संलग्न कसुरदारलाई सूचना दिएर उनीहरुकै कारणले अनुसन्धान प्रभावकारी हुन सकेको छैन् ।