June 24, 2026, Wednesday
२०८३ असार ११ बिहीबार

५० प्रतिशत पनि मापदण्ड पालना गर्दैनन् क्यासिनो, नियमावलीअनुसार चल्न प्रशासनको चेतावनी

Advertisement

भैरहवा– सरकारले व्यवसाय सञ्चालना लागि आवश्यक ऐन नियम लागू गरे पनि त्यसको पालना नगर्दा रुपन्देहीका क्यासिनो विवादित बनेका छन् । जिल्ला प्रशासन कार्यालय, रुपन्देहीले संबैधानिक अधिकार उपयोग गर्दै व्यवसायमा लगानी गरेका क्यासिनो सञ्चालकलाई नीतिनियम पालना गर्न चेतावनी दिएको छ ।

Advertisement

एकसाता अघि भैरहवाको निर्वाणा होटलमा गोली प्रहारको घटना भएपछि जिल्लामा अहिले क्यासिनो सञ्चालक विवादमा परेका छन् । अर्कोतर्फ प्रहरीले सुरक्षा व्यवस्थापन गर्न नसकेको भन्दैं आलोचना भएको छ । उक्त घटनामा संलग्न व्यक्ति र प्रयोग गरिएको हतियार सोमबारसम्म फेला परेका छैनन् । प्रहरीले घटनाको अनुसन्धान भइरहेको र यस्तो खोजी वर्षौसम्म जारी रहनसक्ने प्रतिक्रिया दिएको छ । उक्त घटनाले फितलो सुरक्षा व्यवस्थाको पोलमात्र खोलेन, भैरहवा र आसपासका क्यासिनो मापदण्ड पालनामा चुकेको स्पष्ट पारेको छ ।

घटनापछि गत बुधबार प्रमुख जिल्ला अधिकारी, जिल्ला प्रहरी प्रमुख, राजश्व अनुसन्धान, व्यवसायिक संस्थाका प्रतिनिधि र क्यासिनो सञ्चालकबीच बैठक भएको थियो । उक्त बैठकमा प्रशासनले क्यासिनो सञ्चालकमाथि एकोहोरो प्रश्न तेस्र्याएको प्रशासन स्रोतले जनाएको छ । प्रशासनले क्यासिनोलाई सुरक्षा जाँच, भारतीय आधारकार्ड बनाएर हुने नेपालीको प्रवेश रोक्न र क्यासिनो नियमावलीका शर्त र मापदण्ड पालना गर्न निर्देशन गरेको थियो । नियममा रहेरमात्र संविधानले दिएको स्वतन्त्रता बमोजिम व्यवसाय सञ्चालन गर्न पाइने भन्दैं प्र्रमुख जिल्ला अधिकारी माधवप्रसाद पोखरेलले भने, ‘क्यासिनो नियमावलीको नीति, मापदण्ड र शर्त पालना गर्नुस् ।’

उक्त बैठकपछि राजश्व अनुसन्धान कार्यालय बुटवलले पनि गत बुधबार क्यासिनोलाई पत्राचार गरेर विभिन्न ९ बुँदामा विवरण र जानकारी माग गरेको छ । राजश्व चुहावट कसुर–नियन्त्रणको विषयमा आवश्यक जानकारी लिनुपर्ने भएकाले आर्थिक वर्ष २०८१–०८२ देखि चालु वर्षको विवरण तीन दिनभित्र पेश गर्न भनेको छ । राजश्व अनुसन्धानले क्यासिनोले कुन प्रकारको इजाजत प्राप्त गरेको हो र अहिले भइरहेको खेलको विवरण, क्यासिनो नियमावली २०८२ को नियम १४ को उपनियम २ बमोजिमको विवरण, उक्त नियमावलीको नियम १८ बमोजिमको विवरण, नगद र वित्तिय कारोबारको विवरण, आकस्मिक लाभकर दाखिलाको विवरण, आधार कार्ड प्रयोगगरि प्रवेश गर्ने नेपालीको विवरण, प्रतिबन्धित भारतीय नोटको कारोबार भएको छ–छैन विवरण, सीसीटीभी क्यामेराको अभिलेख कम्तिमा ६ महिनासम्म राख्नुपर्ने नियम पालना छ–छैन र गत आर्थिक वर्षको करचुक्ता तथा चालु आर्थिक वर्षको इजाजतपत्र नविकरणको विवरण पेश गर्न भनेको छ ।
‘राजश्ज चुहावटको शंका लागेमा हामी विवरण माग्न सक्छौं,’ उनले भने, ‘आइतबारसम्म दुईवटा क्यासिनोले विवरण बुझाइसक्नुभयो । अरुले पनि बुझाउँछौं भन्नु भएको छ ।’

जिल्ला प्रशासन स्रोतका अनुसार क्यासिनो नियमावली २०८२ को मापदण्ड अनुसार जिल्लामा संचालित कुनै पनि क्यासिनोले मापदण्ड पालना गरेका छैनन् । प्रशासन स्रोत भन्छ– ‘हामीले अनुगमन त गरेका छैनौं, तर मापदण्ड ५० प्रतिशत पनि पालना छैन । यो कुरा क्यासिनो संचालकले नै स्वीकारेको कुरा हो ।’

यस्तै, क्यासिनोले नेपाली प्रवेश गराउने, क्यासिनो खेल्न जानेहरुको विवरण इन्ट्री नगर्ने गरेको पाइएको छ । क्यासिनोमा ग्राहक प्रवेश गर्दा गेटमा डिटेक्टर मेसिनले जाँच गर्नुपर्ने हुन्छ, तर एकदुईवटा क्यासिनोले यो मापदण्ड पालना गरे पनि अधिकांशले गरेका छैनन् । प्रशासन भन्छ– ‘लाभकर लगायतका कर छलीका लागि क्यासिनो खेल्न जानेको विवरण समेत इन्ट्री नगरेर क्यासिनोले बद्मासी गरिरहेका छन् ।’ यस्तै, प्रशासनले क्यासिनो संचालकले सीसीटीभी फुटेज माग्दा समेत नदिएको गुनासो गरेको छ ।

‘अब, हामी क्यासिनोमा अनुगमन गर्छौं’, प्रशासन स्रोत भन्छ, ‘मर्यादित व्यवसाय गर्नु सही हो तर नियमविपरीत गएर संचालित क्यासिनोलाई कानून पालना गराउन प्रशासन कटिबद्ध छ ।’ प्रशासनले नक्कली आधार कार्ड बनाएर क्यासिनोमा नेपाली प्रवेश गराउने गरेको समेत आशंका गरेको छ । प्रशासनले अहिलेसम्म क्यासिनोबारे कतैबाट उजुरी नआए पनि नियमनको काम भने गरिरहने जनाएको छ ।

सिद्धार्थ होटल संघका अध्यक्ष चन्द्रप्रकाश श्रेष्ठ (सीपी) ले भवितव्यका रुपमा भएको गोली प्रहारको घटना दोहोरिन नदिन व्यवसायी सचेत हुनुपर्ने र यस्ता घटना न्यूनिकरणका लागि प्रशासन सतर्क हुनुपर्ने बताए । ‘व्यवसायीले पनि ग्राहक प्रवेश गराउँदा उनीहरुलाई जाँच गरेर परिचय खुल्ने रेकर्ड राख्नु पर्यो, क्यासिनो प्रवेश गरेका व्यक्तिको अनुहार प्रष्ट खुल्नेगरि सीसीटीभी क्यामेरा जडान गर्नुपर्यो,’ उनले भने, ‘प्रशासनले पनि धेरै कडाई गर्दा ग्राहक नआउने कुरालाई ख्याल राखेर सावधानी अपनाइदिनु पर्यो ।’ कतिपय क्यासिनोमा नेपालीलाई प्रवेश गराउने कुराले व्यवसायी आलोचित बन्ने वातावरण रोकिनुपर्ने उनले बताए ।

राजस्व चुहावट आशंकामा रूपन्देहीका क्यासिनोलाई राजस्व अनुसन्धानको ९ प्रश्न

क्यासिनोमा होटलको १० प्रतिशत सेयर हुनैपर्ने

रूपन्देहीका ६ क्यासिनोमाथि अनुसन्धानः कानूनविपरीत गतिविधि र संचालकले अकूत सम्पत्ति आर्जन गरेको आरोप

लाकौलको गेष्ट हाउसमा क्यासिनोको बुटः कानून सबै छुट, पैसाभरी गुटुमुट !

भैरहवामा क्यासिनोका कर्मचारीमाथि आक्रमण, दुई घाइते

हुण्डी र सुन कारोबारको रकम ओसारपसारमा क्यासिनोका गाडी !

क्यासिनोमा होटलको १० प्रतिशत सेयर हुनैपर्ने